के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
अमेरिकी सर्वोच्च अदालतले जलवायु परिवर्तनसँग जुध्ने वातावरण संरक्षण निकायको क्षमता घटाउने हानिकारक ६–३ फैसला दिएको छ । यसलाई केलाउनुअघि विगत हेरौँ ।
संरा अमेरिकाको स्थापनाबारे कति गञ्जागोल बुझाइ छ भने यो एक हदसम्म हास्यास्पद लाग्नेछ । सन् १७७६ को विद्रोह र संविधान लेखन कुनै अलौकिक कार्य थिएन । त्यस्तै ती घटनाहरू स्वतन्त्रताको अदम्य आकाङ्क्षाबाट पनि जन्मेका थिएनन् । हाम्रो संसार कसरी चल्छ भन्ने विषयलाई सरलीकरण गर्न र रहस्यमयी बनाउन यी परीकथाहरू बुनिएका हुन् ।
बेलायती वित्तीय बन्दोबस्तबाट उम्किने इच्छाले हुनेखानेहरूले समय छनोट गरेर अमेरिकालाई स्वतन्त्रता सङ्घर्षमा धकेलेका थिए । त्यो पुँजीवादी व्यवस्था उदाइरहेको युग थियो । विद्रोहमा सम्पत्तिमाथि जोड त्यसै दिइएको थिएन । त्यो काकताली थिएन । अमेरिकाका निर्माताहरूले सरकारको ढाँचा तयार गर्ने बेला सम्पत्तिको सुरक्षामा पूर्ण जोड दिएका थिए । प्रत्येक पद्धति निर्माण गर्दा गोरा र धनी लोग्ने मान्छेहरूलाई प्राथमिकतामा राखेर शक्ति सन्तुलनका माध्यमबाट प्रजातन्त्रको भावना काँटछाँट गरेका थिए ।
अब वर्तमानको कुरा गरौँ । आधुनिक विश्व जन्माउने औद्योगिकीकरणले निम्त्याएको जलवायु परिवर्तन ठूलो खतरा बनेको छ । प्राणी जगत नै नष्ट हुने खतरा छ । उत्पादन र उपभोगको हाम्रो प्रणालीले हामीलाई लोप हुने संघारमा पु¥याएको छ । तर, समस्याको वास्तविक हल सामान पुनः प्रयोग गरिरहेका तपाईँ–हामीसँग छैन, बरु राज्यसँग छ । सर्वोच्च अदालत मैले अघि चर्चा गरेको व्यवस्थाको रक्षक हो । त्यसैले जे कामको लागि बनाइएको हो, त्यही गर्दै छ । उसले सम्पत्ति राख्ने र जसरी हुन्छ नाफा कमाउने अधिकारको रक्षा गर्दै छ ।
गएका केही हप्ता अप्ठ्यारा थिए । आत्मरक्षाको लागि बन्दुक राख्न दिने आदेश । रो कानुन उल्ट्याउने आदेश । त्यस्तै राज्यले निर्वाचन र शासन पद्धतिमा अझ बढी प्रभाव जमाउनसक्ने गरी अदालतले फैसला गर्दै छ । एकाएक निरङ्कुशतन्त्रजन्य निर्णयहरूको बाढी आएको छ । आज अमेरिकाको यो चर्किरहेको, बुढो र क्रुर ठट्टा गर्ने व्यवस्थालाई निरङ्कुश निर्णयहरूको खाँचो परेको छ । परीकथा र झूटहरूको पर्दापछाडि आफ्नो शोषण टिकिरहेको दृश्य शक्तिशालीहरूलाई मनपर्ने नै भयो । हामीले योग्यता र प्रतिनिधित्वमा आधारित सरकारका गतिविधिहरू हाम्रै हितमा छन् भनेर विश्वास गरेको उनीहरू रूचाउँछन् ।
यी झूटहरू फितला बन्दै छन् । वास्तवमा धेरै मान्छेले विषयवस्तु केलाउन सक्छन् । वैधानिकता र चुलिँदै गएका असङ्ख्य सङ्कटहरू हेर्दा व्यवस्थाले गर्न सक्ने एउटै हाँगो समात्न सक्छ । कि त उसले आफ्नो वास्तविक र धनाढ्य पोस्ने अनुहार देखाउँदै निरङ्कुश बन्नुपर्छ, कि भने विकल्पलाई अघि बढ्न दिनुपर्छ । पछिल्लो कुरा स्वीकार्य हुन सक्दैन । त्यसैले मखमली पञ्जा खोलिन्छ र (कानुनको) फलामे घन ठोकिन्छ ।
पुँजीवादले जलवायु परिवर्तनको समस्या समाधान गर्न दिनेछैन । यस्तो गर्न सुरुमात्र गरियो भने पनि पुँजीवादी व्यवस्थाको मुटुमा ढ्याङ्ग्रो बज्नेछ । परिवर्तनको सम्भावनाको बाटो खुल्नेछ । त्यो थालनी यो पतनशील संरचना जोगाउन बनाइएका सबैथोकको विरोधमा अघि बढ्नेछ । हुनेखानेहरूलाई हामीलाई जलवायु परिवर्तनको रछ्यानमा फाल्नेछन् र विनाश तथा दरिद्रताको फसल काट्नेछन् । ठूलो प्रविधि उद्योगका मालिकहरू र ‘सरोकारवाला’ कार्यकारीहरूले केही गर्नुपर्ने आवश्यकताबारे जतिसुकै भाषण छाँटे पनि नलडिकन व्यवस्थाले त्यसो हुन दिनेछैन ।
त्यसैले यो भयङ्कर क्षणको उपयोग गरौँ ।
मुकुण्डो झरिसकेको छ । परीकथाहरू झूटा हुन् । अलिकति मिहिनेत गरे तिनको वास्तविकता थाहा पाउन सकिन्छ । (अमेरिकी) सर्वोच्च अदालतले यस व्यवस्थाको स्पष्ट झलक देखाएको छ । उसलाई केमा चासो छ र उसले केमात्र गर्नसक्छ भन्ने कुरा प्रस्ट्याएको छ ।
निराशामा सुक्केरा छोड्न सजिलो छ । मुन्टो फर्काउन सजिलो छ । तर, हामीले ध्यान दिएर हेर्नुपर्छ । चिन्नुपर्छ । भित्री तह खोतल्नुपर्छ ।
हामी सङ्कटमा छौँ । सोझो र सादा सङ्कटमा । यी विषय यसअघि यति स्पष्ट थिएनन् । यसका परिणामहरू यति प्रस्ट थिएनन् । यही बाटोमा हिँडिरहँदा यो व्यवस्था र यसबाट लाभ लिनेहरू परोपकारी छन् र असल विचार एवम् चेतनाले काम गर्छन् भनी विश्वास गरिरहँदा हामी यहाँ आइपुगेका हौँ । विनाशको संघारमा पुगेका हौँ ।
यसलाई हेरौँ । देखौँ । मुन्टो नफर्काऔँ ।
Leave a Reply