भर्खरै :

गाईजात्रा मनोरञ्जनात्मक, उपदेशमूलक र हास्यव्यङ्ग्यात्मक पनि

गाईजात्रा ऐतिहासिकमात्र सांस्कृतिक पर्व हो । यो साता दिन महोत्सवजस्तै हुन्छ । गाईजात्रामा मृतकको घरबाट ‘ताहामचा’ र ‘साँचा’ मात्र लान्दैनन् घिन्ताङघिसीसहितको नाचगान पनि हुन्छ । गाईजात्रा अवधिभर परम्परागत नाच, ख्याल (हास्यव्यङ्ग्य), नृत्य र नाटकहरू देखाइन्छ । टोल–टोलमा देखाइने नाचगान र ख्यालले भक्तपुर नगर महोत्सवजस्तै हुन्छ । गाईजात्राको यो चर्चासँगै टोल–टालेमा संस्कृतिकर्मी, कलाकार र लेखकहरूबिच भलाकुसारी हुन थालेको छ । आ–आफ्नो भेगबाट यो वर्ष के कस्ता नाचगान ख्याल या अन्य विधा लाने भन्ने छलफल सुरु हुन थालेको छ । लेखकहरूले गीत लेख्न थालेका छन्, वाद्यवादकहरू र नाचगान टोलीमा सरिक हुने व्यक्तिहरू पनि क्रियाशील हुन थालेका छन् ।
गाईजात्रा देशको विभिन्न ठाउँमा हुन्छ । विशेषगरी यो पर्व नेवार बस्तीमा मनाइन्छ । तर, यो नेवारी समाजमा मात्र सीमित छैन । त्यसमध्ये भक्तपुरको गाईजात्राको विशेष महिमा र महत्व छ । गाईजात्राको बेला यहाँ (भक्तपुर) का सबैजसो नाचगान प्रदर्शन गर्नुपर्ने मान्यता छ । अधिकांश परम्परागत नाचगान प्रदर्शन भइरहेको पनि देखिन्छ । कोरोना भाइरसको कारण २ वर्ष गाईजात्रा पनि प्रभावित भयो । यो वर्ष फेरि विगतमा झैँ गाईजात्रा पर्व मनाइने तयारी सुरु भएको छ । यसको सङ्केत स्वरूप भक्तपुर नगरपालिकाले संस्कृतिकर्मीहरूको भेला गरिसकेको छ । त्यस्तै गाईजात्रा परिचालन समितिले लेखक र कलाकारहरूको भेला गरिसकेको छ । यसरी नै टोल–टोलमा वाद्यवादक, कलाकार, संस्कृतिकर्मी र लेखकहरूको भेटघाट हुन थालेको छ ।
गाईजात्रालाई राजनीतिक चेतना र नागरिक भावना जगाउने अभियानको रूपमा अघि बढाइएको थियो । यहाँका परम्परागत नाचगानको संरक्षण गर्न, गाईजात्रामा देखाइने अश्लील दृश्य र अश्लील अभिव्यक्ति हटाउने उद्देश्यले भक्तपुरमा दशकौँदेखि गाईजात्रा सांस्कृतिक अभियानको रूपमा अघि बढेको थियो । यो क्रम चालु छ । घिन्ताङघिसी नाचको मौलिक शैलीलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिन्छ । गाईजात्रा पर्व मनोरञ्जनात्मक हुन्छ । यो उपदेशमूलक हुन्छ । यस पर्वमा हास्यव्यङ्ग्य हुन्छ । कार्टुन प्रदर्शनी हुन्छ । समाजदेखि देश विदेशमा भइरहेका घटनालाई प्रतिबिम्बित गरेर अनेक विधा प्रदर्शन गरिएको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *