भर्खरै :

सन्दर्भ : फिडेल क्यास्ट्रो जन्म दिवस (अगस्ट– १२) / फिडेल एक विश्व क्रान्तिकारी

  • श्रावण २६, २०७९
  • सेर्गोई अलेक्सान्द्रो गोमेज
  • विचार विशेष

कोही पनि मानिसको विषयमा जति उसका समर्थकहरूबाट जान्न सक्छौँ, त्यत्ति नै धेरै कुरा हामी उसका विरोधीहरूबाट पनि थाहा पाउन सक्छौं । संरा अमेरिकामा निक्सन राष्ट्रपति हुँदा विदेशसचिव रहेका हेनरी किसिङ्गरले आफ्नो आत्मसंस्मरणमा फिडेल क्यास्ट्रोको विषयमा ‘आफ्नो समयका सबभन्दा पवित्र क्रान्तिकारी नेता’ भनी व्याख्या गरेका छन् ।
संरा अमेरिकाका पूर्व विदेशसचिव तथा धेरै अमेरिकी राष्ट्रपतिका विदेश मामिलासम्बन्धी सल्लाहकार किसिङ्गरले सन् १९७५ मा अमेरिकालाई जिल्ल पारेर अङ्गोलाको स्वाधीनता आन्दोलनलाई क्युवाले गरेको सहयोगको सन्दर्भमा क्यास्ट्रोबारे सो धारणा लेखेका हुन् । शीतयुद्धको समय थियो । शीतयुद्धकालीन भूराजनीतिका कारण तत्कालीन सोभियत सङ्घ अफ्रिकामा प्रत्यक्ष हात राख्ने पक्षमा थिएन । संरा अमेरिका दक्षिण अफ्रिकाको रङ्गभेदी शासनको खुलेर समर्थनमा हिँडेको थियो ।
त्यस अवस्थामा अङ्गोलाको मुक्ति युद्धमा सामेल भएर फिडेल क्यास्ट्रोले सन् १९५९ जनवरी १ मा विजय हासिल गरेको क्युवाली क्रान्ति सिद्धान्तमा आधारित भएको क्रान्ति हो भनेर संसारसामु देखाए । उनले त्यस परिस्थितिमा क्युवा कसैको पिछलग्गु देश नभएको प्रमाणित गरे अफ्रिकामा लडेका बहादुर क्युवाली सिपाहीहरू र फिडेल स्वयम्को नेतृत्वले अफ्रिकी महादेशको इतिहासको दिशा नै परिवर्तन गरिदियो । रङ्गभेदको अन्त्य गरिदियो । यो कुरा स्वयम् नेल्सन मण्डेलाले सार्वजनिक रुपमा बोलेका छन् ।
दक्षिणी गोलाद्र्धको एउटा सानो देशले आफ्नो महादेशभन्दा बाहिर सिपाही पठाएको यो पहिलोपटक थियो । धेरैको आश्चर्यको सीमा त्यत्तिबेला भत्कियो जब त्यहाँ क्युवाली सिपाहीहरूले उत्साहजनक विजय हासिल गरे । जब कुनै पनि देश न्यायको आदर्श पछ्याएर मैदानमा उत्रन्छ भने त्यो देश सानै देश भएर पनि विश्व शक्तिलाई समेत पराजित गर्न सक्दछ, क्युवा यो सत्यको उदाहरण बन्यो ।
अरू धेरैले असम्भव ठानेका धेरै कुरा क्युवाले गरेर देखाइदियो । संरा अमेरिकाभन्दा ९० माइल पर क्युवाले समाजवादी क्रान्ति अगाडि बढायो । त्यसैकारण आधा शताब्दीसम्म वाशिङ्टनले क्युवाली टापुलाई विभिन्न तरिकाले सजाय दिने काम गरिरह्यो ।
सियरा माइस्त्राका पहाडमा बाटिस्टाको तानाशाहीविरुद्ध लडाइँ गर्दै गर्दा नै क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोले आफ्नो लडाइँ अन्ततः साम्राज्यवादविरुद्ध हुने अनुमान गरेका थिए । तर फिडेलको विश्वभरि फैलिएको विरासतको आधार बनेको यो साम्राज्यवादविरोधी सङ्घर्ष कुनै सरकार वा देशविरुद्धको निम्छरो द्वन्द्वमात्र भने थिएन ।
यो एउटा संसारभरि जरा गाडेर बसेको अवधारणाविरुद्धको सङ्घर्ष थियो ः ‘संसारमा दुई थरी कानुन, दुई थरी नियम, दुई थरी तर्क भएजस्तो देखापर्छ, एकथरी संरा अमेरिकाको निम्ति र अर्कोथरी अरू बाँकी देशहरूको निम्ति । तर मैले संसारभरि संरा अमेरिकाको जगजगीलाई कहिल्यै स्वीकारिनँ निःसन्देह यही मेरो आदर्श हो ।’, सन् १९७८ मा क्युवा र संरा अमेरिकाबीच सम्बन्ध सुधारको प्रयास गर्न हवाना आएको कार्टर सरकारको प्रतिनिधिहरूसँग कुराकानी गर्दै क्यास्ट्रोले भनेका थिए ।
शक्तिशालीहरूको सधै विपक्षमा र विश्वको कुञ्जिएको हिस्साको पक्षमा उठ्ने क्यास्ट्रोका आवाज महादेशका समथर भूमि, जङ्गल र पहाडहरू र सबैतिर गुञ्जियो ।
क्युवाली क्रान्ति र फिडेलका विचारले प्रगतिशील संसारको आशा गर्ने सबै जनतालाई उत्साहित बनायो । संसारका शक्तिशालीहरूले अपराजयीको रुपमा प्रस्तुत गर्न प्रयास गरेका अन्तर्विरोधहरूलाई सुल्झाउन चाहने सबैको निम्ति त्यो ऐतिहासिक घटनाले उत्साहको सञ्चार ग¥यो ।
पूर्वी युरोपमा एकपछि अर्को समाजवादी देशहरूमा समाजवादी व्यवस्था ढल्दै गरेपछि सबै कुराको अन्त्य भएको भान भएको थियो धेरै मानिसहरूलाई । तर, त्यस्तो अवस्थामा सन् १९५९ मा एउटा बत्ती बल्यो र त्यो बत्ती दिनानुदिन चहकिलो बन्दै गयो । इतिहासकै सबभन्दा कठीनतम मोडमा मानव जातिका समस्या समाधान गर्न समाजवादको रक्षा गर्न सफल हुनुले फिडेल अब्बल क्रान्तिकारीहरूको नाममा समावेश हुँदै गए उनलाई त्यो ऐतिहासिक क्षणको व्याख्या गर्न राम्रोसँग आउँथ्यो ।
तर, क्युवाली क्रान्ति कुनै कोरा सिद्धान्त बोकेर कहिल्यै हिँडेन । हाम्रो महादेशभरिका तानाशाहीहरूविरुद्ध लड्दै गर्दा क्युवाली हतियार र स्रोतले जसरी गुरिल्लाहरूलाई सहयोग पु¥याएको थियो, त्यसरी नै सशस्त्र क्रान्तिको अन्त्यपश्चात् कुन तरिकाले हिँड्नुपर्दछ र राजनीतिक रुपान्तरणलाई कसरी हाँक्नुपर्दछ भन्ने कुराको ज्ञान सियरा माइस्त्राका गुरिल्ला फिडेललाई राम्रो थाहा थियो ।
फिडेलले आफ्नो जीवनकालमा ल्याटिन अमेरिकाका धेरै पुस्ताका क्रान्तिकारीसँग काम गरे । कति आए अनि कति गए धेरै मित्रहरूलाई सहयोगको हात बढाउने सौभाग्य फिडेललाई प्राप्त भयो । यो क्षेत्रका धेरै बहादुर नेताहरूमध्ये दुईजनाको मात्र नाम लिनुपर्दा चिलीका साल्भाडोर एयेण्डेदेखि भेनेजुयलाका हयुगो चाभेजसम्मलाई फिडेलले सहयोग गर्ने मौका पाए ।
‘मेरो लागि फिडेल मेरा पिता, मेरा कामरेड, मेरो कहिल्यै विफल नहुने रणनीतिका योजनाकार हुनुहुन्छ’, सन् २००५ मा ग्रान्मा पत्रिकालाई दिएको अन्तर्वार्तामा ह्युगो चाभेजले भनेका थिए । सन् १९९४ मा भर्खरै कारागार मुक्त भएका लेफ्टिनेन्ट कर्णेल वाजलाई स्वागत गर्न तत्कालीन क्युवाली राष्ट्रपति फिडेल स्वयम् हवानाको विमानस्थलमा पुगेका थिए । त्यो नै दुई नेताबीचको पहिलो भेट थियो ।
सन् १९९९ मा भएको राष्ट्रपति निर्वाचनमा चाभेज विजय भए ल्याटिन अमेरिका र क्यारिवियाली क्षेत्रको लागि चाभेजको यो विजय साँच्चै नयाँ युगको आरम्भ साबित भयो । त्यो युगका नायकहरू ते मोरालेसदेखि राफेल कोरेयासम्मले यो प्रक्रिया फिडेलको नेतृत्वबिना सम्भव हुने थिएन भनेका छन् ।
विगतमा आफूले गुमाउनु परेका उपलब्धिहरू फेरि हत्याउन अहिले दक्षिणपन्थी शक्तिहरूले भगीरथ प्रयास गरिरहेका छन् । तर, विगत दुई सय वर्षको इतिहासमा कहिल्यै नभएको जस्तो बलियो एकता यो समयमा देखियो । सन् २०१० मा बनेको ल्याटिन अमेरिका र क्यारिबियाली समुदाय यो एकताको उदाहरण हो ।
सन् १९९३ मा साओ पाउलोमा बसेको एक बैठकमा क्युवाली नेता क्यास्ट्रोले आफ्ना वामपन्थी साथीहरूबीच भनेका थिए, “एकता विस्तार गर्ने सचेतताबाहेक हामीले के गर्न सक्छौँ ? ल्याटिन अमेरिकी वामपन्थीहरूले के गर्न सक्छौँ ? वामपन्थीहरूको झण्डामा एकताको कुरा लेखिनुपर्दछ । त्यसमा समाजवादको कुरा भए पनि वा नभए पनि ।”
फिडेलको अथक क्रान्तिकारी गतिविधिबाहेक उनका मानवतावादी विचारले मानव जातिले सामना गरिरहेका प्रमुख चुनौतीहरू– जलवायु परिवर्तनदेखि आणविक हतियारले संसारमा निम्त्याउन सक्ने विनाशको सम्भावनाबारे दिशानिर्देश गरिरहेको छ ।
वास्तविक विश्व इतिहासका पृष्ठहरूमा यो सानो क्यारिबियाली टापुको नामाङ्कन गरेका फिडेल क्यास्ट्रोबारे चर्चा नगरी २० औँ र २१ औँ शताब्दीको समीक्षा गर्न सम्भव छैन । संसारका मानिसहरू यो कुरामा विश्वास गर्छन् ।
स्रोत : ग्रान्मा इन्टरनेसनल
प्रस्तुति : नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *