भर्खरै :

धनगढीका मेयर गोपाल हमाल भक्तपुर नगरपालिकामा

भक्तपुर, ११ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग कैलालीको धनगढी उपमहानगरपालिकामा २०७९ को स्थानीय तहको चुनावमा स्वतन्त्ररूपमा विजयी हुनुभएका नगर प्रमुख गोपाल हमालले बुधबार भेट गर्नुभएको छ । भक्तपुर नपाको शिक्षा, स्वास्थ्य र विशेषगरी फोहरमैला व्यवस्थापनबारे अध्ययन भ्रमणमा आउनुभएका हमललाई नगर प्रमुख प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित विविध गतिविधिहरूबारे प्रस्ट पार्नुभयो ।
भेटमा प्रमुख प्रजापतिले स्वास्थ्य क्षेत्रमा जनताको सहज पहुँचको लागि भक्तपुर नपाले स्वास्थ्य केन्द्र हुँदै अहिले १०० शय्याको ख्वप अस्पतालमार्फत अन्तरङ्ग सेवा सुरु गरिसकेको अवगत गराउँदै ख्वप अस्पतालबाट व्यापक जनताले सस्तो र स्तरीय स्वास्थ्य सेवा पाइरहेको चर्चा गर्नुभयो ।
भक्तपुर नपाले आजभन्दा ४ वर्ष अघिदेखि कुहिने र नकुहिने फोहर अलगअलग सङ्कलन गर्दै आएको र हाल कुहिने फोहरबाट कम्पोष्ट मल निर्माण गरी किसानहरूलाई सस्तोमा बिक्रीसमेत सुरु गरिसकेको उहाँले बताउनुभयो ।
विकास निर्माणको सन्दर्भमा भक्तपुर नपाले जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई उपभोक्ता समितिमार्पmत पारदर्शी ढङ्गले गुणस्तरीय निर्माण गर्दै आइरहेको बताउँदै उहाँले भक्तपुर नपा युवा तथा विद्यार्थीहरूलाई लक्षित गर्दैै सञ्चालित सीपमूलक तालिमले रोजगारी सिर्जना भएको बताउनुभयो ।
धनगढी उपमहानपाका प्रमुख हमालले सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेको बताउँदै धनगढी उपमहानपाले वडा क्लिनिकको अवधारणाअनुसार गर्भवती महिलाहरूको लागि यसै आर्थिक वर्षदेखि विशेषज्ञसहित १९ वटै वडामा अल्ट्रासाउन्ड, ईसीजी र ल्याबको स्वास्थ्य सेवा निःशुल्करूपमै सुरु गरेको बताउनुभयो ।
उहाँले भक्तपुर नपाको सरसफाइ र फोहोर व्यवस्थापनको चर्चा व्यापक रहेको हुँदा यहाँबाट सिक्ने उद्देश्यले भक्तपुर आएको बताउँदै जनतालाई स्थानीय सरकारको औचित्यता पुष्टि हुने ढङ्गले जनप्रतिनिधिहरूले काम गर्नुपर्छ भन्नुभयो ।
उक्त भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, धनगढी उपमहानपाबाट महेशप्रसाद दाहाल र रूपक जोशीको उपस्थिति थियो ।
प्रमुख प्रजापतिले नगर प्रमुख हमललाई खादा र भादगाउँले टोपीले स्वागत मयुरको झ्याल र नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभएको थियो ।
सोही क्रममा उहाँहरूले भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल र ख्वप इन्जिनियरिङ कलेजको स्थलगत अवलोकन भ्रमण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *