भर्खरै :

प्रतिनिधिसभाको बैठकमा गणपूरक सङ्ख्या पुगेन

प्रतिनिधिसभाको बैठकमा गणपूरक सङ्ख्या पुगेन

काठमाडौँ, २५ साउन । प्रतिनिधिसभाको ५३ औँ बैठक बुधबार अपराह्न १ बजे सुरु भयो । सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक निर्णयार्थ प्रस्तुत हुनुअगाडि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या यकिन गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
सभामुख अग्नि सापकोटाले तीन मिनेट जनाउ घण्टी बजाउन लगाई सङ्ख्या यकिन गर्दा २७५ सांसदमध्ये ६९ जनाको उपस्थित हुनुपर्नेमा ६६ मात्र भएकोले बैठक साउन २९ गते बिहान ११ बजे बस्ने गरी स्थगित गर्नुभयो ।
यसअघि सांसद सुवालले खानेपानी विधेयक निर्णयार्थ पेश हुँदा गणपुरक सङ्ख्या यकिन गर्न सभामुख सापकोटाको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसबेला सांसदहरूको उपस्थिति ६९ जना भए पनि बैठक अघि बढेको थियो ।
सांसद सुवालले एक महिनायता गणपूरक सङ्ख्याबारे सभामुखको ध्यानाकर्षण गराउँदा तीनपटक सङ्ख्या नपुगेको रेकर्ड भयो ।

आवास क्षेत्रमा ठूला गाडी किन ?
बुधबारको प्रतिनिधिसभाको शून्य समयमा सांसद प्रेम सुवालले जनतालाई धोका हुन नदिन निर्वाचनमा गठबन्धन गर्ने दलहरूलाई एउटै घोषणापत्र जारी गराउनुपर्ने र निर्वाचन चिह्न पनि एउटै पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद सुवालले काठमाडौँ उपत्यकाका आवास क्षेत्रका जनताको सुरक्षाको लागि १२–१४ पाङ्ग्राको भारी गाडीहरू चलाउन निषेध गर्नुपर्ने उल्लेख गर्दै सरकारी कार्यालयमा बिचौलियाको बिगबिगी भएको र नागरिकहरूले सेवा लिन घुस खुवाउनैपर्ने जनगुनासोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पश्चिम सेती जलविद्युत् सरकारकै लगानीमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै सांसद सुवालले सो जलविद्युत् भारतीय कम्पनी एनएचपीएस (NHPS) लाई दिइएको अविलम्ब खारेज गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवालले सूर्यविनायक नपामा सञ्चालित काठमाडौँ वल्ड स्कूलले स्थानीय सार्वजनिक वन र पर्ती जग्गा मिचेको स्थानीय जनताको गुनासो भएको हुँदा तत्काल अतिक्रमित जग्गा सार्वजनिक गर्न सरकारको ध्यानार्कषण गराउनुभयो ।
त्यसपछि बसेको बैठकमा शपथ विधेयक र तथ्याङ्क विधेयक पनि पारित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *