भर्खरै :

फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीतिबारे छलफल

काठमाडौँ, ६ साउन । नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति २०७९ अनुकूल हुने गरी फोहोर मैला व्यवस्थापनसम्बन्धी काठमाडौँ उपत्यकाका स्थानीय तहहरूसितको छलफल कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको संविधानले सबै नागरिकलाई स्वच्छ र सफा वातावरणको हक सुनिश्चित गरेको हुनाले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले आ–आफ्नो क्षेत्रबाट उक्त हक प्रत्याभूत गर्न भूमिका खेल्नुपर्ने, समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले फोहोरमैला व्यवस्थापनका लागि रिसाइक्लिङ उद्योग र कम्पोस्ट प्लान्ट स्थापना गर्न सकिए समस्या समाधान पनि हुने र स्थानीय जनताले रोजगारी पनि पाउन सकिने औँल्याउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरसफाइको जिम्मेवारी राज्यको भएको र फोहोरमैला व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन नहुनेमा बताउँदै स्थानीय तहहरूले सङ्घ र प्रदेश सरकारसित समन्वय र आर्थिक सहयोग लिएर उचित व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाले कुहिने फोहोरबाट कम्पोस्ट मल निर्माण गरी किसानहरूलाई सस्तो मूल्यमा बिक्री वितरण गर्दै आएको र पुनः प्रयोग गर्न सकिने फोहोर बिक्री गरी आयआर्जन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, मध्यपुर नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेललगायत काठमाडौँ उपत्यकाभित्रका विभिन्न नगरका नगरप्रमुख तथा प्रतिनिधिहरूले विभिन्न सुझाव पेश गर्नुभएको थियो ।
कार्यक्रममा मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ, कानुन मन्त्रालयका सहसचिव मानबहादुर विष्ट, विषयविज्ञ विष्णुदत्त गौतम, नेपाल कानुन समाजका कृष्णमान प्रधान, मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख ऋषिराज आचार्यलगायले मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *