भर्खरै :

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ४२

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ४२
सुरज पराजुलीको कागज व्यहोरा :
२०८२/०५/२३ गते म पसलमै थिएँ । करिब ११.०० बजेदेखि ११ः३० बजेतिर संसद् भवनअगाडि अकस्मात ठुलो भिड आइपुग्यो । भिडमा स्कूल–कलेज ड्रेसका विद्यार्थीहरूसमेत थिए । भिडले प्रहरी र स्थानीयका घरहरूमा ढुङ्गामुढा गरे । गोली चलेको आवाज पनि आइरहेको थियो । यसैक्रममा चोकमा रहेको आकासे पुलमुनि एकजना गोली लागेर ढलेको देखेँ । राति सामाजिक सञ्जालबाट १९ जनाको मृत्यु र धेरै प्रदर्शनकारी घाइते भएको थाहा पाएँ । प्रहरीले महत्वपूर्ण प्रतिष्ठान जोगाउन गोली चलाएको जस्तो लाग्छ ।
सरोज टन्डनको कागज व्यहोरा :
म संसद् भवनको पश्चिम–दक्षिण कुनाको पारि चोकमा यात्रु प्रतिक्षालयसँगै रहेको क्याफेमा दुई वर्षदेखि क्यासियरको काम गरिरहेको छु । २३ गते अन्दाजी ११ः३० बजेतिर संसद् भवनको पश्चिम र दक्षिणतर्फको सडकभरि मानिस जम्मा भएका थिए । भिडमा स्कूल–कलेज युनिफर्ममा विद्यार्थीहरू थिए । भिडले सडकमा रहेको बार, रेलिङ, बिजुलीका पोल र सीसी क्यामेरा तोडफोड गरे । प्रहरीले पनि पानीको फोहरा र लाठीचार्ज गर्दै थियो । केही मानिस पिक, रड, हम्मरसमेतले संसद् भवनको पर्खाल भत्काउँदै थिए भने केही मानिस पर्खाल नाघ्दै संसद् भवनभित्र छिर्दै थिए । करीब २ बजेतिर गोली लागेर हाम्रो क्याफे अगाडि सडकमा एकजना र चोकमा एकजना गरी दुईजना ढलेको देखेको हुँ । दिनभर प्रहरी र भिडबिच दोहोरो हानाहानजस्तै भइरह्यो ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको सुरक्षागार्ड हरिराम थापा मगरको कागज व्यहोरा :
भदौ २३ गते बिहान करिब ११ः०० बजेदेखि भिड र प्रहरीबिच घम्साघम्सी भयो । अश्रुग्यास, लाठीचार्ज तथा गोली फायर पनि भयो । भिडले ढुङ्गा हानेर हाम्रो कार्यालयको उत्तरतर्फका सिसाहरू फुटाइदिए ।
भदौ २४ गते प्रदर्शनकारीहरू बिहान करिब ११ः३० बजेतिर ३ नम्बर गेट तोडेर संसद् भवन प्रवेश गरे । उनीहरूले संसद् भवनलगायतबाट टेबल, कुर्सी, पानीको जार, ग्यास सिलिन्डर, ल्यापटपलगायत जे भेट्यो ओसारिरहेका थिए । २४ गते साँझ करिब १९.३० बजेको समयमा प्रदर्शनकारीहरूले नेपाल वाणिज्य बैङ्क बानेश्वर कार्यालयमा आगजनी गरी करिब ५ करोड नगद र १८ केजी सुन तथा चाँदीसमेत लुटी लगे ।
अधिवक्ता पार्वती के.सी.को कागज व्यहोरा :
२०८२ भदौ २४ गते कफ्र्यु लागेको जानकारी भयो । राज्यविरोधी, अराजक, हिंसात्मक समूहका व्यक्तिहरूले घुसपैठ गरी आन्दोलन भड्काएर सङ्घीय संसद् भवन र भवनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूमाथि आक्रमण गरेको हो । सुरक्षाकर्मीहरूले बाध्यात्मक अवस्थामा संसद् भवनको सुरक्षा र आफ्नो आत्मरक्षाको निम्ति गोली चलाएको भन्ने मेरो बुझाइ छ । आक्रमण योजनाकारहरूको पहिचान गरी कानुनबमोजिम सजाय हुनुपर्छ ।
सुनिल दासको कागज व्यहोरा :
२०८२÷५÷२३ गते अन्दाजी ११ः०० बजेतिर नयाँ बानेश्वर चोकमा जम्मा भएको भिड अराजक हुँदै पिक, कुटो, फलामे रडले संसद् भवनको गेट पर्खाल भत्काइरहेका थिए । भिडका केही व्यक्ति प्रहरीको ड्युटी पोस्टमा चढेर प्रहरीको हतियार तान्न खोज्दै थिए । यही बिच प्रहरीले कफ्र्यु लागेको माइकिङ गर्दै थियो । तर, भिडले कफ्र्युको पर्वाह नगरी तोडफोड गरे । संसद् भवनको दक्षिण गेटमा आगोसमेत लगाइयो । यसक्रममा १०/१५ वटा जति गोली चलेको आवाज सुनेँ । अन्दाजी १५ः३० बजेतिर संसद् भवनको पश्चिम गेट नजिक दुईजना सडकमै ढलेको देखेको थिएँ ।
राम श्रेष्ठको कागज व्यहोरा :
म बानेश्वरस्थित सङ्घीय संसद् भवनको पश्चिम गेटअगाडि मोबाइल पसल सञ्चालन गरी बस्छु । २०८२ भदौ २३ बिहान १०–११ बजेदेखि प्रदर्शनकारीहरू भेला भएका थिए । सोही क्रममा प्रदर्शनकारीहरूको एक समूहले संसद् भवनभित्र प्रवेश गर्न उक्साउने, केही बुलेट मोटरसाइकलमा आएकाहरूले ठुलठुलो आवाजमा कुदाएर भिडलाई उत्तेजित बनाउन थाले । त्यसपछि प्रदर्शनकारीहरू व्यारिकेड तोडेर अगाडि बढे । प्रदर्शनकारीहरूले सुरक्षाकर्मीलाई गोली चलाउनेसम्मको बाध्यात्मक अवस्थामा पु¥याएको हो । भदौ २४ गते बिहानदेखि ठुलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूले विभिन्न घरेलु हतियार, पेट्रोल बम, प्रज्वलनशील पदार्थ बोकेर सुरक्षाकर्मीहरूमाथि आक्रमण गर्ने, कुटपिट गर्ने, सवारी साधन तोडफोड गर्ने, संसद् भवनको पर्खाल भत्काउने, आगजनी तथा लुटपाट गर्ने काम गरेका हुन् ।
नवीन बस्नेतको कागज व्यहोरा :
म भदौ २३ गते संसद् भवन उत्तर–पूर्वको एक होटलमा थिएँ । समय यकिन भएन, बाहिर निस्किएर हेर्दा भिडले ढुङ्गामुढा, गुलेली प्रहार गरिरहेका थिए । त्इद्य लेखेको ज्याकेट लगाएका मानिसहरूले अस्वाभाविक रूपमा बाइक कुदाउँदा भिड झन् आक्रोशित भएको थियो । संसद् भवनभित्र रहेका सांसदहरू एम्बुलेन्स चढेर बाहिर निस्कन खोज्दा झन् तनाव बढेको थियो ।
अधिकांश मधेसी समुदायजस्ता देखिने मानिस रहेको भिडले संसद् भवनभित्र प्रवेश गरेर आगजनी तथा तोडफोड गरी सरसामानसमेत लुटपाट गरेको देखेको हुँ । भदौ २४ गते नेपाली सेनाकै उपस्थितिमा आगजनी भए पनि सेना मूकदर्शक बनिरह्यो । भदौ २५ गतेमात्र दमकलले आगो निभाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *