भर्खरै :

सबै उस्तै हुन् भन्नु दृष्टिदोष मात्र

सबै उस्तै हुन् भन्नु दृष्टिदोष मात्र

काठमाडौँ, १ भदौ । अहिले पनि कति राजनीति विश्लेषक, लेखक र बुद्धिजीवीहरूमा सबै राजनीतिक दल र राजनीतिकर्मी उस्तै हुन् भनी दोष थोपर्ने बानी छ । शासकहरूको व्यवहारबाट जनता वाक्कदिक्क हुँदैमा देशमा सबै दलहरू काम लाग्दैनन् भन्ने अर्थ बुझ्न गलत नै हुनेछ । सरकारको नेतृत्व गर्ने र दलको नेतृत्व गर्ने र दलको नेतृत्व गर्ने पङ्क्तिले गल्ती गरेपछि, विचार पु¥याएर काम नगरेपछि देशकै ठूलो नोक्सान हुन्छ । सत्तासीन दलका नेताहरूले देश र जनताको हितलाई मुख्य नमान्दा देशले धेरै गुमाइसकेको छ । सरकारले अहिलेसम्म आफ्नो देशको भूमि आफ्नो बनाउन सकिरहेको छैन । कुनै सत्तासीन पार्टी या अन्य कुनै दलका नेताहरूले विराम गरेमा सोको तुरुन्तै आलोचना या विरोध गर्नुपर्छ । सो दलको विरोध नगरी सबै उस्तै हुन् भनी दोषारोपण गर्नु दृष्टिदोष हो । यसबारे राजनीतिक विश्लेषक, लेखक तथा बुद्धिजीविहरू सतर्क हुनुपर्छ ।
राजनीतिक विश्लेषक, लेखक र बुद्धिजीविहरूले सही बोल्नुपर्छ । दलको सिद्धान्त र विचार थाती राखेर देश र जनता भुल्ने दलहरूको पहिचान गरेर जनतामाझ उदाङग्याउनुपर्छ । नेपाल सरकारले युक्रेनको पक्ष या रुसको विरोधमा मतदान गर्दा राजनीतिक विश्लेषक र बुद्धिजीवीहरू कहाँ लुकेर बसे ? यो दलीय व्यवस्थामा दुई जना ‘स्वतन्त्र’ उम्मेदवार जिते भनेर ‘स्वतन्त्र’ पक्षलाई वैकल्पिक शक्तिको रूपमा विश्लेषण गर्नु अर्को दृष्टिदोष हो । दलले गलत व्यक्ति या समाजमा बदनाम व्यक्ति उठाउँदा कति ठाउँमा ‘स्वतन्त्र’ उम्मेदवार जित्नु स्वाभाविक हो । तर, एउटा ‘स्वतन्त्र’ उम्मेदवारले धेरै मत किन पाए ? उनको पछाडि को छन् ? त्यसको लेखाजोखा नगरी ‘स्वतन्त्र’ उम्मेदवारको बढी चर्चा गर्दा त्यो बेठाउँमा पर्छ ।
सत्तासीन दलहरूको कारण जनता निराश हुनु स्वाभाविक हो । तर, हामी राजनीतिक निराशा अन्त्य गर्नुपर्छ । सरकारले स्वरोजगार र उद्यमशीलतालाई किन गतिवान तुल्याउन सकेन ? देशमा किन बेथिति बढ्यो ? त्यसको कारक के हो ? जनतामा किन असन्तुष्टि छायो ?
वितृष्णाको बादल किन मडारियो ? सत्ताधारीको गठबन्धन देश र जनताको हितको लागि होइन भन्दा भन्दै जनताले किन उनी दलका उम्मेदवारलाई भोट दिए ? गठबन्धन सिद्धान्त र विचारको तादात्म्य होइन भन्दा भन्दै किन मत दिन्छन् ? यसबारे राजनीतिक विश्लेषकहरूको सही मत आउनुपर्छ । निर्वाचनमा सत्तासीन दलकै नेता, कार्यकर्ता जित्ने हो भनेर मतदान नगर्ने या ‘नो भोट’ भनेर जनतामा गलत सन्देश छर्नु हुँदैन । मत नहालेपछि झन् इमानदारीपूर्वक राजनीतिक विश्लेषक, लेखक र बुद्धिजीवीहरूको पनि ध्यान जानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *