भर्खरै :

ठूला अस्पतालहरूमा गरिबको उपचार नहुने

ठूला अस्पतालहरूमा गरिबको उपचार नहुने

हरि चेपाङ हस्याङफस्याङ गर्दै साउन ३० गते दुई वर्षको बिरामी बच्चालाई साथमा लिएर भरतपुर सरकारी अस्पताल पुग्नुभयो । अस्पतालले बच्चालाई यहाँ उपचार हुनसक्दैन भनी नजिकैको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल) कलेज लानु भनेर रिफर गर्यो । पुरानो मेडिकल कलेजको आकस्मिक कक्षमा जचाउँदा बच्चालाई अस्पतालको आईसीयूमा राखेर उपचार गर्नुपर्ने बताए । त्यसैअनुसार हरिले बच्चालाई अस्पतालको पीआईसीयूमा भर्ना गर्नुभयो । आईसीयूमा भर्ना गरेर उपचार गर्न पाउँदा नपाउँदै उहाँले तत्कालै भर्ना रद्द गरेर बच्चालाई अस्पतालबाट निकाल्नुपर्ने अवस्था आइपर्यो ।
भरतपुर सरकारी अस्पताल उपचार गर्न जाने हो भनी गाउँबाट हरिले थोरै पैसा ल्याएका थिए । तर, बिरामी बच्चालाई मेडिकल कलेजको आकस्मिक कक्षमा देखाउँदामा नै उहाँको साथमा भएको पैसा सकिसकेको थियोे । पहिलोपटक बिरामी लिएर अस्पताल पुग्नुभएका उहाँ आफूसँग भएको पच्चीस हजार रूपैयाँ इमर्जेन्सी चेकजाँचमै सकिएपछि छाँगाबाट खसेझैँ हुनुभयो । हरि चेपाङ सुनाउनुहुन्छ, “गाउँमा काका ठूलबुबाहरूले बच्चालाई उपचार गराउन काठमाडौँ कान्ति बाल अस्पताल लिएर जानुहोला भन्नुभएको थियो । भरतपुर सरकारी अस्पतालमा पनि राम्रै उपचार हुन्छ भन्ने सुनेकोले भरतपुर लिएर आएँ । भरतपुर अस्पतालमा बच्चालाई देखाउँदा यहाँ उपचार हुनसक्दैन मेडिकल कलेज लानु भन्यो । मेडिकल कलेजमा त धेरै महँगो रहेछ । साथमा ल्याएको पैसा त चेक जाँचमा नै सकियो ।” यो अस्पतालमा गरिब हुँ भनेर पनि सेवा सुविधा नपाउने रहेछ । यहाँ राखेर उपचार गर्न नसक्ने स्थिति आएकोले बच्चालाई एम्बुलेन्समा काठमाडौँ लान लागेको उहाँले गुनासो गर्नुभयो । अस्पतालको चार्ज महँगो भएकोले आफूले खर्च गर्नै नसक्ने अवस्था आएर उहाँले आफन्तको सल्लाहमा बिरामी बच्चालाई पुरानो मेडिकल कलेजबाट रिफर गरेर काठमाडौँ कान्ति बाल अस्पताल लानुपरेको हो ।
हरि चेपाङको घर धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–८ स्थित दाङबाङ गाउँमा पर्छ । पृथ्वी राजमार्गबाट कच्ची बाटो हुँदै गाडीमा दुई घण्टाको यात्रा गर्नुपर्छ भने पैदल हिँडेर चार घण्टा लाग्दछ । जिल्लामा नै राम्रो अस्पताल नहुँदा त्यस क्षेत्रका बिरामीहरू उपचारको निम्ति भरतपुर र काठमाडौँ जानुपर्ने हुन्छ । भरतपुर सरकारी अस्पतालमा पनि सस्तो र राम्रो उपचार हुन्छ भन्ने सुनेको हरिले बच्चालाई उपचार गर्न चितवन ल्याएका थिए । तर, बिरामी बच्चालाई उपचार गर्न नपाई काठमाडौँ फर्कनु पर्दा उहाँलाई थप आर्थिक भार पर्न गएको छ । बिरामी बच्चाले पनि समयमै उपचार पाउन सकेन ।
भरतपुर सरकारी अस्पताल राम्रो छ भन्दै गर्दा बिरामी बच्चाको निम्ति पीआईसीयूजस्ता आवश्यक स्वास्थ्य उपकरणको सुविधा नहुनु लाजमर्दो कुरा हो । बिरामीहरूलाई अन्यत्र रिफर गरेर पन्छिन खोज्नु, बिरामी र बिरामीका आफन्तलाई दुःख दिन अनेक बहानाबाजी गर्नु, उपचार पाउन सोर्सफोर्स नै लाउनुपर्ने भरतपुर अस्पतालको पुरानै रोग हो ।
भरतपुर मेडिकलको हब भन्दै गर्दा एउटा बिरामी गरिब भएकै कारण उपचार गर्न छटपटाउनुपर्ने स्थिति छ । सीमित धनी मानिसहरूको लागि ठडिएका अत्याधुनिक ठूला भनिएका अस्पतालहरू गरिब बिरामीहरूको निम्ति हेर्नको निम्ति रहेछ भन्ने कुरा थप छर्लङ्ग भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *