भर्खरै :

विद्यार्थी सर्टिफिकेटमुखी नभई ज्ञानमुखी हुनुपर्ने

विद्यार्थी सर्टिफिकेटमुखी नभई ज्ञानमुखी हुनुपर्ने

भक्तपुर, १ भदौ । भक्तपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले विद्यार्थी सर्टिफिकेटमुखी नभई ज्ञानमुखी बन्नुपर्ने बताउनुभएको छ ।
आदर्श आजाद माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई बुधबार भएको स्वागत तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले अध्ययन जीवन जिउनको लागि हुनुपर्ने धारणा राख्नुभयो ।
विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका उहाँले पढाइलाई प्रभावकारी बनाउनको लागि शिक्षकले मात्र नभई स्वयम् विद्यार्थीको पनि भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “कम्तिमा पनि कक्षामा आउँदा पढेर आउँ, शिक्षकलाई प्रश्न गरौँ, त्यो हुँदा शिक्षक आफूले पनि पूरा तयारी गरेर आउनेछन्, त्यसले विद्यार्थीलाई नै फाइदा हुन्छ, शिक्षकसँग प्रश्न गर्ने बानी बसालौंँ । प्रश्नले शिक्षकको अल्छीपन घट्छ ।”
कोर्सका किताबमा मात्र ध्यान नदिई बाहिरी ज्ञानका लागि अन्य पुस्तक पनि पढ्न अनुरोध गर्दै अध्यक्ष बिजुक्छेँले त्यसको लागि राम्रो पुस्तकालय बन्दोबस्त गर्नु आवश्यक छ भन्नुभयो ।
विद्यालयका प्राचार्य श्रीकृष्ण किसीले आदर्श आजाद मावि भक्तपुरको उत्कृष्ट विद्यालय भएको बताउँदै विद्यालयको शैक्षिक उपलब्धिबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा विद्यालयका सहायक प्राचार्यद्वय चक्रबहादुर चाकतु र राजेन्द्र कायस्थले शिक्षा विकासको लागि सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
सो अवसरमा विद्यालयले विद्यार्थीलाई कक्षा ११ मा पढाइ हुने पाठ्यपुस्तक पनि वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *