भर्खरै :

नेमकिपा चुनावबाट समाजवाद स्थापना हुनेमा विश्वास गर्दैन

भक्तपुर देशका साना नगरहरूमध्ये एक भएर पनि ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक वस्तु र सम्पदाहरूका कारण अत्यन्त सम्पन्न नगर हो । भक्तपुर नाचगानको राजधानी, सांस्कृतिक नगर र जीवित सङ्ग्रहालयको रूपमा परिचित छ ।
भक्तपुर नगरपालिकामा २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका शत प्रतिशत जनप्रतिनिधिहरू निर्वाचित भयौँ । नेमकिपा नेपालका कम्युनिस्ट पार्टीहरूमध्ये एक हो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) हुनुहुन्छ । उहाँ नेपालका वरिष्ठ कम्युनिस्ट नेताहरूमध्ये एक हुनुहुन्छ । माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई नेमकिपाले मार्गदर्शनको रूपमा लिंदै देशमा समाजवाद स्थापना गर्न कानुनी र गैरकानुनी सङ्घर्षमार्फत अगाडि बढ्दै छ ।
निर्वाचनबाट समाजवाद स्थापना हुनेमा नेमकिपा विश्वास गर्दैन । निर्वाचनमा बहुमत जितेर समाजवाद स्थापना हुने विचार संशोधनवाद हो र संशोधनवाद माक्र्सवादविपरीत पुँजीवादी विचार हो । तर, निर्वाचनलाई समाजवादी क्रान्तिको लागि अगाडि बढ्न नेमकिपाले जनताको हितमा उपयोग गर्दै आएको छ । प्रतिक्रियावादी सङ्घ संस्थाभित्र गएर जनताको हितमा काम गर्ने लेनिनवादी नीतिअनुसार नेमकिपाले विभिन्न तहका निर्वाचनहरूमा भाग लिएर जनताको सेवा गर्दै आएको छ ।
देशको राजनैतिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको नेमकिपाको तर्फबाट सङ्घीय संसदमा पार्टी सचिव प्रेम सुवालले प्रतिनिधित्व गर्दै हुनुहुन्छ भने बाग्मती प्रदेशमा सुरेन्द्रराज गोसाई र सृजना सैँजुले प्रतिनिधित्व गर्दै आउनुभएको छ । पुँजीवादी सरकारमा नगई संसद्मा प्रखर प्रतिपक्षको भूमिका खेल्ने पार्टीको नीतिअनुरूप नेमकिपाका निर्वाचित प्रतिनिधिहरूले संसद् र प्रदेशसभामा काम गर्दै आउनुभएको छ । जनताका हितविपरीतका विधेयकहरूको विरोध गर्ने र जनपक्षीय कानुनलाई अगाडि बढाउने तथा देशघाती एमसीसी र एसपीपीको विषयमा नेमकिपाले विरोध गर्दै त्यसलाई पारित नगराउन सडक र सदनमा निरन्तर आवाज उठाउँदै आएको छ ।
स्थानीय तहको निर्वाचनमा नेमकिपाका जनप्रतिनिधिहरूले विभिन्न जिल्लामा जित हासिल गर्नुभयो । त्यहाँ पनि हाम्रा पार्टीका प्रतिनिधिहरूले जनताको पक्षमा काम गर्दै आउनुभएको छ । शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइजस्ता जनताका आधारभूत विषयहरूलाई नगरपालिकाले जोड दिँदै आएको छ ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ‘सय वर्षपछिको भक्तपुर’ र ‘५० वर्षपछिको नेपाल’ बारे पुस्तक लेख्नुभयो । दुई दशकअघि लेख्नुभएको त्यही पुस्तकलाई आधार बनाई भक्तपुर नपाले काम गर्दै छ ।
नगरपालिकामा नेमकिपाका जनप्रतिनिधिहरूले कामदार वर्गको हितमा निरन्तर काम गर्दै छन् । घरदैलो नर्सिङ सेवा, वडा–वडामा स्वास्थ्य केन्द्र स्थापना, नगरपालिकाको १०० बेडको अस्पताल सञ्चालन गर्दै २०–२५ मिनेटभित्र नागरिकहरूलाई स्वास्थ्य केन्द्र पुग्ने व्यवस्था गरिएको छ ।
कुनै पनि विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट वञ्चित नहोस् भनी रु. ५ लाखसम्मका शैक्षिक ऋण, वार्षिक ३ करोडभन्दा बढी छात्रवृत्ति तथा भूगोल, इतिहास, संस्कृति, राजनीतिशास्त्र र नेपालभाषा पढ्ने नगरवासी विद्यार्थीहरूलाई पीएचडीसम्म पूर्ण छात्रवृत्तिको व्यवस्था नपाले गर्दै आएको छ । वडा–वडामा शिशुस्याहारको सञ्चालन, ७ वटा शैक्षिक संस्थाहरूमार्फत देशभरका ७७ मध्ये ७२ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थी अध्ययन अध्यापनको व्यवस्था हामी गर्दै छौँ । ख्वप विश्वविद्यालय सञ्चालन गर्ने तयारी पनि हामी गर्दै छौँ ।
२०७२ सालको भूकम्पले गर्दा यहाँका सयौँ सम्पदाहरू बिग्रे, भत्के । त्यसको पुनःनिर्माण हाम्रो चुनौती थियो । २०७४ सालको निर्वाचनमा हामी निर्वाचित भएपछि द्रुतगतिमा सम्पदा पुनःनिर्माणका कामहरू भए । हालसम्म भूकम्पले भत्केका अधिकांश सम्पदाहरूको पुनःनिर्माण सम्पन्न भइसकेका छन् ।
सरसफाइलाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले स्थानीय जनतालाई नै सचेत पारी घर–घरमै कुहिने र नकुहिने मल अलग–अलग सङ्कलनको व्यवस्था गर्दै छ । कुहिने मलबाट प्राङ्गारिक मल उत्पादन गरी सस्तोमा किसानलाई बिक्री हुँदै आएको छ ।
संविधानको भावनाअनुसार प्रत्येक नागरिकलाई शारीरिक व्यायामको अधिकार प्रदान गर्ने उद्देश्यले टोल–टोलमा खुला व्यायामशाला, हरेक वर्ष अन्तरनगर खेलकुद प्रतियोगिता, अन्तरविद्यालय खेलकुद प्रतियोगितालगायत खेललाई नागरिक जीवनको अभिन्न अङ्गको रूपमा विकास गर्ने नगरपालिकाले सोच राख्दै आएको छ ।
शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, खानेपानी, विकास निर्माणलगायत जनताका आधारभूत आवश्यकता पूरा गर्दै भक्तपुर नगरपालिकाले नेमकिपाको घोषणापत्रलाई आधार बनाई संविधानले कल्पना गरेको समाजवादउन्मुख कार्य गर्दै आएको छ ।
(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मदन भण्डारी एसियाली विद्यालयबाट भक्तपुर नगरपालिकामा अवलोकन भ्रमणमा आएका सहभागी प्रतिनिधिमण्डल टोलीको स्वागतमा आयोजित कार्यक्रममा व्यक्त मन्तव्य– सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *