भर्खरै :

योगमाया विश्वविद्यालय विधेयकबारे शिक्षा समितिमा छलफल

काठमाडौँ, ३१ असार । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा शुक्रबार योगमाया विश्वविद्यालय विधेयकबारे छलफल भयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बैठकमा विधेयकमाथि आफ्नो संशोधन पेश गर्दै विश्वविद्यालय शिक्षा निःशुल्क गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद सुवालले विश्वविद्यालय परिषद्का अध्यक्ष र कुलपति प्राध्यापक र समाजसेवीहरूमाझ निर्वाचन गराई नियुक्ति गर्नुपर्ने, प्राध्यापक, कर्मचारी र विद्यार्थीको सांस्कृतिक स्तर उँचो बनाउने नीति तथा कार्यक्रम हुनुपर्ने, प्रदेश र स्थानीय सरकारलाई मात्र कलेज सञ्चालनको सम्बन्धन दिने प्रावधान राख्नुपर्ने, देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने राजनीतिक गतिविधि गर्न पाउने तर प्राध्यापक, कर्मचारी, विद्यार्थीको सङ्गठनको बहानामा भागबन्डा र भ्रष्टाचार गर्न नपाउने प्रावधान विधेयकमा राख्नु उचित हुनेमा जोड दिनुभयो ।
चिकित्सा शिक्षासमेत १५ लाख रुपैयाँमा अध्यापन गराइने भक्तपुर नगरपालिकाको ख्वप विश्वविद्यालय विधेयक संसद्बाट पारित गराउन शिक्षा मन्त्रीलाई निर्देशन दिनुपर्नेमा सांसद सुवालले जोड दिनुभयो ।
शिक्षा सचिव यादव कोइरालाले भक्तपुर नगरपालिकाको ख्वप विश्वविद्यालयमा चिकित्सा शिक्षा निःशुल्क पढाउने भए एक हप्तामा विधेयक अघि बढाउने तर्क राखेपछि सांसद सुवालले सरकारले आवश्यक बजेटको व्यवस्था गरे आर्थिक अनुशासनमा बसेर भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालयले चिकित्सा शिक्षा निःशुल्क अध्ययन गराउने उल्लेख गर्नुभयो ।
बैठकमा एमालेका राजेन्द्रप्रसाद गौतमले खनिज उत्खनन, सङ्कलन तथा रसायन पनि जडिबुटीअन्तर्गत राख्ने प्रस्तावलाई सचिव यादवले स्वीकार गरेपछि सहभागी सांसदहरूले मुखामुख गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *