भर्खरै :

वायु ऊर्जा कि ह्वेल ?

उत्तर आन्ध्र महासागरमा पाइने राइट ह्वेल लोप हुने सँघारमा छ । पृथ्वीमा जम्मा ३७० वटामात्र राइट ह्वेल छन् । अझ केही समस्याहरू थपिए यिनीहरू सजिलै लोप हुनेछन् ।
वातावरणको क्षेत्रमा काम गर्ने गैरनाफामुखी समूहहरूका वैज्ञानिकहरूले नर्दन राइट ह्वेलको सङ्ख्या तीव्ररूपमा घटेको बताइरहेका छन् । यी ह्वेलहरू सङ्कटापन्न स्थितिमा पुगेका छन् । यी सङ्गठनहरूले हालैमात्र हस्ताक्षर गरेको एक पत्रमा जोडदाररूपमा लेखिएको छ, “नर्थ एटलान्टिक राइट ह्वेलको सङ्ख्याले अब थप दबाब थेग्न सक्दैनन् । उनीहरूको खान्कीमा थप कुनै हस्तक्षेप भएमा तिनको सङ्ख्यामा असर पुग्नेछ ।”
तर, यिनै सङ्गठनहरूले बाइडेन सरकारको योजना पनि प्रवद्र्धन गर्दै छन् । बाइडेन सरकारले सन् २०३० सम्ममा अमेरिकाको पूर्वी तटभरि ३० हजार मेगावाट क्षमताका वायु ऊर्जा निकाल्ने टर्बाइन राख्ने योजना बनाएको छ । यस्तो टर्बाइन समुद्री तटनजिकै समुद्रमा गाडिन्छ । यस्ता टर्बाइनहरूले समुद्रमा बस्ने लोपोन्मुख स्तनधारी प्राणीहरूलाई जोखिममा पार्ने निश्चित छ । तीमध्ये नर्थ एटलान्टिक राइट ह्वेल पनि एक हो ।
तटीय वायुले गर्दा हाम्रो समुद्री पानीका ठूलो औद्योगिकीकरण हुनेछ । समुद्री तट पहिले नै भरिभराउ छ । विभिन्न व्यवसायिक र मनोरञ्जनात्मक कम्पनीहरूले गर्दा तटमा भिड छ । टर्बाइनहरूको लस्कर लगाउने भएपछि त्यहाँ तटीय उपयोगको विषयमा झगडा हुनेछ । पहिलेका कम्पनीहरूले नै समस्यामा परेका राइट ह्वेलहरूलाई टर्बाइन खडा गरेपछि थप समस्यामा पार्नेछ । तिनको बसोबास क्षेत्र ध्वस्त पारेर हामीले ह्वेल र अन्य प्रजातिहरूलाई जोगाउन सक्दैनौँ । जलवायु परिवर्तनसँग सामना गर्ने नाममा पनि यसो गर्न मिल्दैन ।
भाइनयार्ड विन्ड १ र साउथ फोर्क विन्ड नामक दुई आयोजनाको निर्माण हुँदै छ । यसले न्यु इङल्यान्डको दक्षिणमा रहेको समुद्री क्षेत्रमा दर्जनौँ टर्बाइन र त्यससँग सम्बन्धित पूर्वाधारहरू बन्नेछन् । यी भूभागहरू नर्थ एटलान्टिक राइट ह्वेलहरूले वर्षैभरि खाना खोज्ने स्थलहरू हुन् । योजना निर्माणको बेला राइट ह्वेलहरूको सुरक्षा गर्नलाई अपनाइने उपायहरू सबै असफल हुने निश्चित छ । किनभने, ती उपायहरू म्याद नाघेको विज्ञानमा आधारित छन् र तिनले ह्वेलको वार्षिक क्रियाकलापलाई भन्दा मौसमी क्रियाकलापलाई मात्र ध्यान दिन्छन् ।
गैरसरकारी संस्थाहरूले पहिलो परियोजनाबाट ह्वेललाई बचाउने उपायहरू प्रभावकारी हुने वा नहुने विषयमा परीक्षण हुने बताउँदै छन् । तर, यस्ता अनुसन्धानहरूले मान्यता पाउन वर्षौँ लाग्न सक्छ । न्युयोर्क, न्युजर्सी र म्यारील्यान्डको लागि प्रस्तावित अन्य आयोजनाहरू धेरै वर्षदेखि निर्माणाधीन छन् । अनुसन्धान र सावधानीका उपायहरूलाई पर्खिँदै यी आयोजनाको निर्माणमा ढिलाइ गरिएको छैन ।
वातावरणको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरूले राइट ह्वेलको भन्दा नवीकरणीय ऊर्जालाई प्राथमिकता दिएकोले नै राइट ह्वेल संरक्षण समूह (एसआरडब्ल्यु) गठन भएको हो ।
यी संस्थाहरूको अकर्मण्यताको कारण अहिले खुल्दै छ ।
‘एसआरडब्ल्यु समूह’ को प्रतिवेदनमा लोपोन्मुख प्राणीहरूलाई भन्दा वायु ऊर्जालाई प्राथमिकता दिने यी वातावरणीय क्षेत्रमा काम गर्ने सङ्गठनहरूलाई वायु ऊर्जा कम्पनी वा फाउन्डेसनहरूले चन्दा दिएका ३६ वटा उदाहरण उल्लेख छ । चन्दाको कूल योग ४३ लाख अमेरिकी डलर छ । हामीले दर्जनौँ चन्दा नाम नखुलाई दिएको पाएका छौँ । यसको अर्थ सर्वसाधरणको जानकारीमा नआउने गरी ठूलो मात्रामा ती गैरसरकारी संस्थालाई पैसा गएको छ ।
‘एसआरडब्ल्यु समूह’ ले पैसाको लेनदेनबाहेक पनि वातावरणसँग सम्बन्धित समूहहरू र वायु ऊर्जा कम्पनीहरूबिच अनेक किसिमको साठगाँठ रहेको पत्ता लगाएको छ । यो साठगाँठको काम नै तटीय ऊर्जाको पक्षमा पैरवी गर्नु हो । यसमा ‘न्युयोर्क अफशोर विन्ड एलायन्स’ र ‘न्यु इङ्गल्यान्ड फर अफशोर विन्ड’ नामक सङ्गठन पनि पर्छन् ।
तटीय वायु ऊर्जा एउटा उद्योग हो । वातावरणमा यस्तो औद्योगिक वायु ऊर्जा परियोजनाले पार्ने असरहरूबारे जनता अवगत हुनु कर्पोरेट जगतको नाफा र लगानीकर्ताको लागि खतरा हो । यस्ता कम्पनीहरूले वातावरण संरक्षण समूहहरूलाई अनुदान दिँदा तिनले प्रायः आफ्नो अनुदानलाई वातावरण संरक्षणसम्बन्धी अनुसन्धानहरूमा लगानी गरेर आफूलाई चोख्याउन खोज्छन् । तर, प्रायः यस्ता अनुसन्धानहरू टाकटुके हुन्छन् । यी अनुसन्धानहरूले प्रस्तावित परियोजनाहरूका प्रत्यक्ष जोखिमहरूबाट मानिसको ध्यान मोड्ने काम गर्छन् ।
वातावरणसम्बन्धी गैरसरकारी संस्थाहरूले आफूलाई प्रकृतिका व्यवस्थापक र हाम्रा बहुमूल्य जीवजन्तुहरूको संरक्षकहरूको रूपमा आफूलाई प्रस्तुत गर्छन् । वायु ऊर्जाका टर्बाइनहरूलाई आरामले राइट ह्वेलहरू बसोबास गर्ने, खाने र बच्चा जन्माउने स्थलहरूमा उभ्याउन सकिन्छ भन्ने उनीहरूको दाबीलाई जनताले पत्याएका छन् । तर, वित्तीय द्वन्द्व र व्यावसायिक साठगाँठहरूबाट उनीहरूको दाबी निराधार देखिन्छ ।
यी प्रस्तावित वायु ऊर्जाका टर्बाइनहरूको लस्कर बनाइसकेपछि पछि फर्किन मुस्किल छ । यिनको असर प्राणघातक हुनेछ र यिनको असर स्थायी हुनेछ । राइट ह्वेल नै लोपोन्मुख भइरहेको बेला यो कुरा अस्वीकार्य छ ।
गैरसरकारी संस्थाहरूले आफूले कहाँबाट पैसा लिएको हो, सबै कुरा जनताबिच खुलस्त राख्नुपर्छ र आफ्नो प्राथमिकता निर्धक्क बताउनुपर्छ ।
हाम्रा महासागरहरूलाई अहिले निष्ठावान रक्षकहरूको खाँचो छ ।
(ग्लोबल रिसर्चबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *