भर्खरै :

भ्रमणमा राष्ट्र प्रमुख र नेताहरू सतर्क हुनुपर्छ

कुनै पनि देशका राष्ट्र प्रमुख र नेताहरूको विदेश भ्रमण अस्वाभाविक होइन । यस्ता भ्रमणहरू दुई देशबिचको दौत्य सम्बन्ध सुदृढ बनाउनमात्र हुँदैन भ्रमणभित्र अरू उद्देश्य पनि रहेको हुन्छ । भ्रमण विकासमा मात्र केन्द्रित हुँदैन । भ्रमणको क्रममा त्यो देशका नेता, सरकार प्रमुखसँग सैद्धान्तिक, वैचारिक र राजनीतिक कुरा पनि भएको हुन्छ । यस्तो कुरा बाहिर आउँदैन । भ्रमणपछि भ्रमण सकारात्मक या सफल भएको या सम्बन्ध अझ राम्रो भएको फुक्छ । नेपालका राष्ट्र प्रमुख र नेताहरूको भारत भ्रमणमा सन् १९५० को सन्धिको प्रसङ्ग पनि बेलाबखत उठेको हुन्छ । आँट गर्ने एक दुई नेताले भारतसमक्ष सन् १९५० को सन्धि पुनरवलोकन गर्नुपर्ने कुरा उठाउँछन् । तर, भ्रमण सकेपछि वर्षाैँ वर्ष या अर्काे भ्रमण नभएसम्म त्यो प्रसङ्ग उठाइँदैन । कुनै पनि सन्धि पुनरवलोकन गर्नैपर्ने हो भने भ्रमणको बेलामात्र प्रश्न उठाएर पुग्दैन । त्यसबारे बिचबिचमा कूटनीतिक प्रयास भइरहनुपर्छ । सन् १९५० को सन्धि पुनरवलोकन होइन खारेज गर्नुपर्ने कुरा उठेको दशकौँ भइसक्यो । तर, अहिलेसम्म भइरहेको छैन । त्यसको कारण हो, भ्रमण सकेपछि नेपाल सरकारले अरू बेला कहिल्यै कुरा उठाउँदैन ।
नेपालले भारतसँग उठाउनैपर्ने विषय धेरै छ । कालापानीमा रहेको भारतीय सेना भारतले फर्काउनुपर्ने हो । नेपाली भूमिमा वर्षौँ वर्षसम्म भारतीय सेना राख्नु ठीक होइन । यो भारतको शक्तिको अहङ्कार हो । यो सार्वभौम देशमाथिका हस्तक्षेप हो । नेकाको नेतृत्वमा रहेको सत्तासीन दलका अध्यक्ष पुष्पकमल दाहालले भारतीय सेना फर्काउनुपर्ने कुरा राख्लान् या नराख्लान् ? नेपाल सरकार र स्थानीय जनताको परामर्शविना जङ्गेस्तम्भ सारेर नेपाली भूमि मिच्ने र नेपालीलाई उठीबास गर्ने भारतीय पक्षको काममा नेपाल सरकार र सत्तासीन दलका नेताहरूको ध्यान किन पुग्दैन ? के नेपाल सधैँ विदेशी शक्ति राष्ट्रहरूको दबाबमा बसिरहनुपर्ने हो ? विदेशी शक्ति राष्ट्रले नेपाल र नेपालीको अहितमा जे काम गरे पनि सहेर बस्नुपर्ने कस्तो मान्यता !
कुनै पनि देशको भ्रमणमा आफ्नो देशको अहितमा कुरा गर्नुहुँदैन । देशको अहितमा सन्धि–सम्झौता गर्नुहुँदैन । भ्रमणमा देशघात या जनविरोधी कुनै सहमति, सम्झौता भएन भने त्यो नै उपलब्धि मान्नुपर्छ । यस्ता भ्रमणहरू दिल्लीको लागि महत्वपूर्ण होइन नेपाल र नेपालीको लागि महत्वपूर्ण हुनुपर्छ । नेपालका राष्ट्र प्रमुख र नेताहरूलाई नचाउने, उठबस गराउने भ्रमण कसरी सार्थक हुन्छ ? यस्ता हरेक भ्रमणको बेला नेपालका राष्ट्र प्रमुख र नेताहरू सतर्क र सचेत हुनुपर्छ । विगतमा नेता र राष्ट्र प्रमुखहरू फसे पनि अब फस्नु हुँदैन, फस्ने कुरामा सहमति जनाउनु हुँदैन । ठुलाको अगाडि झुक्ने या दास भएर बस्ने कुनै स्वाधीन र सार्वभौम देशका राष्ट्र प्रमुख र नेताहरूलाई सुहाउँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *