भर्खरै :

राजनीति इमानदारहरूले गर्नुपर्छ

हरेक राजनीतिक दल सिद्धान्त र विचारको आधारमा चल्नुपर्छ भन्ने मान्यता नेपाल मजदुर किसान पार्टीको हो । जित्नेको नाउँमा जो कुनै दलसँग गठबन्धन गर्दा आफ्नो दलको सिद्धान्त र विचार जनतामाझ पुग्दैन । सिद्धान्त र विचारको निम्ति राजनीति गर्नुपर्ने दलले सिद्धान्त र विचार नै जनतामाझ पु¥याउँदैन भने दल हुनु र नहुनुको के अर्थ रह्यो ? निर्वाचन नजिकिएसँगै जहिल्यै सिद्धान्तच्युत दलहरूको हौवा बढी फैलिएको हुन्छ । सिद्धान्त र विचार छोडेर निर्वाचनमा लड्दा मनि, मसल, तस्कर, ठेकेदार, भ्रष्ट, माफिया, कालाबजारिया तथा आपराधिक व्यक्तिहरूको बोलवाला बढ्छ । तिनै व्यक्तिहरूले कालो पैसाको खोलो बगाउँछन् र निर्वाचन आफ्नो हातमा लिने कुत्सित प्रयास गर्छन् । राजनीतिक दलहरूको गतिछाडा गतिविधि या अनियन्त्रित र अराजनीतिक गतिविधि, सिद्धान्तहीन आचरण, तस्कर, भ्रष्टाचारी, माफिया, दलाल, कालाबजारिया कर्तुत गतिविधिले देशमा न्याय, समानता, नैतिकता सबै हराउँछन् र समाज भ्रष्ट, दलाल, ठेकेदार र आपराधिक व्यक्तिहरूको बन्न पुग्छ । त्यस्ता व्यक्तिहरूको नेतृत्वमा चल्ने समाज कस्तो होला ?
सत्तासीन र ठूला नेताहरूले तिनै तस्कर, भ्रष्ट दलालहरूको सहारा लिई पार्टी चलाइरहेका छन् । अनि कसरी देशमा भ्रष्टाचार नियन्त्रण हुन्छ ? भित्रभित्र भ्रष्टाचारीहरूलाई पोसिरहने, भ्रष्टाचारीको पैसा पार्टीमा खेलाइरहने अनि बाहिर म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्न भनेर नेताहरूले फलाकेर के गर्ने ? बाहिर त भ्रष्टाचारको विरोध नगर्ने, भ्रष्टाचार नगर्ने नेता कोही हुन्न जस्तो लाग्छ तर भित्रभित्र तिनीहरू नै भ्रष्टाचार प्रकरणमा मुछिइरहेका हुन्छन् । पुँजीवादी व्यवस्था रहेसम्म यस्ता प्रकारका भ्रष्टाचारजन्य खेलहरू भइरहन्छन् । निर्वाचनमा कुनै दलले योग्य, सक्षम, देशभक्त, देश र जनताप्रति समर्पित उम्मेदवारहरू उठाएन भने देशविराधी, भ्रष्टाचारी, कालाबजारी, कमिसनखोर, विदेशी दलालहरू उम्मेदवार हुनेछन् र उनीहरूनै जित्नेछन् । यसकारण, कुनै पनि दलले इमानदारीपूर्वक राजनीति गरेन भने, इमानदार नेता तथा कार्यकर्ता निर्वाचनमा जितेनन् भने समाजमा आपराधिक व्यक्तिहरूको बोलवाला हुन्छ । यसले समाज सुधार्दैन बरु बिगार्छ र जनतामाझ नराम्रो सन्देश फैलिनेछ ।
नेमकिपाका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) बरोबर भन्नुहुन्छ, “इमानदारहरूले राजनीति गर्नुपर्छ ।” हो, इमानदारीपूर्वक राजनीति गर्ने उम्मेदवारहरूलाई निर्वाचित गर्नुपर्छ । सत्तासीन र ठूला दलका नेताहरू देश र जनताप्रति समर्पित भएर राजनीति गरेका भए, देश र जनताको सेवा गरेका भए राजनीतिमा आपराधिक व्यक्तिहरूले ठाउँ पाउँदैेनथे, उनीहरूको हालीमुहाली हुँदैनथ्यो । अनि पो राजनीति देश र जनताको सेवा गर्न हो भन्ने सन्देश जनतामा जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *