भर्खरै :

व्यक्तिगत घटना दर्तासम्बन्धी तीनदिने तालिम सम्पन्न

भक्तपुर, ३१ असार । भक्तपुर नगरपालिकाको आयोजनामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी तीनदिने अभिमुखीकरण कार्यक्रमको समापन शुक्रबार भयो ।
उक्त समापन कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले तालिमको सही उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै कर्मचारीहरू प्रविधि मैत्री भए छोटो समयमा प्रभावकारी काम गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
ख्वप अस्पताललाई जनताको अस्पतालको रूपमा विकास गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले बजेट सकाउने हिसाबले राज्यको ढुकुटी रित्याउने काम गर्न नहुने बताउनुभयो ।
असल नेतृत्वले गरेको काम जनता, समाज र देशको निम्ति फाइदा हुने विचार व्यक्त गर्दै प्रमुख प्रजापतिले काम इमानदारीपूर्वक गर्नुपर्छ भन्नुभयो ।
भनपा समाजवादउन्मुख बाटोमा अघि बढिरहेको विचार पनि उहाँले व्यक्त गर्नुभयो । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा तालिमका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको उक्त कार्यक्रममा प्रशिक्षक जौवन कोजूले सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ताको चुनौतीबारे प्रकाश पार्नुभयो ।
नपाका कार्यपालिका सदस्य रोशनमैया सुवालले तालिमले काम छिटो छरितो भई वडामा आउने जनगुनासो कम हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अर्का कार्यपालिका सदस्य छोरीमैया सुजखूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *