भर्खरै :

सन्दर्भः उपसभामुख निर्वाचन / बहुदलवादीहरूको निर्दलीय पञ्चायती संस्कारविरूद्ध नेमकिपाको तटस्थ मत

काठमाडौँ, ३१ असार । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रतिनिधिसभाको उपसभामुख पदको लागि निर्वाचन भयो । निर्वाचन हुनुअघि बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो धारणा राख्नुभयो । उक्त बैठकमा सांसद सुवालले राख्नुभएको मन्तव्यको सार – उपसभामुखका उम्मेदवारहरू माननीय पुष्पा भूसाल गौतम र माननीय विद्या भट्टराई दुवैको व्यवहार मित्रवत नै छ । उपसभामुख पदको निर्वाचन हुन गइरहेको यो बैठकमा केही सैद्धान्तिक विषय राख्न चाहन्छु ।
संविधानमा सङ्घीय संसद्मा निर्वाचित दललाई तीन प्रतिशतको मतसीमा लगाउने र प्रदेशसभामा १ दशमलव ५ प्रतिशतको मतसीमा लगाउने धारा उपधारा छैन । तर, सरकारमा गएका दलहरूको सहमतिमा मतसीमासहितको ऐन निर्माण गरियो । नेपाल मजदुर किसान पार्टीसहित पाँच पार्टीले प्रतिनिधिसभामा समानुपातिक सदस्य एक एक स्थान जितेको हो । तर, तीन प्रतिशत नभएको भनी हामीलाई समानुपातिक सांसद दिइएन र हाम्रो सदस्यसमेत तीन प्रतिशत पाएका भनिएका दलहरूले भागबन्डा गरे ।
नेपाल मजदुर किसान पार्टीलाई प्रतिनिधिसभाको कार्यव्यवस्था समितिमा सदस्य बनाइएन । संसद् र सरकारले तीन प्रतिशत मत नपाएका पार्टीलाई स्वतन्त्रजस्तो व्यवहार गरे । यो निर्दलीय पञ्चायती संस्कार हो । यसकारण बजेटबारे अर्थमन्त्रीको गोपनीयता भङ्ग छानबिन गर्ने भनी गठन गरिएको समितिमा हामीले बस्नु औचित्य देखेनौँ । प्रतिनिधिसभाको ‘ढ्याप ढ्याप’ समयमा नेपाल मजदुर किसान पार्टीलाई देश र जनताको आवाज राख्ने समय दिइएन भने विशेष समय मुश्किलले दिइयो ।
प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने प्रतिनिधिसभाको पहिलो बैठकको पहिलो एक घण्टा प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रभित्रको मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्न सोध्ने कार्यक्रम पनि भइरहेको छैन । प्रत्येक दिनको पहिलो बैठकको एक घण्टा मन्त्रीहरूसँग प्रश्नोत्तर पनि भइरहेको छैन । यो काम सरकारको प्रजातन्त्रविपरीत कदम हो ।
प्रतिनिधिसभा बैठकमा समाजवादउन्मुख राज्यसँग सम्बन्धित कुनै विधेयक, नीति, बजेट पनि पेश गरिएन । महँगो ग्यास र तेल खर्बौँ रुपियाँको भारतबाट ल्याउने, नेपालको बिजुली सस्तोमा केही अर्बमा भारतलाई बेच्नु नै गौरव ठानियो ।
महालेखा लेखापरीक्षकको प्रतिवेदनमा ४२ सार्वजनिक संस्थानमध्ये २६ को लेखापरीक्षण नै गराइएन । कूल रू. ८ खर्ब २९ अर्ब बेरूजु र त्यसमध्ये असुल गर्नुपर्ने रू. ३३ अर्ब ७४ करोड पुग्यो । यसले संसद् र सरकार प्रभावकारी नभएको पुष्टि गर्छ । यसकारण, उपसभामुख पदको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको संसदीय दलले कुनै पक्षमा मत नदिने निर्णय गरेको जानकारी गराउन चाहन्छु ।
उपसभामुखमा नेकाका पुष्पा भुसाल गौतम निर्वाचित
नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले उपसभामुखका उम्मेदवार नेकाका पुष्पा भुसाल गौतम र एमालेका विद्या भट्टराई दुवैको पक्षमा मत दिनुभएन । सांसद सुवालले सरकारमा गएका दलहरूको निर्दलीय पञ्चायती संस्कारविरूद्ध कुनै पक्षमा मत नदिने उल्लेख गर्नुभयो ।
प्रतिनिधिसभामा उपस्थित २४२ सदस्यमध्ये नेकाका सांसद पुष्पा भुसाल गौतमको पक्षमा १४८ मत परेको थियो भने विपक्षमा ९३ मत परेको थियो । ‘मत दिन्न’ भन्ने पक्षमा नेपाल मजदुर किसान पार्टीको एक मत परेको थियो ।
नेकाका पुष्पाको पक्षमा मत दिने नेका, माओवादी केन्द्र, एकीकृत समाजवादी (माधव), जसपा (उपेन्द्र), लोसपा (महन्थ ठाकुर) र राजमो (दुर्गा पौडेल) को मत परेको थियो । विपक्षमा एमाले र राप्रपाको मत परेको थियो ।
नेका पुष्पालाई माओवादीका देवप्रसाद गुरूङले उपसभामुख पदमा प्रस्ताव गर्नुभएको थियो भने एकीकृत समाजवादीका लक्ष्मी चौधरीले समर्थन गर्नुभएको थियो ।
एमालेका विद्या भट्टराईले एमालेकै शान्ता चौधरीले प्रस्ताव गर्नुभयो भने कृष्णभक्त पोखरेलले समर्थन गर्नुभयो ।
नेकाका पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भएपछि अर्का उम्मेदवार विद्या भट्टराईको प्रस्ताव प्रस्तुत गरिएन । प्रतिनिधिसभाको अर्को बैठक साउन ४ गते बिहान ११ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *