भर्खरै :

कार्यकर्ताहरू सिद्धान्तनिष्ठ हुनुपर्छ

कार्यकर्ताहरू सिद्धान्तनिष्ठ हुनुपर्छ

हरेक कम्युनिस्ट पार्टीको उद्देश्य देशमा आमूल परिवर्तन गर्नु हो । आमूल परिवर्तन गर्ने उद्देश्यले नै कम्युनिस्ट पार्टी स्थापना भएको हुन्छ । नेपाल मजदुर किसान पार्टीको उद्देश्य पनि देशमा आमूल परिवर्तन ल्याउनु हो । पार्टी सिद्धान्त र विचारको आधारमा चल्नैपर्छ । हरेक नेता तथा कार्यकर्ताहरू सिद्धान्तनिष्ठ हुनुपर्छ । देश र जनताप्रति समर्पित हुनुपर्छ । पार्टी निर्णय मान्नुपर्छ । पार्टी अनुशासनमा बस्नुपर्छ । पार्टी सदस्यहरू व्यक्तिगत लाभमा फस्दैनन् । पार्टी सदस्य कुनै व्यक्तिगत लाभको लोभ देखाएर गर्नु हुँदैन । बरु पार्टीले पार्टीका हरेक नेता तथा कार्यकर्ताहरूलाई वैचारिक एवं व्यवहारिकरूपले सुसूचित पार्नुपर्छ या क्रान्तिकारी बनाउनुपर्छ । समाज परिवर्तनको लागि बहुमत जनता क्रान्तिकारी नभई हुँदैन । क्रान्तिकारीहरूले मात्र समाज परिवर्तन गर्नसक्छन् ।
आमूल परिवर्तन चाहने हरेक राजनीतिक दलमा क्रान्तिकारी कार्यकर्ता आवश्यक हुन्छ । क्रान्तिकारी कार्यकर्ताहरू जति सक्रिय हुन्छन्, जति जनतामाझ पुगेर सुसूचित पार्ने काम गर्छन् त्यति नै छिट्टै समाजमा परिवर्तन हुन्छ । समाजमा अन्धविश्वास र कुरीतिले ठाउँ पाइरहनुको कारण देशमा लामो समयसम्म निरङ्कुश या सामन्ती व्यवस्था कायम रहनु हो । सिद्धान्ततः देशमा राजा नभए पनि सामन्तवाद पूर्णतः अन्त्य भएको छैन । देशका राजनीतिक व्यवस्था पुँजीवादी व्यवस्था हो । यो व्यवस्थाले पनि अन्धविश्वास र कुरीति हटाउन सकेको छैन । पुँजीवादी व्यवस्थाका शासकहरूले राजतन्त्रको विरोध गरे पनि साम्राज्यवाद र विस्तारवादको विरोध गर्न सकेका छैनन् । पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने दल नेकाले पुँजीवादी शासकहरूको साम्राज्यवादी र विस्तारवादी नीतिको विरोध गर्दैन ।
तर विडम्बना ¤ ‘जनयुद्ध’ गरिसकेको माओवादी र आफूलाई समाजवादी भनिएको दलले पनि साम्राज्यवाद र विस्तारवादको विरोध गरेनन्, विरोध गर्ने आँट गरेनन् । यसले प्रस्ट हुन्छ, सत्तामा रहेका कम्युनिस्ट भनिने शासकहरू समाजमा आमूल परिवर्तन चाहँदैनन्, उनीहरू वर्गसङ्घर्ष गर्न चाहँदैनन् । उनीहरू पुँजीवादी व्यवस्थामै रहेर शासन गर्न चाहन्छन् । ती दलका नेताहरू कम्युनिस्टको नाउँमा कम्युनिस्टको सिद्धान्त र विचार नमान्ने नक्कली कम्युनिस्टहरू हुन् । देशमा परिवर्तन चाहने आम जनताले यो कुरा बुझ्नुपर्छ । बहुमत जनताको हितमा राजनीति गर्ने हो र आमूल परिवर्तन गर्ने हो भने सच्चा कम्युनिस्टमा लाग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *