भर्खरै :

संस्कृत भाषा र साहित्यबारे छोटो जानकारी

द्वितीय सहस्राब्दी ई.पू. तिर इरान, एसिया माइनर र उत्तर पश्चिम भारतको विस्तृत भू–भागको भाषागत प्रमाणको आधारमा यहाँका मानव समुदायलाई ‘आर्य’ भनिन्थ्यो । यी मानव समुदायको भाषालाई नै इरान र भारतको मूल भाषाको रूपमा लिइन्थ्यो । संस्कृत भाषाको प्राचीनतम् सम्बन्ध ऋग्वेदसँग छ ।
संस्कृत मूलरूपमा वैदिक सभ्यताको भाषा थियो । संस्कृत ब्राह्मण सभ्यताको भाषा थियो । त्यस सभ्यतामा संस्कृत भाषाको विकास र विस्तार चर स्थितिमा पुगेको थियो ।
पाँचौँ शताब्दी ई.पू. तिर ब्राह्मण धर्मको नयाँ सम्प्रदायले बौद्ध र जैन सम्प्रदायसँग प्रतिस्पर्धा गर्नुपरेको थियो । बौद्ध ग्रन्थबाट नै ब्राह्मण धर्मको प्राधान्यको निश्चयात्मक सम्बन्ध मिल्दछ । बौद्ध ग्रन्थबाट ब्राह्मण धर्मको सिद्धान्तलाई पुष्टी गरेको छ, ‘जनसाधारणलाई शिक्षा दिने ब्राह्मणहरूको कर्तव्य हो ।’ ‘जातको कथा’ बाट यो कुरा थाहा पाउन सकिन्छ कि न युवक, ब्राह्मण, क्षेत्री, वैश्यका बालक ब्राह्मण अध्यापकबाट शिक्षा प्राप्त गर्दथे ।
संस्कृत विज्ञानको पनि भाषा थियो । संस्कृत भाषामा व्याकरण, छन्द, ज्योतिष शास्त्र, वर्णशिक्षामात्र नभई सामुद्रिक शास्त्र र भूत–प्रेत विद्याजस्तो यन्त्र–तन्त्रको शास्त्र पनि पाइन्छ । त्यसबेला ब्राह्मणहरूले सर्वसाधारण जनतालाई पढाउँथे ।
कुनै कुनै विद्वानहरू संस्कृत भाषा ब्राह्मणहरूको बोलिचालीको भाषा होइन । ब्राह्मणहरूले शिक्षा दिने बेला र धर्म कर्म कार्य गर्ने बेलामा मात्र संस्कृत भाषाको प्रयोग गर्थे । तर, संस्कृत साहित्याचार्यहरू यी विचारसँग सहमत भएको पाइँदैन । उनीहरूले तर्क यसरी अघि सारे– रूपकबाट पुष्टि हुन्छ कि ब्राह्मण, राजा र उच्च वर्गको तथा शिक्षा प्राप्त व्यक्तिहरूले संस्कृत भाषाको प्रयोग गर्दथे । जबकि निम्न स्तरका व्यक्तिहरूले प्राकृत भाषाको प्रयोग गर्दथे । रूपक मूलरूपमा प्राकृत भाषामा हुन्थ्यो । रूपकमा संस्कृत भाषाको प्रवेश त्यसबेला भएको पाइन्छ, जब संस्कृत भाषा सामान्य भाषा भइसकेको थियो । रामायण र महाभारत संस्कृतको रूपकसँग घनिष्ठ सम्बन्ध थियो । संस्कृत साहित्याचार्य भासको एक नाटकमा प्राकृत भाषा नै थिएन । भासको दोस्रो नाटक जसको आधार रामायण महाभारतसँग थियो । त्यसमा पनि प्राकृत भाषा नाममात्रको थियो । यो पनि हुनसक्छ कि प्रारम्भिक अवस्थामा प्रक्षेक–गण, जसको साधारण स्थितिको मानव पनि हुनसक्थ्यो, जो संस्कृत भाषा जान्दैथे ।
पुनर्जागरणभन्दा पहिला लोक गीत (कविता) को रचना प्राकृत भाषामा हुन्थ्यो वा यसको लागि संस्कृत भाषाको प्रयोग हुँदैनथ्यो । यसमा संस्कृतको प्रयोग ब्राह्मणहरूको पुनर्जागरणको प्रभावबाट नै मौलिक प्राकृत कविताको अनुवाद महाकाव्य, जनताको साधारण प्राकृत गीतको स्थानमा गीति काव्यको विकास, पशुपन्छी र अद्भूत कथाको भाषानुवाद हुन थालेपछि भएको हो । नाट्य शास्त्रमा स्पष्ट यसको विधान छ– ‘साहित्य यस्तो हो जुन सबैले सरलरूपमा बुझ्न सकोस् ।’ नाटकको पात्रले प्रयोग गर्ने भाषा वस्तुगत सम्बन्धको कारणले उच्चस्तर नहुन सक्छ तर नाटकको उद्देश्य सबैले बुझ्ने गरी प्रदर्शन गर्नु थियो । नाटककारहरूद्वारा प्रयुक्त प्राकृत भाषा अश्वघोषदेखि भास र भासदेखि कालिदाससम्म बराबर विकास भएको पाइन्छ ।
रामायण–महाभारत दुवै मूलतः उच्च सम्पन्न वर्गसँग सम्बन्धित थियो । संस्कृत भाषा र तत्कालीन भाषाको बीच भाषागत भेद पनि बढ्दै थियो । यो कुरा पौराणिक काव्यको भाषा र ब्राह्मणहरूको भाषाको भेदबाट स्पष्ट हुन्छ । यो दुवै रामायणमा पाइन्छ ।
रूपकको पद्धतिद्वारा या यस्तो स्थलबाट जस्तो कालिदासको कुमार सम्भवमा सरस्वति, शिव र तीनका वधूको स्तुति क्रमशः संस्कृत र प्राकृत भाषा प्रयोग भएको पाइन्छ । यसबाट स्पष्ट हुन आउँछ– बोल्नेको पद, लिङ्ग र स्थानअनुसार बोल्ने भाषामा भेद विद्यमान थियो ।
वात्स्यायनको कामसूत्रमा सभ्य नागरिकहरूलाई प्रेरणा दिइएको पाइन्छ । उनी शिष्ट समाजको बोलिचालीमा संस्कृत र देशभाषा दुवै प्रयोग गरून् भन्ने चाहन्छन् ।
सातौँ शताब्दीमा ह्वेनत्सांग भन्नुहुन्छ, “शास्त्रार्थमा भाग लिने बौद्ध विद्वानहरूले पनि वादविवादमा संस्कृत भाषाको प्रयोग गर्दथे ।”
संस्कृत भाषाले शक्तिशाली ड्रविड भाषामा पनि गहिरो प्रभाव पारेको थियो । श्रीलङ्कामा पनि संस्कृत भाषाको प्रभाव सिंहाली भाषामा विशेषरूपमा परेको थियो । सुडानद्वीप, बोर्नियो र फिलिपाइन्समा पनि संस्कृत भाषा पुग्यो र जाभामा संस्कृत भाषाले कवि भाषा र साहित्यको रूपमा उल्लेखनीय विकास ग¥यो । संस्कृत ग्रन्थमध्ये एसियामा पनि पुग्न थाल्यो र यसको प्रभाव चीन र जापानमा पनि पर्न थाल्यो ।
साहित्य संस्कृत शब्द हो । साहित्य संस्कृतको ‘सहित’ बाट बनेको हो । सहित शब्दमा ‘यत्’ प्रत्यय लाग्नाले साहित्य बनेको हो (सहितस्य भाव साहित्यम्) । संस्कृतमा जसलाई वाङमय भनिन्छ । वाङमय शब्दले ज्ञान वा विज्ञानको शास्त्र र साहित्य वा काव्य भन्ने बुझाउँछ । लिपिबद्ध कृतिहरूको सङ्ग्रहलाई वाङ्मय भनिन्छ । संस्कृत साहित्यचार्य काव्यमिमांसाका रचयिता राजशेखर भन्नुहुन्छ, “इह वाङ्मय मुभयषधा शास्त्रं काव्यंच (वाङ्मयलाई शास्त्र र काव्य (साहित्य) भनी छुट्याइएको छ) ।”
शास्त्र भन्नाले दर्शन, इतिहास, अर्थशास्त्र, सामाजिकशास्त्रजस्ता मानवलाई प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पार्ने र ज्ञानसँग सम्बन्धित रचनाहरू हुन् । कविता, कथा, नाटक आदि मनमस्तिष्कमा वा भावनाले प्रभावित पार्ने विद्यालाई नै साहित्य भनिन्छ ।
काव्य (साहित्य) बारे पूर्वीय साहित्याचार्य, नाट्यशास्त्रका रचयिता भरतमुनी भन्नुहुन्छ, “रसविना कुनै पनि साहित्यको सिर्जना हुनसक्दैन (नहि रसादृते कश्चिदर्थः प्रवर्तते । नाट्यशास्त्र) ।”
रस संस्कृत साहित्यको एकमात्र मूल मन्त्र मानिएको छ । रस नै संस्कृत साहित्यको आत्मा पनि भनिएको छ । संस्कृत साहित्यबाट नै श्रृङ्गार, हास्य, करुण, रौद्र, वीर, भयानक, वीभत्स, अद्भूत यी आठ भेदका साथ रसको सिद्धान्तको विकास भएको थियो ।
यसरी साहित्यको परिभाषा दिई स्पष्ट गर्ने साहित्याचार्यहरूमा ‘बक्रोक्ति जीविततम्’ का रचयिता कुन्तक, ‘काव्यमिंमासा’ का रचयिता राजशेखर, ‘श्राद्ध विवेक’ का रचयिता रुद्रधर, ‘साहित्य दर्पण’ का रचयिता विश्वनाथ र ‘वाक्यपदीय’ का रचयिता भर्तृहरी आदि हुन् ।
पूर्वकालमा संस्कृत भाषा यति परिमार्जित र परिष्कृत भइसकेको भाषा नेपाल, भारत आदि देशहरूमा बोलीचालीमा आउन छोडेको युग बितिसकेको छ । संस्कृत भाषा नेपाली भाषाको मूल भाषा हो । नेपाली साहित्यबारे राम्रो जानकारी राख्न संस्कृत साहित्यको अध्ययन गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published.