भर्खरै :

शासक दल र नेताहरूको हविगत

शासक दल र नेताहरूको हविगत

काठमाडौँ, २७ साउन । क्रान्ति गर्ने, समाजमा सामान्य सुधार ल्याउने र सरकारमात्रै परिवर्तन गर्नेजस्ता फरक फरक उद्देश्यका साथ निश्चित दर्शन लिई राजनीतिक दलहरू देखिएका छन् । माक्र्स–एँगेल्स, लेनिन र स्तालिनले व्यापक परिवर्तन गर्न दर्शन र उद्देश्य अगाडि सारे । ती नेताहरूले मुख्य मुख्य उत्पादनका साधन र सेवालाई निजी स्वामित्वबाट सार्वजनिक स्वामित्वमा फेरी समाजमा एक वर्गविहीन समाजको निर्माण गर्ने दर्शन र राजनीतिक उद्देश्य अगाडि सारे । त्यसको निम्ति लेनिन र स्तालिनले पीडित वर्गमार्फत सशस्त्र सङ्घर्षको उपायबाट पुँजीवादी व्यवस्थालाई जगैबाट उखेलेर फाले ।
तर, सत्ताबाट फालिएका शोषक वर्गलाई विदेशका शोषक वर्ग र पँुजीवादी सरकारहरू कूटनीतिक उपायबाट हरेक देशको क्रान्तिकारी सिद्धान्त, स्वार्थ र व्यक्तिगत वा गुटगत महत्वाकाङ्क्षालाई चर्काएर पार्टीको एकतालाई भाँजो हाल्छन् । उनीहरू मन्त्रयुद्ध, कूटनीतिक युद्ध, आर्थिक सहयोग वा अन्य जातीय, धार्मिक र सामाजिक मतभेद बढाउने कुकृत्यहरूको सहारा लिँदै स्थानीय राज्य र पार्टी नेताहरूको हत्या र हिंसासमेत गराउँछन् । पार्टी नेतृत्वदेखि वर्गीय र पेशागत सङ्गठनसम्मको नेतृत्व पङ्क्ति देश, जनता र पार्टी सिद्धान्तप्रति समर्पित नभएका वर्ग शत्रु र साम्राज्यवादी शक्तिहरूको षड्यन्त्रमा लागेका हुन्छन् ।
सोभियत कम्युनिस्ट पार्टीभित्रको त्रोत्स्की, कामेनेभ , जिनोभियेभ, बुखारिन र मेन्सेविकहरूको विरोध र षड्यन्त्र यसका उदाहरण हुन् । उल्लिखित नेताहरू व्यक्तिगतरूपले पनि क्रान्तिविरोधी थिए र देशी तथा विदेशी शत्रुहरूबाट सञ्चालित भएको कुरा ‘गुप्त दस्तावेज’ र अन्य नयाँ नयाँ साहित्यबाट उदाङ्गिएको छ ।
नेपालको कम्युनिस्ट आन्दोलनको सुरुदेखि आजसम्मको सङ्घर्षमा देशी र विदेशी वर्ग शत्रुहरूको हात रहेको छ । डा. केशरजङ्ग रायमाझीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी पुग्नु, पुष्पलाललाई भारतमा पु¥याउनु, पछि पीएल समूहलाई एमाले समूहमा पु¥याउनु, ‘माओवादी’ दल स्थापना र त्यसको ‘जनयुद्ध’, पातलो मसाल र मोटो मशाल र जनमोर्चादेखि बाबुरामसम्मको पार्टीहरूको स्थापना र विघटनले त्यही नियति भोगेका छन् ।
‘पार्टी खोल्न उचाल्नेले नै छाडे भट्टराईको साथ’ को अर्थ यही हो । (‘नागरिक’ २६, साउन २०७९)
डा. माझीबाट मानन्धर समूह र अन्य टुक्रिँदै जानु, मशालहरूबाट ‘माओवादी’ जन्मिनु, ‘माओवादी’ बाट वैद्य, विप्लव र अन्य समूह बन्नु, जुम्ला, हुम्ला, कालीकोट, दैलेख, भेरी र कर्णाली अञ्चलका सङ्गठनमा विश्रृङ्खलता देखापर्नु स्वाभाविक नभई देशी र विदेशी वर्ग शत्रुहरूबाटै चलाइएका षड्यन्त्रहरूकै परिणाम हुन् ।
भित्री र बाहिरी शत्रुहरू ‘कम्युनिस्टहरू’ लाई सजिलै समाजवादसम्म पुग्न दिँदैनन् । त्यस्तै एक–डेढसय वर्षभित्र युरोप र एसियाका अनेक ‘समाजवादी’ दलहरू पनि कम्युनिस्ट आन्दोलनको सौता बनेको इतिहासले साबित गर्छ । त्यसलाई चिर्न नै ल्याटिन अमेरिकामा ‘समाजवाद’ को नयाँ स्वरुप देखिँदै छ ।
नेपालको कम्युनिस्ट र समाजवादी आन्दोलनका केही नेताहरू अरुबाट सञ्चालित रहेको माथिका तथ्यहरूबाट पुष्टि हुन्छ । यसकारण, ती दलहरू आ–आफ्नो दलको साँचो मुहार लुकाउन ‘गठबन्धन’ को पर्दा ओढ्दै छन् भन्ने आरोपबारे गम्भीर अध्ययन आवश्यक छ । सम्भवतः केही सत्तासीन दलकै नेताहरू ‘आत्महत्या’ गर्ने परिस्थितिमा पुगेका छन् । दक्षिण कोरिया र जापानमा पनि विदेशी शक्तिहरूकै दबाबमा पूर्वसत्तासीन व्यक्तिहरूले आत्महत्या गरे वा मालिक शक्तिबाटै उनीहरू मारिए ।
देश र प्रदेशबारे
२६ साउन २०७९ को ‘नागरिक’ दैनिकको अघिल्लो पातामै ठूलो अक्षरमा लेखिएको छ – ‘बाढी होइन, सरकार बेइमानी’ । यसको उदाहरण हो – सिंहदरबारमा पुग्नेहरू गाउँ, प्रदेश र जिल्लाबाट माथि पुग्छन् र काठमाडौँमै घर बनाउँछन् अनि गाउँ, जिल्ला, प्रदेश एवं आफ्ना जनताका समस्या भुल्छन् ।
यसकारण, जिल्ला–जिल्लाबाट काठमाडौँमा आएर घर बनाउने उद्देश्य नै राखेर उनीहरू ‘राजनीति’ गर्छन् भन्ने जनताको गुनासो छ । अब सम्पत्ति विवरण होइन, माथिल्ला कर्मचारी, ठेकेदार, धनाढ्यहरू तथा निर्वाचित जनप्रतिनिधिहरू आ–आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा वर्षको कति दिन बस्छन् ? थाहा पाउनुपर्छ ।
अर्को समाचारको शीर्षक छ –‘मधेस प्रदेश : सेटिङमा मौलाउँदै तस्करी ।’
सिंहदरबारले पनि सुनेन
‘मिटरब्याजी साहुकारहरूले उठीबास लगाएका नागरिकका पीडा सिंहदरबारले पनि सुनेन ।’ (‘नयाँ पत्रिका’, २६ साउन २०७९)
थाहा भयो – राजनीतिक दलका नेता र कार्यकर्ताहरू, पालिका र प्रदेश सरकारले पनि समस्या सुनेनन् ।

‘मध्यरातमा मनोहरा बस्तीमा बाढी पसेपछि …’
‘मनोहरा खहरे खोला र बाग्मतीमा आएको बाढीले तीन सय घर–टहरा डुबानमा’
राजधानीमा अव्यवस्थित घरटहराको के नक्सा पास गरेकै हो ? नक्सा पास नगरेको भए किन टहरा बनाउन दिइएको ? जिल्ला–जिल्लामा घर–टहराको सट्टा व्यवस्थित बस्ती बसाली दिएको भए सरकारको अर्थ हुन्थ्यो ।

अहा ! कस्तो राम्रो समाचार !
‘भ्रष्टाचार र अनियमितता रोक्न नसकेको भन्दै …’ ‘सरकारका सचिव र विभागीय प्रमुखलाई अख्तियारको ‘वार्निङ’ । (‘राजधानी’ २६ साउन २०७९)
‘हिजोसम्म सचिव र विभागीय प्रमुखहरू’ भ्रष्टाचारबारे तमासा हेर्दै थिए होलान्, दोष सबै ‘अख्तियार’ मा पुगेको हुनाले यो ‘असन्तुष्टि’ चुलिएको हो ?!
‘गठबन्धनमा जोडिन बालुवाटारमा निवेदन’
‘सत्तारूढको महागठबन्धन कसरत’
के राजनीतिक दलहरू आ–आफ्नै राजनीतिक दर्शन, वर्गीय आधार र एक आदर्श समाज बनाउन स्थापित हुने होइनन् ? के यो म्यानपावर कम्पनी र निर्माण व्यवसायको कम्पनी’ (ठेकेदारी पसल) हो ?
बीपी कोइरालाबाट स्थापित नेपाली काङ्ग्रेसलाई के भएको होला ?! के नेपाली काङ्ग्रेस चिया पसल हो वा ‘प्रजातान्त्रिक समाजवाद’ लाई कार्यान्वयन गर्ने दल ?!
देशमा सबभन्दा बढी पटक शासनको नेतृत्व गर्ने राजनीतिक दल के पहिले पहिले काठमाडौँको भजन पाटीमा गाँजा खाने ‘भजन फल्चा’ हो ?

अराजकताको अर्को उदाहरण
‘मन्त्री र अध्यक्षबीच आरोप–प्रत्यारोप’, ‘मन्त्रालयले सोझो स्पष्टीकरण, अध्यक्षले टेरेनन्’ (‘नेपाल समाचारपत्र’, २६ साउन २०७९)
विषय हो – भूमि व्यवस्था, सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालयले गुठी संस्थानका अध्यक्ष पुण्य भुसाललाई अनियमितताबारे स्पष्टीकरण मागेको ।
भुसालले भने, “कुर्सी जोगाउन चाकडी गर्दिनँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *