भर्खरै :

चितवनको निर्वाचनमा पैसाको छेलोखेलो हुने !

चितवनको निर्वाचनमा पैसाको छेलोखेलो हुने !

आगामी मङ्सिर ४ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा चितवन जिल्लाको क्षेत्र नं. ३ बाट आफू उठ्न सक्ने कुरा प्रचण्ड स्वयं फलाक्दै छन् । निर्वाचनको मिति घोषणासँगै तिनका कार्यकर्ता र आसेपासेहरूबाट पनि प्रचण्ड चितवन जिल्लाको क्षेत्र नं. ३ बाटै उठ्ने भनी प्रचार हुन थालेका छन् । प्रचण्ड चितवनबाट निर्वाचन लड्दा पैसाको छेलोखोलो हुनेमा शङ्का छैन । निर्वाचन मिति तय भएसँगै तिनीहरू हौसिएका हुन् । अनगिन्ती क्लव, समूह, धार्मिक एकाइहरू निर्वाचनताका र अन्य समयमा पनि पैसा असुल्नकै निम्ति चलमलाइएको हामी पाउँछौँ । अघिल्ला निर्वाचनहरूमा पनि त्यस्ता समूहहरूसँग भोटको बार्गेनिङ र मोलमोलाइ हुँदै आएको कुरा चितवनका जनता जानकार छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि भरतपुर महानगरको मेयरमा प्रचण्डकी छोरी रेणु दाहाललाई जिताउन करोडौँ पैसाको छेलोखेलो भएको चर्चा नभएको होइन । गठबन्धनको शक्ति र राज्य शक्ति नै होमिएपछि पैसाको छेलोखेलो त हुने नै भयो ।
माओवादीबाट भरतपुरको मेयरमा रेणु दाहाल र प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं.३ बाट प्रचण्ड निर्वाचित भएपश्चात् भरतपुरको मुहार फेरिएको तिनका समर्थकहरू फलाको गर्छन् । सडक बाटोको विकास भएको उनीहरूको दाबी छ । प्रचण्डको प्रभावमा राज्य कोषको बजेट चितवनको भरतपुर केन्द्रित हुनु कुनै नौलो कुरा रहेन । लोभलालची र स्वार्थी मानिसहरूबाट त्यस्तो आशा गर्नु आश्चर्य भएन । सरकारी ढुकुटी आफ्नो निर्वाचनकेन्द्रित गर्दा आसेपासे, कार्यकर्ता, ठेकेदार, गुन्डा, नातागोताको भरणपोषण नै प्रचण्डको पहिलो प्राथमिकतामा रहेको कुरा महानगरको बेथितिले दर्शाउँछ । विगतमा महानगरपालिकाको कार्यालयभित्र आ–आफ्नो मान्छे घुसाउने विषयमा माओवादीबाट निर्वाचित मेयर रेणु दाहाल र काङ्ग्रेसबाट निर्वाचित पार्वती शाह ठकुरीको टकरावले यिनीहरूको राजनीतिक चरित्र छताछुल्ल भएको थियो । अहिले पनि स्थिति उस्तै छ ।
महानगरले निजी कम्पनी र ठेकेदारहरूलाई प्रशय दिएको छ । महानगरको फोहोर उठाउन पनि निजी कम्पनीलाई ठेक्कामा दिएको छ । समयमा फोहोर व्यवस्थापन हुँदैन । सडक बन्नुमात्र विकास देख्ने प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा विद्यालयहरूको स्तरउन्नति, शिक्षामा विकास र स्वास्थ्य सेवा सामान्य जनताको पहुँचमा पु¥याउन सक्नुपर्दछ । काङ्ग्रेसको भरमा चुनाव जित्ने सपना देखेका प्रचण्डले आफ्नो कार्यकर्ता, आसेपासे र काङ्ग्रेसको कार्यकर्तालाई पनि चित्त बुझाउन धेरै करोड रूपैयाँ खर्चिनुपर्ने देखिन्छ । सत्तामा बसेर विकास गर्नुभन्दा पनि धेरै पैसा निर्वाचनताका छेलोखेलो हुने भएकोले तिनका आसेपासेहरू प्रचण्ड चितवन क्षेत्र नं. ३ बाट निर्वाचन लड्नुपर्ने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *