जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
माना रोपेर मुरी फलाउने बेला जेठ महिनाको दोस्रो हप्तासम्म एक थरीको रोपाइँ सकिसक्नुपर्ने हो । तर, समयमा आकाशे पानी नपर्दा असार महिनासम्म रोपाइँ गर्न नपाउँदा रौतहटका किसानहरू चिन्ताले पिरोलिएका छन् ।
नेपाल कृषिप्रधान देश भए तापनि किसानहरूले बर्सेनि मलखाद, वैज्ञानिक बीउबिजन र सिँचाइको अभावमा पनि खेत बाँझो नराख्ने गरी रातदिन मिहिनेत गर्ने गरेका छन् ।
तराई क्षेत्र उर्वर भूमि भए तापनि सरकारको अकर्मण्यताको कारण यहाँका किसानहरू चिन्तित छन् । यस क्षेत्रको अधिकांश खेती आकाशे पानीको भरमा हुन्छ ।
यो वर्ष यस क्षेत्रमा समयमा मनसुन सक्रिय नहुँदा पानीको अभावमा रोपाइँ हुन सकेको छैन । कतिपय किसानहरूले साहुमहाजनहरूसँग ऋण लिएर बोरिङको पानीले रोपाइँ सुरु गरेका छन् । बोरिङको पानीबाट रोपाइँ गर्दा असाध्यै खर्चिलो हुने गरेको यहाँका किसानहरू बताउँछन् । पानी नपर्दा रोपाइँको लागि छरेका बीउहरू सुक्न थालेका छन् ।
हुलमुलमा ज्यान जोगाउनु र अनिकालमा बिउ जोगाउनु भनेजस्तै समयमा पानी नपर्दा आर्थिक अभावमा रहेका किसानहरू खेतमा रोपाइँको लागि छरेका बिउहरू सुक्नबाट कसरी जोगाउने भन्नेमा चिन्तित छन् ।
अहिले देशमा तीन तहको सरकार भए तापनि यिनीहरूले किसानहरूको हक, हितको लागि कुनै प्रकारको काम गर्न सकेका छैनन् । अहिले तीनवटै तहका सरकार एउटै डयाङ्को मुला भएको यहाँका किसानहरुको बुझाइ रहेको छ ।
सरकारले वैज्ञानिक ढङ्गले खेतीपाती गर्नको लागि समय–समयमा किसानहरूलाई तालिमको बन्दोबस्त, वैज्ञानिक बिउबिजन, आधुनिक उपकरणहरू, गुणस्तरीय मलखादको व्यवस्थापन गर्न सकेको खण्डमा खाद्यान्नमा नेपाल आत्मनिर्भर हुनेमा यहाँका किसानहरू विश्वस्त छन् ।
Leave a Reply