भर्खरै :

आज आफ्नै बारेमा

आज आफ्नै बारमो घोटँु कलम । म अस्ति आइतबार २९ गते साउनदेखि ९५ वर्ष टेकेँ । यसको अर्थ ९४ हिउँद–बर्खा पचाइएछ । यसो सरसरती हेरिल्याउँदा साधारण जस्तो लागे पनि धेरै बाँचिएछ त हो ? मेरो बा ८१ वर्ष बाँच्नु हुँदा दीर्घजीवीजस्तो लाग्थ्यो । अहिले आफै ९५ वर्षमा पो त हिँड्न लागिएछ । कुन पो प्राणीलाई मरिहाल्न मन लाग्छ र ? हो, एकाध आत्महत्याका दुर्घटना भएका छन् । त्यो स्वाभाविक होइन अस्वाभाविक हो, आवेशमा आएर हो । त्यो आवेशको, उत्तेजनाको क्षण छल्न सके मानिस मर्न चाहँदैन, बाँच्न नै चाहन्छ । जो दोहो¥याई, तेह¥याई गरेर आत्महत्या गर्छ त्यो अपवादमात्र हो भन्ने जस्तो लाग्छ । अँ त कुराले बाटो छोडेजस्तो छ । म जन्मेको युग छक्कलाग्दो छ । चेतनाको दृष्टिबाट सा¥है सा¥है पछि परेको । म दुई–तीन वर्षको हुँदा विसं १९८७ सालतिर मान्छेलाई झाडाबान्ता–हैजा रोगी उपचारका लागि अस्पताल नलगेर मृत्युका लागि पशुपति आर्यघाट लैजान्थे । मेरी आमालाई हैजा लागेछ । अस्पताल होइन आर्यघाट लगेछन् । आमा आर्यघाटमै चैट ! म टुहुरो, बा विधूर ! भक्तपुर अस्पताल वा वीर अस्पताल लगेको भए, पानी खान दिएको भए सायद आमा बाँच्नुहुन्थ्यो । आमा मर्नुभयो, हाम्रो परिवारको डुङ्गा, हाम्रो परिवार बिचल्लीमा प¥यो । त्यस्तो त्यस्तो युगमा जन्मेको म ।
आखिर निस्कियो त !
बाले जोगी हुन छोडी दधिकोट बसाइँ सर्ने निर्णय गर्नुभएछ । अब हामी तिथलीबाट दधिकोट बसाइँ स¥यौँ । बाले अर्को बिहे गर्नुभएछ । अब गृहस्थी पुनः जन्म्यो । मलाई लुभू भाषा पाठशालामा भर्ना गर्नुभएछ । म आठ कक्षासम्म लुभूमा पढेँ, बढेँ । काठमाडौँै पढ्न आएँ, पढेँ । तीनधारा पाठशालामा भर्ना नभएको भए पढ्न सक्दिनथेँ । त्यहाँ खान र बस्न निःशुल्क पाइने, पढ्न रानीपोखरी संस्कृति पाठशालामा निःशुल्क नै । तब आचार्यसम्म पढियो । हालखबर दैनिक पत्रिकामा काम गरियो । पत्रकार भइयो । अहिले नेपाली समाजमा वरिष्ठ पत्रकार भन्छन् । यसरी बाँचिएको छ जिन्दगी । गएको शनिबार एउटा पुस्तक प्रकाशित ग¥यो सिमल बुक प्रकाशन संस्थाले । त्यो संस्था र त्यसका प्रमुख कमल ढकाल कृतज्ञताका पात्र भएका छन् । म अहिलेसम्म पनि शरीरले दिएसम्म सक्रिय छु । प्रतिसाता एउटा लेख छाप्छु, एक दिन बिहान ७ बजे ‘रेडियो सगरमाथा’ मा गफ गर्छु । त्यसको तारिफ हुने गर्छ । तारिफको लोभलाग्दो रहेछ । केहीले ती कामको प्रशंसा गरेपछि लोभ पलायो । त्यसपछि ‘मजदुर’ दैनिक पत्रिकामा छापिएका लेखमध्ये ६५ वटा लेख छानेर एउटा रचना छापियो । कलम र अक्षरमा बाँच्ने पत्रकारका लागि यो कृति के के न गरेझैँ लाग्यो । म दङदास भएँ । ९४ वर्षमा पनि पुस्तक ! भन्ने प्रश्न आयो । कति खुसी, कति खुसी म र मेरो बृहद् परिवार । अनि मलाई माया गर्ने मान्छेहरू । म सम्बद्ध सबैसँग कृतज्ञ छु, कृतज्ञता प्रकट गर्छु ।
उपस्थितिबाट दङ्ग ?
नेपालीमा कति राम्रा उखान–टुक्का छन् । मरेर के लानु छ र ? मरेको भोलिपल्ट दुई दिन हुन्छ । छोटा वाक्य सजिलो अर्थ । हो त नि मरेर साँच्चै के पो लानु छ र ? मरेको भोलिपल्ट दुई दिन भइहाल्छ त्यो गरे पनि नगरे पनि यसो भनेर केही नगरी हात बाँधेर बस्नु भन्ने निराशाजनक सन्देश होइन यो । एउटा चिनियाँ लोक कथा लेखौँ ? एकजना चिनियाँ वृद्ध किसान सुन्तलाको विरुवा रोप्दै रहेछन् । एक जना सज्जन त्यही बाटो जाँदै रहेछन् र सोधेछन् । तपाईं उमेर पाको भइसकेको मान्छे । यो रोपेको बोटको सुन्तला खान पाउनुहोला र ? किसानले हाँसी हाँसी उत्तर दिएछन् । मैले खान नपाए पनि छोरा–नातिले त खान पाउँछन् नि ? जसरी हामीभन्दा अघिका मान्छेले रोपिदिएका सुन्तलाको बोटमा हामीले सुन्तला खान पायौँ । त्यो बुद्धिमत्तापूर्ण उत्तरबाट प्रश्नकर्ता प्रसन्न, अति प्रसन्न रे । हो त नि ! अघिल्लो पुस्ताले रोपेबाट मेरो पुस्ताले खायो, मेरो पुस्ताले रोपेबाट पछिल्लो पुस्ताले खान्छ । कति सरल दर्शन एउटा गाउँको चिनियाँ वयोवृद्ध किसानको । म पनि दङ्ग परेँ यो दार्शनिक संवाद पढेर । सो पुस्तक सार्वजनिक गर्ने समारोहमा मैले मभन्दा जेठा दुईजना दाजु फेला पारेँ । डा. गौरीशङ्करलाल दास र वकिलमा पनि वकिल कृष्णप्रसाद भण्डारी । सभापति पनि एउटा विद्यावारिधि डा. गोविन्द सार्की नेपालीलाई भेटेँ । नरहरि आचार्य, दमननाथ ढुङ्गाना, डा. सरोज धित्ताल, सुलोचना मानन्धर, शान्ता मानवी, भुवन ढुङ्गाना कोइरालाजस्ता अरू अनगिन्ती अतिथिहरूको सहभागिताले हामी दङ्ग थियौँ ।
आखिर म लागँे ९५ वर्ष
चोखो मनले गरेका काम चोखै हुन्छन् । मान्छेहरू आज भोलि लम्बेतान भाषण सुन्न चाहँदैनन् । तसर्थ, बोल्ने मान्छे धेरै जना राखिएन । डा. दास, वकिल भण्डारी र पुस्तकका सम्पादक र प्रकाशक भरत कमल अनि म आफूले मात्र छोटा छोटा कुरा राख्यौँ । डा. गोविन्द सार्कीले पनि यो वास्तविकता बुझेकाले ६ मिनेटमा आफ्ना सारगर्भित कुरा राखे । बस, भाषणको लठारो सकियो । खाजा थियो, सबैले मीठो मानेर खानुभयो । समग्रमा उत्तम भो भन्ने प्रतिक्रिया आयो । मभन्दा जेठा पाँच जना खोजेको थिएँ । मेरा पढ्दाका साथी गीर्वाणनाथ अर्जेल, पुरुषोत्तम शमशेर राणा र हिमालयशमशेर राणा अघिल्ला दुई जना ९८ वर्षमा हिडिँरहेका, स्वास्थ्यले दिएनछ । आउन सक्नुभएन । हिमालयशमशेर प्रधानमन्त्री कहाँको निम्तोमा जानु भएर आउन भ्याउनु भएन । यस्तै न हो व्यवहार भनेको । कुनै पनि प्रयास गर्दा परिणाम सकारात्मक निस्कियो भने आयोजकहरू पनि प्रफुल्ल हुन्छन्, नकारात्मक भयो खल्लो हुन्छ । हाम्रो कार्यक्रमलाई कसैले खल्लो भनेन । यसर्थ, पनि सबै प्रसन्न । डा. गोविन्द सार्कीलाई सभापति बनाएकोमा सबैतिरबाट स्यावासी पायौँ हामी आयोजकहरूले । नभन्दै गोविन्दले पनि यो सबै मर्म बुझेछन् र तद्नुरूप नै सङ्क्षेपमा सकेर आफ्नो र विद्यावारिधिको प्रतिष्ठा कायम गरे । सबै जनालाई पुनः सम्मान एवम् हार्दिकता । आखिर म ९५ वर्ष लागेँ !
रु भैरव रिसाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *