नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
(गत अगस्ट १० मा इतिहासकार रोमिला थापरसँग करण थापरले लिएको यस अन्तर्वार्तामा थापरले नेहरूकालीन भारतदेखि मोदीको भारतसम्मका घटनाक्रमबारे आफ्ना अनुभव र अनुभूति साटेकी छिन् । नरेन्द्र मोदीप्रति इतिहास कठोर हुने इतिहासकार थापरको निष्कर्ष छ । सजिलोका लागि अन्तर्वार्ता अलिकति सम्पादन गरिएको छ । – सम्पादक)
रोमिलाजी सन् १९४७ मा तपाइँ १५ वर्षकी हुनुहुन्थ्यो । त्यतिबेला स्वतन्त्रता भनेर के बुझ्नुभयो ? तपाइँका सपना र अपेक्षाहरू के थिए ?
म र मेरो पुस्तालाई स्वतन्त्रताको विभाजन रेखामा हुर्केको पुस्ता मान्छु । त्यसैले त्यतिबेला धेरै अपेक्षाहरू थिए । केही उमङ्गकारी हुनेछ भन्ने जनअपेक्षा थियो । त्यसले हाम्रो समाज परिवर्तन गर्नेछ र उपनिवेशका प्रजाबाट हामीलाई नयाँ मान्छेमा फेर्नेछ भन्ने थियो । धेरै ठूलो उमङ्ग थियो । जल्दाबल्दा घटनाहरू र त्यसबारे व्यक्तिका विचारहरूले त्यो उमङ्ग जन्माएको थियो ।
म स्कुले जीवनको अन्तिम वर्षमा थिएँ । हाम्रो उमेरका बालबालिकाले छुट्टी हुँदाबित्तिकै गृहकार्य पनि सक्थ्यौँ । तिनताका त्यति धेरै गृहकार्य हुन्नथ्यो । गृहकार्य गरीवरी हामी गान्धीजीको प्रार्थना सभामा जान्थ्यौँ । जेलबाट बाहिर आयो कि उहाँ प्रार्थना सभाहरू चलाउनुहुन्थ्यो । हामी हुत्तिँदै त्यहाँ जान्थ्यौँ र आपसमा कुराकानी गथ्यौँ । उहाँले भनेका कुराहरू बुझेकै हौँ त ? वा, उहाँले के भन्नुभएको हो ? अथवा, त्यसको अर्थ के हो ? आदिबारे हामी छलफल गथ्र्यौँ ।
त्यसपछि विद्यालयमा एउटा भव्य कार्यक्रमको आयोजना भयो । अगस्ट १५ मा भारतको स्वतन्त्रताको उत्सव मनाउने भनियो । त्यसैले विद्यालयमा अभिभावक, शुभचिन्तक, साथीसङ्गी सबैजना भेला हुने बृहद् कार्यक्रम हुने भयो । प्रत्येक कक्षाका अगुवा विद्यार्थीले रुखको बेर्ना रोप्नुपर्ने भयो । साथै, बेलायती झन्डा युनियन ज्याक निकालेर भारतीय झन्डा फहराउनुपर्ने कार्यक्रम थियो । झन्डा फेरेको त्यो क्षण हामी सबैका लागि एकदम भावुकतापूर्ण थियो । त्यसपछि मैले मन्तव्य दिनुपर्ने थियो । म आत्तिएकी थिएँ । के भन्ने होला ? थुप्रै अपरिचित मानिसहरूकहाँ दुई हप्ताजति धाएर “मैले के भन्ने ?” भनेर सोधेँ ।
अनि इतिहास पढाउने मेरा शिक्षकले भन्नुभयो, “हेर, तिमीहरूले यसबारेमा आपसमा धेरै कुरा गरिसक्यौ । तिनको अर्थ थियो, थिएन अर्कै विषय हो । तिमीहरूले जे–जे कुरा गरेका थियौ, उभिएर तिनै कुरा भने पुग्छ ।”
अनि बसेर मैले मेरो छोटो भाषण लेखेँ । त्यसको सिरानमा चल्तीको वड्र्सवर्थको कवितांश थियो, “परमानन्द थियो गोधुलीसम्म बाँच्नुमा, तर तरुण बन्नु आफैमा स्वर्ग थियो ।” हामी तरुण बन्दै छौँ भन्ने हामी सबैले महसुस गर्दै थियौँ । जे नयाँ र रोमाञ्चक हुँदै छ, त्यसको उत्तराधिकारी हामी हौँ र त्यसले हाम्रो जीवनमा परिवर्तन ल्याउँदै छ भन्ने हामीलाई थाहा थियो ।
तरुणी रोमिलाको लागि यसरी नयाँ संसारको ढोका खुल्यो !
हो । नयाँ संसार खुल्दै थियो र हाम्रा अपेक्षाहरू धेरै थिए । हाम्रा नाराहरूको मूल मर्म के थियो ? अहिले आएर सोच्छु, तिनलाई समेट्ने एउटै नारा थियो, “इन्कलाब जिन्दाबाद ! आजादी !” झट्ट हेर्दा यो विरोधाभाषपूर्ण लाग्छ । “आजादी” हाम्रो साझा नारा थियो । यो नारा सबैले लगाउँथे । त्यसमा कुनै अराष्ट्रियता थिएन !!
तर १५ वर्षको उमेरमा तपाइँको मनमा ती नाराको अर्थ विशेष र गहिरो थियो कि ?
थियो नि ! त्यसको अर्थ देशको स्वतन्त्रता र स्वाधीनता मात्र थिएन ।
तर मेरो स्वतन्त्रता पनि थियो !
म जे चाहन्छु, त्यो गर्ने स्वतन्त्रता ।
परिपक्व हुनु थियो ।
हो, परिपक्व हुनु थियो ।
पचहत्तर वर्षअघि तपाइँको परिपक्वताभाव विपरीत भारत एकीकृत देश नरहने विश्वले सोच्दै थियो । हामीकहाँ जातपात, रहनसहन, राष्ट्र, क्षेत्र, भेषभुषा र खानपानका चुनौतीहरू थिए । शङ्का गर्नेहरूलाई ठाउँ नदिने भारतसँग के त्यस्ता सबलता र गुणहरू के थिए ? कसरी भारत ७५ वर्षसम्म एकताबद्ध रह्यो ?
मलाई तीनटा पक्षहरू थिए जस्तो लाग्छ । एउटा, हामी अत्यन्त विविधतायुक्त जनता थियौँ । उदाहरणको लागि विद्यालयमा हामी को–को थियौँ भनेर एक दिन मैले सम्झिने प्रयास गरेँ । यिनीहरूसँग मैले बालसंसार चहारेकी थिएँ । यिनमा लीला भण्डारी थिइन्, उनी खत्री पन्जाबी थिइन् । प्रभा मोइत महाराष्ट्रकी थिइन् । जिया सइद सहरकै एक व्यापारीकी छोरी थिइन् । काती श्रोफ पारसी उद्यमीकी छोरी थिइन् । मारग्रेट कुर्पेल अङ्ग्रेज मूलकी भारतीय थिइन् । उनका बुबा निश्चयन रेलवे सेवामा थिए । गिलियान कोरमेन बेलायती अधिकारीकी छोरी थिइन् । उनका बुबा प्रशासनमा काम गर्थे । खासमा गिलियानले नै मलाई ज्याज संगीतबारे सिकाएकी थिइन् । हाम्रो मित्रमण्डली एकदम विविधतापूर्ण थियो । हामी एकअर्काको घर जान्थ्यौँ, हित्तचित्त मिलेका मानिसहरूझैँ भलाकुसारी गथ्र्याैँ । त्यो भावना बनावटी थिएन ।
के यो भारतको सबलता थियो ? थरीथरीका मानिसहरू पनि घुलमिल हुनसक्छन्, साथी बन्न सक्छन् ?
निश्चय नै ! यिनीहरू मेरा हितैषी थिए र यिनीहरूमध्ये कम्तीमा तीनजनासँग एकाध वर्षअघिसम्म मैले पत्राचार गरिरहेँ ।
त्यसो भए भारतको विविधता यसको कमजोरी नभई सबलता थियो ।
सबलता थियो । मेरो विचारमा त्यतिबेला भारतीय परम्पराबारे हामीमा धेरै गलत धारणाहरू थिए । भारतीय परम्परा एउटै र एकाधिकारपूर्ण छ भन्ठान्थ्यौँ । यही विचार सर्वत्र फैलेको थियो । तर, बहुलता नै बढी प्रभावकारी रहेछ । अहिले बहुलता सामान्य बोलचालको शब्द बनिसकेको छ । तर, हामीले यसलाई सँगै बाँच्ने र चेतनाको बहुलताको अर्थमा परिभाषित गर्नुपर्छ ।
संसारले नबुझेकै यही हो । तिनीहरूले भारत टुक्राटुक्रा हुने अनुमान गरे, तिनीहरूले बहुलता, विविधता र मिश्रण भारतको विभाजन बिन्दु नभई सबलता हो भनी बुझेनन् ।
हो । किनभने सबै अटाउने ठाउँ हुन्छ नै । धर्मकै कुरा गरौँ । धर्म कहिल्यै एकतर्फी रहेन । अनेक धार्मिक आन्दोलनहरूमा विभिन्न पन्थ र सम्प्रदायको देन रहिरह्यो ।
र तिनीहरू सबै खुसीखुसी बाँच्न सक्छन् ?
तिनीहरू मिलेर खुसीखुसी बाँच्लान्, वा दुःखी भई बाँच्लान्, तर त्यो एउटा पन्थ वा सम्प्रदायको तहमा हुन्छ । भारतभरि मानिने एउटै धार्मिक सङ्गठन इतिहासमा पाइन्न ।
त्यसैले पनि त्यसले भारतको एकतालाई धरापमा पारेन । आज नेहरूकालीन भारतलाई दुत्कार्ने र बदनाम गर्ने फेसन चलेको छ । तर यस्तो गर्ने झन्डै ९० प्रतिशत मानिसहरूलाई नेहरूकालीन भारत कस्तो थियो भन्ने नै थाहा छैन । त्यो तपाइँको निर्माणकाल थियो ।
नेहरूकालीन भारतलाई कसरी सम्झिनुहुन्छ ?
सबैभन्दा पहिलो कुरा, प्रयास गरे सबथोक गर्न सकिन्छ भन्ने थियो । हुन त मलाई यो शब्द मन पर्दैन, तर हामी सबै एक अर्थमा ‘अगुवा’ थियौँ । लन्डनमा मैले आफ्नो विद्यावारिधि सक्दाको घटना सम्झिन्छु । म भारत फर्किँदै थिएँ, कसैले मलाई भन्यो, “अब तिमीले दिल्ली विश्वविद्यालयमा नोकरी खोज्ने होला ।” मैले भनेँ, “होइन, म त नयाँ विश्वविद्यालयमा जाने हो ।” “किन नयाँ विश्वविद्यालय जाने ?” मेरो उत्तर थियो, “नयाँ विचारहरू परीक्षण गर्न, इतिहास लेखनको नयाँ बाटो पहिल्याउन ।”
त्यसो भए अगुवा युग हुनु नै नेहरूकालीन भारतको पहिलो विशेषता थियो ?
त्यो अगुवा युग थियो । त्यसैले उहाँले गरेका सबै काममा मान्छेले चासो दिन्छन् । एउटा कुरा, उहाँ स्वाभिमानी राजनेता हुनुहुन्थ्यो । त्यति स्वाभिमानी नेता हामीले कहिल्यै पाएनौँ ।
तपाइँ उहाँको प्रशंसा गर्नुभयो ?
सायद । मलाई कसैको प्रशंसा गर्ने छुट छैन ।
१५ वर्षकी रोमिलालाई नि ?
उहाँ आदर्श हुनुहुन्थ्यो । यसमा शङ्का छैन । उहाँको बेग्लै बान्की थियो, कोटमा गुलाफको कोपिला सिउँरिनुहुन्थ्यो ।
हो र त्योभन्दा पनि उहाँ स्वाभिमानी हुनुहुन्थ्यो । मेरा लागि एक आकर्षक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ अध्ययनशील हुनुहुन्थ्यो । उहाँको लेखनीमा यो कुरा झल्किन्छ । उहाँले आफ्नो आत्मसंस्मरण पनि लेख्नुभएको छ । यसले उहाँलाई मामुली व्यक्तिहरूभन्दा पृथक बनाएको छ । कहिलेकाहीँ मजाकै मजाकमा म भन्ने गर्छु – राजनेताहरूलाई लामो समय जेलमा हाले गतिलो काम गर्छन् किनभने त्यहाँ तिनले लेखपढ गर्ने र अरूसँग संवाद गर्ने मौका पाउँछन् ।
उहाँले बेलायती शासनमा १० वर्ष जेलमा बिताउनुभयो ।
हो नि । र, यो एक हिसाबले ठूलो उपलब्धि थियो ।
त्यसो भए नेहरू १८–२० वर्षकी रोमिला थापरका आदर्श र प्रशंसापात्र हुनुहुन्थ्यो ?
हो । त्यसको एउटा घटना सुनाउँछु । मैले उहाँलाई भेटिन भन्दा हुन्छ । जस्तो गान्धीजीलाई मैले झुलुक्क मात्र देखेकी थिएँ । नेहरूले एकै वाक्य बोल्नुभयो, “गान्धीजी नै हो ।” यतिले मेरो जीवन त फेरिएन । तर, अन्तै मैले उहाँलाई एकचोटि भेटेकी थिएँ । दिल्लीमा एउटा विद्यार्थी सङ्गठन थियो । कार्यक्रमको आयोजक त्यही सङ्गठन थियो । हामी त्यस्तै २८ जनालाई उहाँसँग परिचय गराइएको थियो । हामीले ‘नमस्ते’ भन्यौँ, त्यत्ति हो । त्यसपछि साम्राट अशोकबारे मेरो पुस्तक निस्केपछि कसैले मलाई भन्यो, “इतिहासको त्यो विषयमा उहाँको निकै चाख छ । तिमी किन उहाँलाई पुस्तकको एक प्रति पठाउँदिनौँ ?” मैले भनेँ, “मलाई आफ्ना किताबहरू राजनीतिक नेताहरूलाई पठाउन मन पर्दैन । कुरा के भने तिनीहरूले पढ्नेछैनन् ।” त्यसपछि उत्तर आयो, “हैन, हैन, उहाँ एकदम फरक हुनुहुन्छ ।”
धेरै कर गरेपछि मैले एउटा सानो टिपोटसहित पुस्तकको एक प्रति उहाँलाई पठाएँ, “तपाइँलाई पढ्ने फुर्सद छैन भन्ने मलाई थाहा छ, तर रुचि भए…” अर्को हप्ता मैले उहाँको प्रत्युत्तर पाएँ । त्यसमा लेखिएको थियो, “पुस्तक पठाएकोमा धन्यवाद । मलाई यस विषयमा निकै रुचि छ । तपाइँले एडिक्सलगायत रचनाको अनुवाद पनि गर्नुभएको रहेछ । निकट भविष्यमै मैले त्यो किताब पढ्ने फुर्सद निकाल्नेछु भन्ने आशा छ । पढेँ भने मेरा टिप्पणीहरू पनि लेखी पठाउनेछु । विनित, जवाहरलाल नेहरू ।”
मैले मनमनै सोचेँ, एउटा भर्खरको विद्यार्थी, शिक्षक र भर्खर नोकरी सुरु गरेको व्यक्तिलाई पत्र लेख्ने सौजन्य कुन प्रधानमन्त्रीमा होला र पुस्तक पठाएकोमा धन्यवाद जनाउला ?
अब राजनीतिक नेताहरूतिर लागौँ किनभने भारत अत्यन्त राजनीतिक देश हो । यहाँको बहसमा राजनीतिको दबदबा छ । आजको भारत आफ्नो प्रथम प्रधानमन्त्रीप्रति कत्तिको ऋणी छ ? एउटा लोकतन्त्रको रूपमा बाँच्न र सफल हुन जवाहरलाल नेहरूको देन कति छ ?
म भन्छु, उहाँले हालिदिएको जग वा आधारले नै यहाँसम्म ल्याएको हो । अधिरचनाको कुरा गरेको छुइनँ, कुरा आधारको हो । यसको अर्थ के हो ? उहाँ राष्ट्रवादको परिभाषाबारे चनाखो हुनुहुन्थ्यो । हामी सबैलाई थाहा छ, त्यो भनेको धर्मनिरपेक्ष र प्रजातान्त्रिक हुन्छ र त्यसमा अलिकति राष्ट्रवादी रुझान हुन्छ । त्यो धर्मनिरपेक्ष हुन्छ किनभने उहाँले धर्म राजनीतिको बाटोमा आउनुहुन्न भन्नेमा जोड दिनुभएको थियो । दुवै हुनुपर्छ, धर्म असाधारण चीज हो । धर्म आस्था र विश्वासको कुरा हो । व्यक्तिको मनोविज्ञानको विषय हो । त्यो कदापि राजनीतिमा घुस्नुहुन्न । उहाँ यसमा दृढ हुनुहुन्थ्यो । त्यतिबेला सोमनाथ मन्दिरको पुनः निर्माण हुँदै थियो । पूजा गर्न मानिसहरूको घुइँचो लाग्दै थियो । भारतका राष्ट्रपति राजेन्द्र प्रसादलाई पनि त्यहाँबाट उद्घाटन पूजा गरिदिन निमन्त्रणा आयो ।
र नेहरूले आपत्ति जनाउनुभयो ।
नेहरूले आपत्ति जनाउनुभयो, तर राजेन्द्र प्रसाद जानुभयो । नेहरूको प्रतिक्रिया थियो, “कहिलेकाहीँ लाग्छ, यो देशमा मै मात्र धर्मनिरपेक्ष छु ।”
तैपनि तपाइँ हामी ४०–५० वर्षदेखि धर्मनिरपेक्ष देश रह्यौँ, हामी लोकतान्त्रिक र फरक मतप्रति सहिष्णु रह्यौँ, हामीसँग स्वतन्त्र प्रेस रह्यो भन्नुहुन्छ, र यसमा हामी जवाहरलाल नेहरूप्रति ऋणी छौँ भन्नुहुन्छ ?
हो । प्रजातन्त्रकै उदाहरण हेर्ने हो भने पनि मलाई याद छ, बालिग मताधिकारबारे ठुलो बहस चलेको थियो । बालिग मताधिकार दिनुहुन्न किनभने जनता अशिक्षित छन् वा मानिसहरूसँग पर्याप्त योग्यता छैन भन्नेहरू पनि थिए । र उहाँ टसको मस हुनुभएन । नागरिक आखिर नागरिक हो । त्यसले के भयो ? त्यसले गर्दा खासगरी महिला, दलित, जातिप्रथाबाहिरका अवर्ण तप्का सबैले मतदान गर्ने ढोका खुल्यो ।
गत ७५ वर्षमा नेहरूको चरण महत्वपूर्ण रह्यो । अर्को महत्वपूर्ण चरण सन् ७५–७७ को इन्दिरा गान्धीको आपतकाल रह्यो । त्यो एउटा स्खलन थियो वा भारत राज्यमा अन्तर्निहित अनिवार्य अन्तरविरोध थियो ?
दुवै थिएन भन्छु । किनभने श्रीमति इन्दिरा गान्धी र सञ्जय गान्धीको झुकाव जेसुकै भए पनि आपतकाल अदालती फैसलाको परिणाम थियो । त्यो फैसला कति सङ्गीन थियो भन्ने कुरामा मानिसहरूले पुग्दो ध्यान दिएको मलाई लाग्दैन ।
श्रीमति गान्धीको करियरमा ?
उनको करियर र देशको लोकतन्त्रमा ।
त्यसो भए उनको करियर खतरामा पार्ने फैसलाले नै भारतीय लोकतन्त्रलाई दुई वर्षसम्म पथविचलित बनायो ?
त्यही नै कारण हो चाहिँ भन्दिन । तर, लोकतन्त्र आपतकालमा पथविचलित हुनमा त्यो फैसलाको ठूलो भूमिका छ ।
आफ्नो करियर धरापमा पर्ने ठानेर एक महिलाले भारतको लोकतन्त्रलाई नै अचानोमा राखेर क्षतिपूर्ति गरिन् ।
यो अलि अतिवादी भनाइ भयो । तर, मोटामोटी त्यही भएको हो । मेरो विचारमा यसमा बलियो तत्व छ । धेरैले यो कुरामा पर्याप्त ध्यान दिएका छैनन् ।
के आपतकालले भारतलाई सकसपूर्ण देश बनायो ? मेरो विचारमा उमेरले तपाइँ त्यसबेला ४० को दशकमा हुनुहुन्थ्यो । के हामी सकसपूर्ण देश थियौँ ? के तपाइँले त्यो सकस महसुस गर्नुभयो ?
हो हामी आत्तिएका थियौँ । एउटा किस्सा सुनाउँछु । हामी आत्तिएका थियौँ । उदाहरणको लागि आपतकालको बेला बेलायती पत्रिका ‘द गार्जियन’ ले एक पेजको विज्ञापन छापेको थियो । त्यसमा आपतकाललाई पूर्णतः अलोकतान्त्रिक र अनावश्यक भनेको थियो । त्यसमा बेलायती बुद्धिजीवीहरूले हस्ताक्षर गरेका थिए । भारत सरकारले त्यसको प्रत्युत्तर दिन चाह्यो । ‘विश्वले हामीबारे के सोच्दै छ ?’ भन्ने थियो । त्यसैले तिनीहरूले एउटा उत्तरको खेस्रा गरे । त्यसको एउटा प्रति मैले पाएको सम्झना छ । मैले त्यसमा हस्ताक्षर गर्ने कुरै थिएन । त्यसले गर्दा मेरो जीवनमा धेरै समस्याहरू आए । तैपनि म त्यसका पक्षमा गइन ।
कम्तीमा त्यतिबेला हामी विश्वले हामीबारे के सोच्छ भन्ने सोच्थ्यौँ ।
सोच्थ्यौँ ।
भारतको छवि र हामीले गरिरहेको काममा अरूको प्रशंसा हाम्रा लागि महत्वपूर्ण थियो ।
महत्वपूर्ण थियो ।
यी ७५ वर्षमा तेस्रो चरण मेरो विचारमा नरेन्द्र मोदी र उनको हिन्दुत्व र हिन्दु राष्ट्रवादको उदय हो । के तपाइँ यसलाई अघिल्ला ६५ वर्षमा क्रमभङ्गता मान्नुहुन्छ ? अथवा, यसलाई भारतको आन्तरिक पहिचान प्रस्फुटन मान्नुहुन्छ ?
त्यसो हो भने भारतको आन्तरिक पहिचान परिभाषित गर्नुपर्छ । र यो मेरो बलबुताको कुरा होइन । यो एकदम जटिल छ । तर, जहाँसम्म राष्ट्रवादको कुरा छ, स्वतन्त्रतालगत्तै हाम्रा लागि राष्ट्रवादको अर्थ के थियो ? यसको अर्थ धर्मनिरपेक्षता, प्रजातन्त्र र राष्ट्र–राज्यको अवधारणा थियो । धर्मनिरपेक्षताको अर्थ राजनीतिमा धर्मले हस्तक्षेप नगर्ने भन्ने थियो । धार्मिक सहअस्तित्व थियो । तर, धर्महरूबीच बराबरी हुनुपर्ने थियो । त्यस्तै गरिएको पनि थियो । लोकतन्त्रको अर्थ बालिग मताधिकार थियो । प्रत्येक नागरिकको आवाजको प्रतिनिधित्व हुनुपर्ने थियो ।
र फरक मतप्रतिको सहिष्णुता पनि थियो होला ।
हो ।
विमति राख्ने अधिकार नि ?
विमति राख्ने अधिकार । निश्चय नै असहमत हुने र असहमति जनाउने अधिकार पनि थियो । निर्वाचनमा दलबदलु प्रवृत्ति देखिँदै छ । यो लोकतन्त्र होइन । तपाइँ एउटा पार्टीलाई मत दिनुहुन्छ, एकखाले धारणाहरूको पक्षमा उभिनुहुन्छ, अनि फेरि ती धारणाहरू नमान्ने अर्को पार्टीमा जानुहुन्छ ।
मोदीको हिन्दुत्व र हिन्दु राष्ट्रवादअन्तर्गत गत ६७ वर्षमा स्वीकारिएका आदर्श र परम्पराहरू उल्टिएका छन् भन्नुभए जस्तो लाग्यो ।
हो । स्वतन्त्रताका लागि भएको भारतीय राष्ट्रिय आन्दोलनका मूल्यमान्यता र आदर्शहरू उल्टिएका नै हुन् ।
त्यसो भए यो निरन्तरता नभई क्रमभङ्गता हो ?
यो निरन्तरता होइन, म यसलाई क्रमभङ्गताको रूपमा हेर्छु । र, एउटा ठूलो परिवर्तन हामीले बिर्सनुहुन्न । यहाँ म इतिहासकारको रूपमा बोल्दै छु, स्वतन्त्रताको आगमनसँगै हामी प्रजाबाट फेरिएका थियौँ । बेलायती राजमा हामी प्रजा थियौँ । बेलायतले हामीलाई प्रजा भन्थ्यो, आफ्ना लालाबाला ठान्थ्यो । हामी औपनिवेशिक मुकुटका प्रजा थियौँ । बेलायती मुकुटका प्रजा थियौँ । तर, स्वतन्त्रतापछि हामी स्वतन्त्र भारतका नागरिक बन्यौँ ।
अहिलेको परिवर्तनको अर्थ के हो ? यो निकै ठूलो परिवर्तन हो । हामी यसलाई पूरा बुझ्छौँ जस्तो मलाई लाग्दैन । नागरिक स्वतन्त्र व्यक्ति हो । ऊसँग अधिकार हुन्छ । केको अधिकार ? नागरिकको अधिकार भनेको पानी, खाना, आवास, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय र सामाजिक समानताको अधिकार हो ।
(‘द वायर’ बाट । सम्यक )
Leave a Reply