भर्खरै :

भाषा र शुद्धाशुद्धीमा एकरुपता गर्न जोड

नेपाली भाषा सम्पादनमा अहिले एकरूपता पाइँदैन । भाषा सम्पादनमा एकरूपता ल्याउन सबैले एउटै मानक बनाउनुपर्छ । मानक बनाउने काम कुनै एउटा निजी कम्पनी या संस्थाभन्दा सरकारी निकायले गर्नुपर्छ । कतिपय सञ्चार गृह र प्रकाशन संस्थाहरूले आ–आफ्नै किसिमको मानक बनाएर पत्रिका र पुस्तकहरू प्रकाशन गरिरहेका छन् । आ–आफ्नै बुझाइको वर्णविन्यासको नियम बनाएर भाषा सम्पादन गर्दा या विभिन्न सञ्चारमाध्यममा वर्ण, शब्द, व्याकरण र वर्णविन्यास फरक फरक हुँदा पाठक, स्रोता या दर्शकमा भ्रम परेको या द्विविधा पर्न गएको देखिन्छ । यसले गर्दा पाठकमा कुन सही या गलत भन्ने अन्योल पर्न गएको देखिन्छ ।
वर्णविन्यासको समस्या पत्रिका र पुस्तकहरूमा मात्र होइन विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान, पाठ्यक्रम विकास केन्द्रजस्ता जिम्मेवार संस्थाहरूमा पनि आ–आफ्नै नियम बनेको देखिन्छ । यसको परिणाम विभिन्न पाठ्यपुस्तकमा पनि परेको देखिन्छ । यो समस्या समाधान गर्न या भाषा र शुद्धाशुद्धीमा एकरूपता कायम गर्न प्रेस काउन्सिल नेपालले ‘शैली पुस्तिका’ प्रकाशन गरेको छ । उक्त पुस्तिका तयार गर्दा नेपाली वर्ण विन्यासको नियम, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित पछिल्लो परिमार्जित बृहत् नेपाली शब्दकोश, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित प्रकाशन शैली (०७६), पत्रकार आचारसंहिता ०७३ र राष्ट्रिय समाचार समिति (रासस) को शैली पुस्तिका (०६३) लाई आधार मानेको छ ।
भाषा शैलीमा एकरूपता नहुँदा या एउटै संस्थाका विभिन्न प्रकाशनमा फरक–फरक शैली समावेश हुँदा पाठकलाई मात्र असहज हुन्छ र भाषाको मनोमानीमा प्रयोग पनि बढ्न थाल्छ । यसको लागि शैली पुस्तिका जरूरी छ । तर, ‘शैली पुस्तिका’ आफूखुसी तयार गरेर हुँदैन । यसले भाषाको एकरूपता हुँदैन, वर्णविन्यास मिल्दैन । भाषिक एकता कायम गर्नु आजको आवश्यकता हो । यसै उद्देश्यअनुरूप प्रेस काउन्सिल नेपालले शैली पुस्तिका प्रकाशन गरेको हो । उक्त पुस्तिकाभित्र रहेर भाषा सम्पादन भएमा विभिन्न पत्रपत्रिका र पुस्तक प्रकाशनमा एकरूपता हुन्छ । पुस्तिका सम्पादन तथा प्रकाशनमा काउन्सिलका पदाधिकारी तथा अन्य नेपाली भाषाका विज्ञहरूको प्रयास सार्थक हुनेछ र ढिलो चाँडो भाषिक एकता कायम हुने विश्वास गर्न सकिन्छ ।
भाषामा एकरूपता ल्याउन र यो सन्देश विद्यालय–विद्यालयमा पु¥याउन संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) भक्तपुरले शनिबार नेपाली भाषा शिक्षण प्रशिक्षण कार्यशालाको आयोजना ग¥यो । इसानअन्तर्गत विद्यालयका आधारभूत र मावि तहमा नेपाली विषय पढाउने शिक्षकहरूबिच सो प्रशिक्षण सञ्चालन गरिएको थियो । कार्यशालामा नेपाली भाषा शिक्षण परिवर्तित पाठ्यक्रमअनुसार नेपाली विषयको अभिलेखीकरणमा केन्द्रित रहेर शिक्षण विधिका उपायहरूबारे जानकारी दिइएको थियो । उक्त कार्यशालाले नेपाली शिक्षकहरूमा भाषिक एकता ल्याउन र ह«स्वदीर्घसम्बन्धी थप जानकारी मिल्ने नेपाली शिक्षकहरूको भनाइ रहेको छ । यस्ता प्रशिक्षणलाई अझ विस्तार र व्यापक बनाउनुपर्ने देखिन्छ । ग्रीन बुक्सको सहयोगमा सञ्चालित सो कार्यशालामा वितरित नोटबुकमा चुच्चो नभएको नेपालको नक्सा पाउँदा शिक्षकहरूको मनमा चिसो पसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *