भर्खरै :

पुस्तक परिचय / साहित्यिक मासिक ‘जनमत’ सरसरती हेर्दा

पुस्तक परिचय / साहित्यिक मासिक ‘जनमत’ सरसरती हेर्दा

साहित्यका विविध विधाहरू समेट्दै २०७९ असारको अङ्क २९७ पाठकहरूको माझ पुगेको छ । जनमत के भन्छ ? मासिकका प्रधानसम्पादक मोहन दुवाल ‘आर्यघाट’ शीर्षकमा खर्राेरूपमा उत्रेका छन् । अरबौँ रकम बजेट खर्चेर सफाइ अभियान चलाएको बाग्मती ढलमती नै भएर बगिरहेको, किलोको किलो सुन चढाइने पशुपतिनाथको हिसाबकिताब झ्वाम पार्ने ‘बाँदरहरू’ र बाँसमार्फत बालुवामा सुन खोज्दै अप्ठ्यारोमा बाँच्दै गरेका भोगीहरूबारे उनी कवितात्मकरूपमा वर्गीय विभेद प्रस्तुत गर्छन् ।
सैनिक ब्यारेकमा थुनिन पुगेका उपन्यासकार एवम् कथाकार शान्ता श्रेष्ठ ‘जनमत’ मा आफ्नो अनुभूति प्रकाशनको ३० औँ श्रृङ्खला छपाउँदै अमानवीय कष्टकर जीवनको वर्णन मार्मिक ढङ्गले प्रस्तुत गर्छिन् । बाहिरको विभत्सपूर्ण वातावरण र भित्र अन्धकारभित्रको महाअन्धकारले निर्जीव ‘मुढा’ समान बसिरहनुपर्ने बाध्यता आफ्नो स्मरणमा उल्लेख गरेकी छन् ।
नेपाली कवितामा उत्तर आधुनिकतावादको समीक्षा गर्दै समालोचक प्रा. डा. उषा ठाकुरले दुईवटा विश्वयुद्धका भयानक परिणामले उत्तर आधुनिकतावादलाई निम्त्याएको र त्यहीअनुसार परिवर्तनको तीव्र आकाङ्क्षा काव्यमा व्यक्त भएको चर्चा गरेका छन् । उत्तर आधुनिकतावादी काव्यको मुख्य उद्देश्य नै उन्मुक्ति तथा असीम स्वतन्त्रताको चाहना हो अर्थात् पुराना मान्यतालाई फ्याँक्ने प्रयत्न गरेर नवीनतालाई वरण गर्ने हो ।
समयको अन्तरालमा प्रयोगवादी नेपाली कविताहरू युगबोधबाट उत्प्रेरित भएर राजनैतिक, आर्थिक र सामाजिक विसङ्गति एवम् विकृतिप्रति अभिव्यक्ति दिन थालेको, कविताहरूमा व्यङ्गय र विद्रोहका भावना मुखरित हुन थाल्नुका साथै जनचेतना फैलाउन सक्रिय भएको उल्लेख गरिएको छ ।
शोषित, पीडित, आक्रान्त मानवताका लागि नवदिशा दिन लेखिएका नयाँ विचार र सोच बोकेका रचना नै उत्तरआधुनिक नेपाली कविताको सही र उपयोगी पक्ष हुने विषयमा लेखले प्रस्ट पारेको छ ।
यात्रा संस्मरणमा चाहिने प्रमुख तत्व नै स्मृतिमयता हो । यस्ता संस्मरणमा आँखाले देख्नेबित्तिकै मस्तिष्कले त्यसको निरीक्षण गरिहाल्छ । कहिल्यै नदेखेको र नगएको ठाउँमा पाठकलाई सँगै तानी आँखाले देखेका वर्णन समेटिनुले कृतिको गरिमा एवम् लेखनको महिमा बढेको कुरा ‘स्मृतिका नदीहरू’ बारे टिप्पणी गर्दै प्राध्यापक कपिल अज्ञातले चर्चा गरेको पाइन्छ ।
दमौली, तनहुँका गजलकार दिवाकर भट्टराईले आफ्नो गजलमार्फत भुइँमान्छेको अवस्था झल्काउने हरफहरू कोर्छन्,
जब शीतलहर चल्छ, ओत लाग्ने धर्मशाला हो
चिसो लाग्न पहिले जित्न सक्नुपर्छ डरसँग ।
‘मुगुइ’ खण्डकाव्यमा गुञ्जिएको मानवतावादी स्वरको चर्चा गर्दै प्रा. डा. कर्णबहादुर बानियाँले वर्तमान नेपालको सामाजिक यथार्थलाई कथावस्तु बनाएका छन् । साहित्यकार प्रकाश चापागाईँले चितवनको मुगुइ खोला नजिकको ठाउँलाई आधार बनाई उक्त खण्डकाव्य रचना गरेको बताएका छन् । उन्नाइसौँ शताब्दीको पूर्वाद्र्धमा भएका दुई भीषण विश्वयुद्धले संसारलाई तहसनहस पारेको, त्यतिबेलाको नरसंहारले विश्व जगतमा मानवतावादी चेत राम्रै गरी पलाएको कारण विश्वमा मानव अधिकारको चर्चा व्यापकरूपमा हुन थालेको हो । त्यसको परिणामस्वरूप मान्छेलाई पशुसरह व्यवहार गर्ने, धनी र गरिबको बीचमा विभेद गर्ने र जातभातको आधारमा छुवाछूतको भेदभाव गर्ने प्रवृत्ति निरुत्साहित भएर मानव हित र कल्याणको लागि कार्य गर्ने विभिन्न किसिमका सङ्घसंस्थाहरूको स्थापना हुँदै गएको बारे लेखमा विश्लेषण गरिएको छ ।
विकृति एवम् विसङ्तिका विरुद्ध आवाज उठाउने कवि प्रकाश चापागार्इँको काव्यमा मानवतावाद र माक्र्सवादको सुगन्ध पाइने जिकिर गरिएको छ ।
बाल कथा के हो ? र कस्तो हुनुपर्छ बाल कथा ? यो हास्यव्यङ्ग्य लेख हो । रामकुमार पाण्डेको यो लेख कथा लेखनको लागि मार्गनिर्देशनझैँ भएको छ । उनी लेख्छन्, “पढ्दापढ्दै ओठबाट हाँसो फुट्कियोस्, आँखाबाट आँसु बगेको पत्तै नहोस् । पात्रको प्रभावले अनुहार बदलिएको र हातखुट्टा जिउ चलेको देखियोस् । कथा मनमा गडोस् र पछिसम्म सम्झने होस् । पुनरकथन गर्न उपयुक्त बनोस् । कथाबाट चेतना खुलोस् । यसैले मन छुने, मैला धुने, मनपर्ने पाराको कथा नै उत्कृष्ट कथा हो । बालकलाई जीवनमा बानी व्यवहारमा नैतिकता र सद्चरित्रवान बनाउने प्रकारले विचार र व्यवहारमा सुधारको चेतना चम्कियोस् ।”
कथाले प्रगतिशील धार लिनुपर्ने परिचर्चा गर्दै लेख अगाडि बढ्छ । भ्रष्टाचारी परिवारभित्र र बाहिरका सबैलाई घृणा फैलाउने र चेतना जगाउने, फटाहा र निष्कर्मण्य नेतालाई उडाउनेदेखि ढोङ्गीहरूको मुकुण्डो उतार्ने र समाज सुधार र देश विकासमा मद्दत हुने क्रान्तिकारी बाल कथाको पनि खाँचो छ ।
‘जेल दर्शनको ऐतिहासिकता र भावभूमि’ शीर्षकअन्तर्गत समीक्षक टीकाराम उदासीले साहित्यकार एवम् पत्रकार नारायणप्रसाद शर्माको व्यक्तित्वलाई उजिल्याएका छन् । २०१० सालदेखि २०२४ सालसम्म चौध वर्ष सक्रिय राजनीति गरेका माक्र्सवादी चिन्तनबाट प्रभावित शर्माले समाजमा विद्यमान जाति प्रथाका विरुद्धमा नाटकहरू प्रदर्शन गर्दै हिँडेको, गाउँका गरिब किसानहरूका घर–घर पुगेको कारण २०१७ साल जेलमा बन्दी बनाइयो । तीन वर्ष सात महिनाको जेल जीवनलाई साहित्यिक साधनाको केन्द्र बनाइयो । प्रस्तुत जेल दर्शन खण्डकाव्य यही जेल जीवनमै लेखिएको सिर्जना हो । उसको प्रारम्भिक जीवन कतिपय अन्धविश्वास र रुढीयुक्त धार्मिक संस्कारबाट जेलिएको चिन्ताबाट ग्रसित थियो । अध्ययन र अनुभवले उनी सुधारवादी चेतनाबाट प्रभावित भए भने समयक्रममा क्रान्तिकारी चिन्ताले पनि उनलाई अति प्रभावित ग¥यो । सोहीअनुसार उनको समालोचनामा दर्शाइएको छ । उनको जेलभित्र रचिएको भनिएको भाइलाई अर्ती शीर्षकको कविताको अंश :
संसारमा कीर्ति छ धेरै ठूलो
कीर्तिविना बन्दछ जीव लुलो
संसार छोडे पनि हेर क्वै दिन
आउने छ यौटा जनतन्त्रको दिन ।
यसमा उनले उज्यालो भविष्यप्रतिको विश्वासलाई प्रभावकारीरूपमा प्रकट गरेका छन् भनी पुष्टि गर्न लेखक टीकाराम उदासीले कोरेको कविताको अंश हेरौँ :
चाहे म मरुँ यो रातिमै
भोलि बिहानी पख होला
सूर्य किरणले मेरो मुर्दा
निश्चय चम्किएको होला
त्यस्तै काव्यमा कविको वर्ग चेतना, विद्रोह र क्रान्तिका स्वरहरू मुखरित भएको र समाजमा भएको वर्गीय शोषणलाई वर्णन गरिएको छ । ‘जेल दर्शन’ मा एउटा युवा कविभित्र हुर्कँदै गरेको माक्र्सवादी सौन्दर्य चेतना, प्रगतिशील जीवन दृष्टि र परिवर्तनबोधी सुनौलो सपना लोभलाग्दो ढङ्गमा उल्लेख गरिएको छ ।
पनौती भ्रमणको सिलसिलामा रानी महल हेर्न जाँदाको प्रसङ्ग आफ्नो यात्रा संस्मरणमा उठाउँदै लेखक कन्हैया नासननीले ‘मरेको बच्चा रोएको सुनिन्छ’ भन्ने अन्धविश्वासलाई रोचक ढङ्गले प्रस्तुत गरेका छन् । त्यो अन्धविश्वासलाई चिर्ने पाठक वर्गको धोकोलाई भने लेखकले उल्झनमा पारिदिएको प्रतीत हुन्छ । खराब काम गर्ने कथाको लाहुरेलाई कसैले सजाय दिन नपर्ने गरी भिरबाट खसी मरेको देखाइएको छ ।
‘चित्लाङमा चित्त खाइयो’ अर्को नियात्राका लेखक प्रभा बरालले महिला लेखकहरूको साहित्यिक समूह चित्लाङ भ्रमणमा जाँदा भएको साहित्यिक बहसमा मनको कह वर्णन गरेकी छिन् । महिलाहरूले पनि के लेख्लान् भन्ने हीन भावना राख्न नहुने, एकले अर्काको रचना पढिदिने, सच्चाइ दिने सुझाव दिने हो भने महिला लेखकको स्तर पनि कति परिष्कृत हुँदै जाने थियो होला भनी उनी तर्क राख्छिन् । गाडीमा यात्रा गर्दा पिसाबले च्यापेर पिरोलिएकी लेखकले बाटोमा सार्वजनिक शौचालय नहुँदाको तीतो अनुभव पोखेकी छिन् । लेखमा चित्लाङ उपत्यकाको निकै लोभलाग्दो परिवेशको वर्णन छ । स्थानीय तरकारी किनेकी लेखक प्रभा बरालले काठमाडौँमा तरकारीको भाउ आकाशिएको, एक के.जी प्याजको मूल्य बढेर दुईसय पचास पुगेको तुलना गर्न भ्याइन् । यही पीडाले प्याजमा कसरी आत्मनिर्भर हुने भनेर न सरकार तातेको छ न कृषि विज्ञहरू । यति चर्को मूल्यवृद्धिमा उपभोक्ताबाहेक जिम्मेवार निकायमा बसेका सरोकारवालाहरू नबोलेकोमा लेखक उदेक मान्छन् ।
धनमान श्रेष्ठको व्यक्तित्वबारे साभार गरिएको उक्त साहित्यिक मासिकमा देशमा गणतन्त्र आए पनि व्यथितिहरू यथावत भएको बारे हाइकु र लघु कथाहरूले प्रस्ट्याएका छन् । सामाजिक अभियन्ता रत्न उप्रेतीले काभ्रेपलाञ्चोक जिल्लाको तिमाल गाउँपालिकाबारे विस्तृत जानकारी दिएको पाइन्छ ।
डा. दामोदर पुडासैनी ‘किशोर’ सँग सिर्जना दुवाल श्रेष्ठले गरेको पुस्तक वार्तामा लेखिएको छ, “पढ्नु ज्ञान आर्जन गर्नको लागि हो । जीवन र जगत्का रहस्यहरू बुझ्न पनि पढ्न जरुरी छ । पढाइले जीवनलाई जटिलताबाट सरलतातिर मोड्छ र संसारका अनौठा घटना परिघटनाहरू आत्मसात गर्न मद्दत गर्दछ ।” अर्को एउटा प्रसङ्गमा उनी भन्छन्, “मनमा कलुषित विचार भएको, कुरीतिमा जकडिएको ढोङ्गी र पाखण्डी स्रष्टाले कहिल्यै पनि समाजअनुकूलको र समाजलाई उज्यालोतिर लैजान सक्तैन ।”
बङ्गला देशका राजनेता मानिएका बङ्गबधु शेख मुजिबुर रहमानद्वारा लिखित ‘जेल डायरी’ लाई महेश पौड्यालले नेपालीमा गरेको अनुवाद साहित्यलाई पनि यस साहित्यिक मासिकले समेटेको छ । उहाँको कारागार जीवनका प्रसङ्गहरूको पहिलो श्रृङ्खलामा कारागारभित्रका विभागहरू (डफ्फाहरू) र तिनीहरूको कार्य क्षेत्रको विवरण अर्थात् श्रमविभाजनबारे वर्णन गरिएको छ ।
मासिकका पछिल्ला पृष्ठहरू राजधानी र मोफसलका प्रतिष्ठित तथा उदीयमान साहित्यिक व्यक्तित्वहरूका रचनाहरू (कविता, गजल र गीतहरू) भरिएका छन् । ती चौध सर्जकहरूले साहित्यानुरागी पाठकहरूको मन उद्वेलित गर्न आफ्नो भावनालाई पद्यात्मक शैलीमा उतारेका छन् ।
जनार्दन खनालले ‘कामना–अर्पण’ कवितामा लेखे –
जनताको मत कदर गर्दै समाजभित्रका
विकृति जति उदाङ्गो पार्न निस्कियो पत्रिका
यसले राम्रो खुराक दिन्छ बनेर दर्पण
यो अग्रगामी सोचले लंकोस कामना अर्पण
कभर पृष्ठमा पन्छीको रङ्गीन आकर्षक तस्बिरले पाठक वर्गलाई लोभ्याएको छ । ‘जनमत’ मासिक प्रकाशनको निरन्तरताको कामना गर्दछु । प्रकाशकलाई साधुवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *