भर्खरै :

वडाध्यक्षको डायरी / के म घरमा काम गर्नमात्र ल्याएको हो ?

मध्याह्नको समय थियो । वडा कार्यालयमा त्यति भिड थिएन । वडामा दैनिकरूपमा आउने ‘मजदुर’ दैनिक अध्ययन गर्दै थिएँ । त्यही समयमा एक जना बहिनी वडामा आइन् । उनी सोफामा बसिन् र भन्न थालिन्, “मलाई मेरो श्रीमान् र सासू ससुराले नागरिकता पनि लिई दिएन । मेरो छोरा बा¥ह वर्ष भइसकेको छ । अहिलेसम्म न जन्म दर्ता नै गरिदिएको छ न त मेरो विवाह दर्ता नै गरिदिएको छ । वडाध्यक्षज्यूले मेरो विवाह दर्ता, नागरिकता र बाबुको जन्म दर्ता लिई दिनुप¥यो ।” बहिनीको कुराले म अलमल भएँ । बहिनीको कुरा आफ्नो डायरी पल्टाएर टिपोट गर्न थालेँ । उनी लगातार बोलिरहिन् । मैले उनको कुरा सुनिरहेँ । उनको पहिरन हेर्दा घरमा कसैसँग झगडा भएर वडामा आएकी जस्तो लाग्यो किनकि उनी घरकै पहिरनमा आएकी थिइन् । केही समयपछि उनी चुप लागिन् । सायद उनको रिस अलि कम भइसकेको थियो । उनको समस्या मैले समाधान गरिदिने आशा थियो ।
उनले केही नबोलेपछि मैले आफ्नो कुरा राखँे, “बहिनीको नाम के हो ? अनि घर कता हो ? परिवारको बारेमा भन्नुस् ?” त्यसपछि बहिनीले जवाफ दिइन्, “मेरो नाम सम्झना हो । मेरो श्रीमान्को नाम हरि हो । म यही टोलमा बस्छु । मेरो विवाह भएको बा¥ह वर्ष भयो । छोरा एउटा छ । मेरो अहिलेसम्म विवाह दर्ता भएको छैन । न त मेरो नागरिकता नै छ । मेरो छोराको जन्म दर्ता पनि लिएको छैन । श्रीमान्लाई मैले कति भनिसकेँ विवाह दर्ता र नागरिकता लिनलाई तर मान्नु नै भएन । सासू ससुरालाई भन्दा पनि वास्तै गर्नुभएन । सासू त घरमा नबसे पनि हुन्छ जस्तो व्यवहार गर्नुहुन्छ । त्यही भएर म तपाईँकहाँ आएकी । तपाईँले मलाई सहयोग गर्नुप¥यो ।” बहिनी सम्झनाको कुरा सुनेपछि मैले समस्या के हो भनी बुझेँ । तत्काल नै बहिनीसँग मोबाइल नम्बर लिएर उनकी श्रीमान्लाई फोन गरेँ । तर, फोन उठेन । त्यसपछि मैले उनको ससुरालाई फोन गरेँ । तत्काल वडा कार्यलयमा आउन अनुरोध गरेँ । उहाँ पाँच मिनेटमा नै वडामा आउनुभयो ।
मैले ससुरालाई बुहारीले भनेको कुरा छोटोमा बताएँ र अहिलेसम्म परिवारले किन विवाह दर्ता, नागरिकता र जन्म दर्ता लिई नदिएको भनी प्रश्न राखेँ । जवाफमा उहाँले भन्नुभयो, “बुहारीले भनेको सबै कुरा साँचो हो । मैले बुहारीप्रति गर्नुपर्ने सबै कर्तव्य गरेको छु । तर, छोरा अलि अर्कै किसिमको छ । उसलाई मनपर्ने केटी विवाह गरी नदिएको कारणले गर्दा हो कि जस्तो लाग्दछ । तर, मैले हस्ताक्षर गरेर हुने भए म बुहारीलाई विवाह दर्ता, नागरिकता र जन्म दर्ता दिन तयार छु । मैले बुहारी र नातिलाई स्वीकार गरेकै छु । नभए यही बुहारीलाई सोध्नुस् ।” ससुराको सकारात्मक सोच भएको थाहा भएपछि मैले तुरुन्त वडा सचिवलाई आफ्नो कार्यकक्षमा बोलाएँ । वडा सचिवले ससुराले हस्ताक्षर गरेरमात्र विवाह दर्ता हुन नसक्ने र विवाह दर्ता नभई नागरिकता पनि लिन नसकिने बताउनुभयो । उहाँले श्रीमान् नै वडामा आएर निवेदन फारम र ढड्डामा हस्ताक्षर नगरेसम्म विवाह दर्ता हुन नसक्ने बताउनुभयो । त्यसपछि मैले सम्झना बहिनीलाई अलि सम्झाउने पारामा भनेँ, “आफ्नो श्रीमान्लाई अलि नरम भई सम्झाउनुहोला । सम्भव छ भने वडा कार्यालयमा लिएर आउनुहोला । म पनि सम्झाउने प्रयास गर्छु । आफ्नो घरमा बुहारी स्वीकार गरी ल्याइसकेपछि विवाह दर्ता गरी नदिनु भनेको कानुनी र व्यवहारिकरूपमा मिल्दैन । त्यसैले आजै श्रीमान्लाई एकपटक सम्झाउनुहोला ।” सम्झना बहिनीले केही जवाफ फर्काइनन् । ससुरा बुहारीकै पक्षमा बोल्दै थिए । मैले दुवै जनालाई आजलाई जानुस् भनेर बिदा गरेँ ।
सम्झना बहिनी त्यसपछि धेरै महिनासम्म सम्पर्कमा आइनन् । मैले पनि वडामा सेवाग्राहीहरूको चापले गर्दा त्यो घटना बिर्सेँ । दैनिकजस्तो वडामा पनि नयाँ नयाँ समस्या आइरहने भएकोले त्यो एउटै घटना सम्झिरहन पनि सम्भव भएन ।
धेरै महिनापछि सम्झना बहिनी वडा कार्यालयमा आइन् । वडामा सेवाग्राहीहरूको अलि बढी घुइँचो थियो । उनी सोफाको लहरमा पछाडितिर बसिन् । आज उनको साथमा एकजना युवक पनि थियो । मैले बस्न अनुरोध गरेँ र एकछिन आफ्नो पालो कुर्नलाई अनुरोध गरेँ । एक घण्टा जति अरू सेवाग्राहीहरूको काम सकाइसकेपछि सम्झना बहिनीसँग कुराकानी थालेँ । सर्वप्रथम मैले सँगै आउने युवकको परिचय मागेँ । सम्झनाले आफ्नै भाइ भएको बताइन् । मैले भाइको पारिवारिक विषयमा पनि सामान्य कुराकानी गरेँ । त्यसपछि यति धेरै समय वडा कार्यालयमा फेरि नआउनुको कारण बहिनीलाई सोधेँ । जवाफमा उनले भनिन्, “घरमा ससुरा बा आमाले गर्दा अनि श्रीमान्ले गर्दा वडामा नआएकी हुँ । ससुराले घरमा मिलेर बस भन्नुभएकोले म नआएकी हँु । अब मलाई धेरै असह्य भएको छ । श्रीमान्ले मलाई वास्ता नै गर्दैन । श्रीमान्ले मलाई नागरिकता, विवाह दर्ता अनि बाबुको जन्म दर्ता लिई दिँदैन भने मैले आफ्नो घर परिवार भनेर कसरी विश्वास गर्ने ? ससुरा बा सहेर बस्न र घरमा मिलेर बस्न भन्नुहुन्छ । कसरी मिलेर बस्ने हो ? म घरमा नोकरजस्तो मात्र भएँ । सासू त घरमा नबसे पनि हुन्छ भने जस्तो व्यवहार गर्नुहुन्छ । म घरमा काम गर्नमात्र ल्याएकी हुँ जस्तो लाग्यो । त्यसैले मैले आज लिखितरूपमा निवेदन लिएर आएकी छु । तपाईँले मेरो श्रीमान्लाई वडामा बोलाएर सम्झाउनुप¥यो । अनि विवाह दर्ता र नागरिकता लिई दिनुप¥यो ।” बहिनीको कुरा सुनेपछि सँगै आएका युवकलाई बोल्न अनुरोध गरेँ । ती युवकले भने, “मेरी बहिनीलाई जसरी भए पनि वडाको पहलमा विवाह दर्ता, नागरिकता र जन्म दर्ता लिई दिनुप¥यो । निवेदनमा पनि हामीले त्यही लेखेर ल्याएका छौँ ।”
सम्झना र भाइको कुरा सुनेपछि मैले दुवैलाई भनेँ, “सम्झना बहिनी, अलि कमजोर प्रवृत्तिको लाग्यो । पहिलो भेटमा मैले फेरि वडा कार्यालमा आउनुहोला भनेको थिएँ । तर, उनी लामो समयसम्म आइनन् । तपाईँको विवाह दर्ता, नागरिकता र जन्म दर्ता सबै पाउन सकिन्छ । तर, तपाईँ डटेर लाग्नुप¥यो । तपाईँ निवेदन छोडेर जानुस् । म तपाईँको श्रीमान्लाई बोलाएर सम्झाउने प्रयास गर्छु । दुई दिनपछि मलाई भेट्नुहोला । कुराकानी गर्दागर्दैै मैले बहिनी सम्झनाकी श्रीमान्लाई मोबाइलमा फोन लगाएँ । मैले उनलाई भोलिपल्ट प्रथम प्रहरमा वडा कार्यालयमा आउन अनुरोध गरेँ । उनले वडा कार्यालयमा आउने भने प्रतिबद्धता जनाए । त्यसपछि मैले दुवै जनालाई बिदा गरेँ ।
भोलिपल्ट करिब १२ बजेतिर सम्झना बहिनीकी श्रीमान् वडा कार्यालमा आइपुगे । मैले सोफामा बस्न अनुरोध गरेँ र घरमा भएको समस्याका बारेमा सुनाउन अनुरोध गरेँ । त्यसपछि उनले मलाई भने, “मेरो इच्छाविपरीत बुबाले विवाह गराइदिएका थिए । विवाहपश्चात् पनि म बच्चा जन्माउने पक्षमा थिइन । तर, श्रीमतीको जबरजस्तीले बच्चा भयो । मलाई सुरुदेखि नै मेरी श्रीमती मनपर्दैन । हुन त हाम्रो परम्परागत विवाह भएको हो । तर, म यो विवाहलाई स्वीकार्ने पक्षमा छैन । म विदेशमा गएर बस्न चाहन्छु । यहाँको सबै टेन्सन बिर्सेर म विदेश जान चाहन्छु । मलाई श्रीमती र बच्चाको मतलब छैन ।” उनको कुराले मेरो मन अलि चिसो भयो र मैले भनँे, “परम्परागतरूपमा भएको विवाह पनि विवाह नै हो । अनि तपाईँले कुनै पनि हालतमा विवाह दर्ता गर्नुपर्छ । यदि वडामा विवाह दर्ता भएन भने अदालतमा नाता कायम गरी पाऊँ भनी नालिस दिएमा स्वतः नाता कायम हुन्छ । त्यसपछि त हामीले पनि बाध्य भई दिनुपर्ने हुन्छ । अदालत गएपछि अलि समय लाग्छ, तपाईँले सहयोग गर्नुभए अलि छिटो हुने हो । विवाह दर्ता, नागरिकता र जन्म दर्ता लिने नैसर्गिक अधिकार हो । त्यो अधिकारलाई कसैले रोक्न मिक्दैन र सकिँदैन । तपाईँले एकचोटि विचार गर्नुस् । तपाईँ आफैले स्वीकार गरेको विवाहलाई कसरी होइन भन्न सकिन्छ ? त्यसैले, श्रीमतीलाई विवाह दर्ता, नागरिकता र जन्म दर्ता दिनुहोला । मेरो कुरा सुनेर उनको अनुहार अलि अँध्यारो भयो ।
उनले एकछिन सोचिरहे । केही बेर विचार गरेपछि उनले विवाह दर्ता, नागरिकता र जन्म दर्ता दिनुपर्ला भने । त्यसपछि मैले केही दिनपछि फोन गर्ने गरी बिदा गरेँ । भोलिपल्ट सम्झना बहिनी वडामा आइपुगिन् । म काम विशेष बाहिर गएको थिएँ । फोनमा मैले आफू भएको ठाउँको अफिसमा आउन अनुरोध गरेँ । बहिनीले सबै कागज र फारम ल्याएकी थिइन् । त्यसपछि सम्झनालाई उनले भरेको फारममा तोक लगाई दिएँ र श्रीमान्लाई वडामा आउन फोन गरेँ । त्यसपछि वडाका सचिवले श्रीमान्को रोहवरमा विवाह दर्ता र नागरिकताको सिफारिससहित छाप लगाएर पठाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *