भर्खरै :

हात्तीपाइले रोग निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर, १ भदौ । भक्तपुर नगरपालिकाका उपप्रमुख एवम् कार्यबाहक प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको आयोजनामा भक्तपुर नगरपालिकास्तरीय हात्तीपाइले रोग निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार भक्तपुर नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि जोशीले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी ७ वटा शैक्षिक संस्थाहरू, ख्वप अस्पताल, जनस्वास्थ्य केन्द्रहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको जानकारी गराउनुभयो । नपाले स्वास्थ्य संस्थाहरूमार्फत नगरवासीहरूलाई विभिन्न रोगहरूबारे सचेत पार्दै यस किसिमका राष्ट्रिय कार्यक्रमहरू सफल बनाउन सहयोग गर्दै आएको उहाँले स्मरण गर्नुभयो ।
कार्यक्रममा अतिथि जोशीले हात्तीपाइलो रोग निवारणको लागि छनौटमा परेका नगरका विद्यालयहरूले लक्षित कक्षा १ र २ का विद्यार्थीहरूको रोग परीक्षणको लागि अभिभावकहरूलाई आवश्यक सचेतना प्रदान गरी आवश्यक सहयोग गरिदिनुहुन उपस्थित विद्यालयका प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।
ख्वप अस्पतालका इन्चार्ज डा. रत्नसुन्दर लासिवाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका विज्ञ रामबालक रायले नेपालमा हात्तीपाइले रोगको अवस्था र अभिमुखीकरण कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र विभिन्न विद्यालयका शिक्षक–शिक्षिकाहरूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *