कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
सत्तासीन र ठूला दलका नेताहरू सिद्धान्त र विचारको कुरा गर्दैनन्, जनतालाई सचेत र सङ्गठित गर्दैनन् । जनता राजनीतिक र वैचारिकरूपले सचेत नभएसम्म ठूला दलका नेताहरूले मीठामीठा भाषण गरेर, छल गरेर, लोभलालच गरेर छकाइ रहन पाउँछन् र आफ्नो पक्षमा मतदान गराइरहने अवसर पाउँछन् । त्यसो होइन भने हरेक राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले जनतालाई विचार, सिद्धान्त, निष्ठा, आदर्श र व्यवहारिक कुरा बताएर सुसूचित गरिरहनुपर्ने हो । तर, त्यो भइरहेको छैन । दलले नेता तथा कार्यकर्तालाई सिद्धान्तनिष्ठ बनाएर उनीहरूमार्फत सुसूचित बनाइनुपर्ने हो । बहुमत जनता राजनीतिकरूपले सचेत नभएकै कारण देशविरोधी दूरगामी असर पार्ने देशघाती एमसीसी सम्झौता गर्ने र नागरिकता विधेयक पारित गर्ने दलका उम्मेदवारहरूलाई नै जनताले निर्वाचित गरिरहेका छन् ।
अझै कति जनता मीठा मीठा भाषणमा भुल्छन् । लोभलालचमा फस्छन् । पैसा र सामान पाएपछि त हुरुक्कै हुन्छन् । भोज खुवाउने दलका उम्मेदवारलाई भोट हाल्ने ठोकुवा गर्छन् । किन ? कारण हो, सांस्कृतिक स्तर र राजनीतिक चेतनाको कमी । सोझासिधा जनता नेताहरूले गरेका छलछामको चाल पाउँदैनन् । आम जनतालाई बुझाउन अझै समय लाग्छ । जनताले नबुझेसम्म सत्तासीन र ठूला दलका नेताहरूले फाइदा लिइरहन्छन् । त्यसैले तिनीहरू जनतालाई सुझबुझ बनाउँदैनन् । यो सत्तासीन र ठूला राजनीतिक दलहरूको जालसाजी नै हो । ती दलका नेताहरू नागरिकलाई कर्मशील बनाउँदैनन्, जागरुक बनाउँदैनन्, इमानदारीपूर्वक र निःस्वार्थपूर्वक सेवा गर्नुपर्ने कुरा बताउँदैनन् ।
ठूला दलका नेताहरू नै स्वार्थी छन्, दास मनोवृत्तिका छन्, छली छन्, मुलुकको हितभन्दा व्यक्तिगत स्वार्थ र सत्तालोलुपतामा फसिरहेका छन् भने उनीहरूले कार्यकर्ता र जनतालाई नागरिक शिक्षा दिएर सचेत पार्दैनन् । तर, यस्तो आरोप सबै दललाई लागु हुँदैन । सबै दल सिद्धान्त र विचार छोडेर व्यक्तिगत र दलगत स्वार्थमा लागेका छैनन् । सबै दललाई त्यही दृष्टिले हेर्नु मनासिब हुँदैन । निर्वाचनमा जिते पनि हारे पनि इमानदारीपूर्वक देश र जनताको सेवा गरिरहेका दलका नेता, सांसद, कार्यकर्ता र जनप्रतिनिधिहरू छन् । सत्ताको राजनीति नगर्ने, भ्रष्टाचार र कमिसनको राजनीति गर्ने दलका नेता कार्यकर्ताहरू छन् । हो, देशको लागि त्यस्तैखाले दल र दलका नेता तथा कार्यकर्ताको खाँचो छ । यस्तो जिम्मेवारी नेमकिपाले बहन गरिरहेको छ ।
Leave a Reply