भर्खरै :

सिद्धान्तहीन गठबन्धनलाई उदाङ्ग्याउन आवश्यक

सिद्धान्तहीन गठबन्धनलाई उदाङ्ग्याउन आवश्यक

भक्तपुर, साउन २२ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको दोस्रो पूर्ण बैठक भक्तपुरमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपालको हरेक आन्दोलनमा शासक दलहरू नेपाली जनताको कुरा सुन्नुभन्दा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको इसारामा चलेको बताउनुभयो । समकालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमको चर्चा गर्दै उहाँले अबको निर्वाचनमा सिद्धान्तहीन गठबन्धनलाई उदाङ्ग्याउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सिद्धान्तबिनाको मत काम लाग्दैन ।”
उहाँले आसन्न निर्वाचनमा एमसीसी तथा एसपीपी सम्झौता, देशघाती नागरिकता विधेयक पारित गर्ने शासक पार्टीहरूविरुद्ध विद्यार्थीहरू प्रचारप्रसारमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलनबारे प्रशिक्षण दिँदै नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भन्नुभयो, “कम्युनिस्ट आन्दोलन दिशाहीनजस्तो छ । नेमकिपाले यसमा प्रकाशको काम गरिरहेको छ । सिद्धान्तप्रति नेतृत्व इमानदार नहुनु समस्याको मुख्य कारण हो ।”
उहाँले चुनावमा भाग लिएर जनताको सेवा गर्ने नेमकिपाको नीति नेपाली कम्युनिस्ट आन्दोलनमा एक देन नै हो भन्नुभयो ।
भक्तपुर नगरपालिकाले स्थानीय जनताको जीवनस्तर उठाउन गरेका प्रयासहरूबारे उहाँले विस्तृत चर्चा गर्नुभएको थियो ।
दुईदिने बैठकमा युक्रेन सङ्कट, श्रीलङ्का सङ्कट, भक्तपुर नगरपालिकामा काम गर्दाको अनुभव र विद्यार्थी राजनीतिबारे नेक्रायुसङ्घका पूर्वअध्यक्ष प्रकाश थुसा, नेक्रामजदुरसङ्घका अध्यक्ष राजेन्द्र चवाल, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी र नेक्राविसङ्घका पूर्वअध्यक्ष रवीन्द्र ज्याख्वले प्रशिक्षण दिनुभएको थियो ।
बैठकले गत चार महिनाका नेक्राविसङ्घका गतिविधिहरूको समीक्षा गर्दै आगामी चौमासिकको लागि कार्यक्रम तय गरेको छ ।
बैठकमा हरिबहादुर श्रेष्ठ लिखित ‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी’ को समूहगत अन्तरक्रिया पनि सञ्चालन गरिएको थियो । टोली नेताहरूले साङ्गठनिक जीवन र कम्युनिस्ट अनुशासनसँग सम्बन्धित विविध पक्षहरूबारे आ–आफ्ना बुझाइ र भोगाइहरू राख्नुभएको थियो ।
बैठक सङ्घका अध्यक्ष प्रकाश गुरुङको अध्यक्षता र सचिव दिनेश खड्गीको सञ्चालनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *