भर्खरै :

गाईजात्रा : नाचगान र व्यङ्ग्य गर्ने जात्रा

गाईजात्रा : नाचगान र व्यङ्ग्य गर्ने जात्रा

गाईजात्रा महोत्सवको दिन दिनभर नै घिन्त्ताङघिसी तथा नाचगान भइरह्यो । यो रमाइलो, मनोरञ्जनात्मक तथा व्यङ्ग्य जात्रा हो । गाईजात्राको एउटा विशेषता व्यङ्ग्य प्रदर्शन गर्नु पनि हो । राणा कालमा शासकको विरोध गर्न पाइँदैनथ्यो । शासकको विरोध गर्न गाईजात्रा कुर्नुपथ्र्यो । अरू बेला शासक वर्गको विरोध भए पक्रिन्थ्यो, थुन्थ्यो र मुद्दा लगाइन्थ्यो । पञ्चायतकालमा पनि यो कायम भयो । पञ्चायतकालमा सरकारले गरेको जनविरोधी तथा मन्त्री, सांसद र पञ्चहरूले गरेको दुःख, जालझेल आदिको विरोध गाईजात्रामा हुन्थ्यो । पञ्चायतकालमा गाईजात्राको बेलामा रोक लगाइन्थ्यो । प्रहरी र गुण्डाहरू लगाएर अवरोध गरिन्थ्यो । तर, सरकारको कमी कमजोरी औँल्याउने, जनविरोधी गतिविधिको विरोध गर्ने या त्यसबारे घोचपेच गर्ने काम भइरह्यो । यो अद्यापि चालु छ ।
गाईजात्रा नाचगानको पर्व पनि हो । यस जात्रामा यहाँका सबै जात्राहरू देखाउनुपर्छ भन्ने मान्यता छ । अरू बेला नदेखाइने जात्राहरू यो पर्वमा निकालिन्छ या टोलको चोकचोकमा देखाइन्छ । यो पनि अद्यापि छ । यो पर्वमा परम्परागत नाचगान र आधुनिक विधाका विभिन्न ख्याल, नाटक, गीत तथा अन्य विधाहरू देखाइन्छ । यी नाचगान तथा विधाहरू बेलुकादेखि देखाइन्छ । यी नाचगान हेर्न स्थानीय टोलवासीहरू झुमिन्छन् । नाचगान तथा आधुनिक विधाहरू देखाउन केही हप्तादेखि आ–आफ्नो स्थानमा तयारी गरिरहेको हुन्छ ।
नाचगाननलाई जीवन्तता दिन या निरन्तरता दिन भक्तपुर नगरपालिकाले पुरस्कार दिने व्यवस्था गरेको छ । यसको लागि नपाले मूल्याङ्कन समिति गठन गरेको छ । मूल्याङ्कन समिति ठाउँ–ठाउँमा बस्नेछ । मूल्याङ्कन समितिले गरेको मूल्याङ्कनकै आधारमा नाचगान तथा प्रस्तुत भएका अन्य विधालाई पुरस्कृत गरिएको हुन्छ । भनपाले पुरस्कारको व्यवस्था गरेपछि नाचगान टोलीलाई धेरै राहत मिलेको छ । पुरस्कारबाट प्राप्त हुने रकमबाट नाचगानको लागि आवश्यक पोशाक, वाद्यवादन र गहनाका सामग्रीहरूको व्यवस्था गर्न सजिलो भएको छ । पुरस्कारको व्यवस्थाले कति लोप भएका नाचगान पनि देखाउन थाल्यो या निरन्तरता दिन थाल्यो । यसले नाचगानको संरक्षण गर्न सहयोग मिल्यो । यो राम्रो कदम हो । नाचगान देखाउन टोल–टोलमा रहेका नाचगान टोलीका नाइके, व्यवस्थापक, संरक्षक, समाजसेवी तथा राजनीतिक कार्यकर्ताहरूको योगदान पनि त्यत्तिकै महत्वपूर्ण छ । सारमा गाईजात्रा सन्देशमूलक, शिक्षामूलक हुनुपर्छ । अश्लील, अपाच्य दृश्य र बोलीमा सुधार्नुपर्छ चाहे नाचगान, घिन्ताङघिसी या अन्य ठट्टा या घोचपेचको विषय किन नहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *