भर्खरै :

नेपालको सार्वभौमिकतामा भारतीय विस्तारवादको थिचोमिचो बढ्ने खतरा

भक्तपुर, १५ साउन । नेपाल क्रान्तिकारी महिला सङ्घ तँचा, ताहामला, भुलाँचा एकाइ समितिको आयोजनामा नागरिकता विधेयक तथा देशको समसामयिक विषयबारे प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले संसद्बाट पारित नागरिकता विधेयक देशको हितमा नभएको चर्चा गर्दै यो विधेयककै कारण नेपालको सार्वभौमिकतामा भारतीय विस्तारवादको थिचोमिचो बढ्ने खतरा छ भन्नुभयो ।
उहाँले नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नु जरुरी रहेको बताउनुभयो ।
सांसद सुवालले प्रश्न गर्नुभयो, “नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलालाई तत्काल नेपाली नागरिकता दिने र तिनका छोराछोरीलाई वंशजको नेपाली नागरिकता दिने विधेयक कसरी नेपालको हितमा हुन्छ ?”
शासक दलहरूले यस्तो नागरिकता विधेयक बहुमत पारित गरेको हुँदा उनीहरू देशघाती राजनीतिक दल पुष्टि भएको उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “नेपालको राजनीतिमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको प्रभाव बढाउने शासक दलहरू नै हुन् । निर्वाचनमा सामान र पैसा बाँड्ने र भोज खुवाउने शासक दलहरूले जनताको हित गर्दैनन् । यसकारण, नेपाली जनता सचेत हुनु जरुरी छ ।”
बाग्मती प्रदेशका सांसद सृजना सैँजूले नागरिकता विधेयकको विरोधमा उत्रनुपर्ने खाँचो औँल्याउँदै श्रमजीवी महिलालाई शासक वर्गमा पु¥याउन महिलाहरू राजनीतिकरूपमा सचेत र सङ्गठित हुनुपर्छ भन्नुभयो ।
भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले गाईजात्रालाई सुसंस्कृतरूपमा मनाउनुपर्ने र फोहरमैलाको उचित व्यवस्थापनमा ध्यान दिई फोहरलाई मोहर बनाउन सबै मिलेर पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक समितिका संयोजक सुमित्रा सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्रामसङ्घ भनपा–४ एकाइ अध्यक्ष कृष्णलक्ष्मी दुवाल, प्रेमलक्ष्मी त्वायनालगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *