भर्खरै :

रौतहटको शिवनगरमा भक्तपुर काण्डको स्मरणमा भत्र्सना कार्यक्रम

रौतहट, २ भदौ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नेमकिपा रौतहट जिल्ला समितिको आयोजनामा तत्कालीन पञ्चायती राज्यस्तरबाट रचित भक्तपुर काण्डको स्मरणमा भत्र्सना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा केन्द्रीय सदस्य प्रजापतिले नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्न पञ्चायती राज्य स्तरबाट २०४५ भदौ ९ गते रचिएकोे षड्यन्त्रको स्मरण गर्दै उहाँले आगामी दिनमा पनि पुँजीवादी पार्टीहरूबाट यस्ता घटना दोहोरिन सकिने सम्भावना भएकोले कार्यकर्ताहरू सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रजापतिले विचार सानो र ठूलो नहुने स्पष्ट पार्दै पैसा बाँडेर, भोज ख्वाएर वा प्रलोभनमा पारेर निर्वाचनमा बढी मत लिएको आधारमा पार्टी ठूलो हुने होइन भन्नुभयो । सिद्धान्त र विचार छाड्नेहरू कम्युनिस्ट हुन नसकिने उहाँले बताउनुभयो ।
उहाँले एमसीसी र एसपीपीका समर्थकहरू देशघाती भएको बताउँदै पुँजीवादी व्यवस्था व्यापक जनताको लागि नर्क हुने हुँदा कामदार वर्गको हित हुने समाजवादी व्यवस्था स्थापनाको लागि अघि बढ्नु पर्ने आवश्यकता बताउनुभयो ।
शासक दलहरूले एमसीसी, एसपीपी, असमान सन्धि, सम्झौता तथा हालसालै नागरिकता विधेयक पारित गरी देशघाती कार्य गर्न खोजेको हुँदा नेपाल मजदुर किसान पार्टीले विगतदेखि नै सदन र सडकमा खबरदारी गरिरहेको हो, नागरिकता विधेयकको विरोधमा खारेज नहुञ्जेल विरोध गरिरहनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रजापतिले सरकारले शिक्षा र स्वास्थ्यमा सरकारले निजी क्षेत्रलाई जोड दिएर गरिब जनतालाई मारमा पारेको हुँदा भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सम्पदा संरक्षणलाई प्रमुख प्राथमिकतामा राख्दै समाजवादउन्मुख काम गरिरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं नेमकिपा रौतहट जिल्ला समितिका अध्यक्ष दिनेशप्रसाद साहले नेपाल मजदुर किसान पार्टीले देश र जनताको हितमा गरिरहेको कार्य ठूला दलहरूलाई टाउको दुखाइको विषय भएको बताउँदै नेमकिपाले भारतीय जनताको होइन भारतीय विस्तारवाद र भारतीय शासकहरूको विरोध गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले सिद्धान्त र विचारको राजनीति गर्ने एकमात्र पार्टी नेपाल मजदुर किसान पार्टी रहेको बताउँदै ठूला पार्टीहरूले निर्वाचनमा पैसा, पद र प्रलोभन देखाई चुनाव जित्ने दाउ खोजिरहेको हुँदा जनता सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सहसचिव जगनाथ सुजखुले भक्तपुर नगरपालिकाले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूलाई निःशुल्क शिक्षा लागू गरेकोमा तत्कालीन पञ्चायती सरकारले २०४५ साल भदौ ९ गते प्रतिशोधको रूपमा लिई नेमकिपालाई समूल नष्ट गर्न रचेको भक्तपुर काण्ड विफल भएको बताउँदै भविष्यमा पनि शत्रुहरूले गर्ने व्यवहारबाट बच्न कार्यकर्ताहरू सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल इन्जिनियरिङ समाजका उपाध्यक्ष नरेश खत्रीले कार्ल माक्र्सद्वारा प्रतिपादित कम्युनिस्ट घोषणापत्रअनुसार समाज परिवर्तनको लागि वर्गसङ्घर्ष अनिवार्य छ भन्दै समाजवादको स्थापनाको लागि नेपाल मजदुर किसान पार्टीले निर्वाचनलाई देश र जनताको सेवा गर्ने साधनको रूपमा प्रयोग गरिरहेको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सरोज साह र रौतहट जिल्ला समितिका सदस्य लालबाबुप्रसाद चौधरीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *