भर्खरै :

दुईदिने आवासीय प्रशिक्षण कार्यक्रम सुरु

काठमाडौँ, ६ साउन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा दुईदिने आवासीय प्रशिक्षण कार्यक्रमको पहिलो दिन शुक्रबार चन्द्रागिरी नगरपालिका, बलम्बुमा सम्पन्न भयो ।
कार्यक्रममा प्रशिक्षण दिँदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेक्राविसङ्घका विद्यार्थीहरू व्यवहारमा अब्बल हुनुपर्ने बताउनुभयो । सङ्गठनको अनुशासनमा रही आफ्नो जिम्मेवारी पूरा गर्न विद्यार्थीहरू सदैव तयार रहन उहाँले जोड दिनुभयो । वर्गीय भावना मनमा राखी सामाजिक गतिविधिमा सरिक हुँदै सङ्गठनको प्रचार–प्रसार र विस्तारमा दृढ भई लाग्न विद्यार्थीहरूलाई निर्देशन दिनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिका उपाध्यक्ष कमलमैँया सुवालले शोभा प्रधानको जीवनीबारे चर्चा गर्दै व्यक्तिगत स्वार्थभन्दा कामदार जनताको हकहितका लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । राजनैतिकरूपमा सचेत नहुँदा महिलाहरूले दुःख पाउने भएकाले छात्राहरूमाझ सङ्गठन बलियो बनाउन उहाँले जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष नीरज लवजूले नेपालको विद्यार्थी आन्दोलनमा नेक्राविसङ्घ सिद्धान्तमा अडिग विद्यार्थी सङ्गठनको रूपमा स्थापित हुन सफल भएको बताउनुभयो । नेक्राविसङ्घको स्थापनाका आधारहरूबारे प्रस्ट पार्दै उहाँले नेक्राविसङ्घलाई इतिहासले पटकपटक सही साबित गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिका सचिव दिनेश खड्गी एवम् सदस्यहरू विवेक कोजू र किरण गोसाईले पनि बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *