भर्खरै :

नेताहरू सिद्धान्त र जनताप्रति प्रतिबद्ध हुनुपर्छ

नेताहरू सिद्धान्त र जनताप्रति प्रतिबद्ध हुनुपर्छ

सत्तारुढ र ठूला राजनीतिक दलका नेताहरू कुन काम गर्दा देश र जनताको सेवा हुन्छ भन्नेतर्फ होइन कुन दलसँग गठबन्धन गर्दा भागबन्डा मिल्छ भन्नेतर्फ केन्द्रित छन् । आफैले गलत सिद्धान्त बोकेको, देशघाती कदम गरेको भनी बरोबर विरोध गरेकै दलसँग अहिले नेताहरूलाई साठगाँठ नगरी नहुने भएका छन् । दलका ती नेताहरू दलको संविधान एकातिर थन्काएर सिद्धान्त र विचार नमिल्ने दलसँग गठबन्धन गरी सीट बाँडफाँटमा रातदिन लागिरहेका छन् । दलको सैद्धान्तिक पक्षलाई केलाउँदा नेताहरूको यो सिद्धान्तहीन र गन्तव्यहीन कार्य हो । गठबन्धन भएपछि आफ्नो दलको कुरा उठाउने अवसर हुँदैन । विपरीत विचार र सिद्धान्त भएका दलहरूसँग गठबन्धन गरेर दलको उद्देश्य पूरा हुँदैन, जनताको चाहना पूरा हुँदैन । तर, देशको राजनीति यही चक्रमा घुमिरहेको छ ।
दलको विधान, सिद्धान्त र विचार देखाउने दाँत होइन । जहिल्यै जुनसुकै दलसँग गठबन्धन गर्ने दलले दलको मार्ग निर्देशक सिद्धान्त किन माक्र्सवाद, लेनिनवाद राख्नुप¥यो ? गठबन्धन सरकार, गठबन्धन दल हेर्दा बलियो, ठूलो र शक्तिशाली देख्ने तर राज्यको कुनै काम गतिलो ढङ्गले नभएको स्थिति छ देशको । पाँच दलको गठबन्धन सरकार त बन्यो तर कुनै एउटा राम्रो काम गर्न सकेको छैन । पाँच थरीको विचारले प्रतिनिधित्व गरेको सरकारले कसको कुरा सुनेर काम गर्ने भन्ने समस्या पाँच दलभित्र देखिएको छ । गठबन्धनभित्र सीटको भागबन्डा नमिलेको खबर प्रकाशमा आइरहेको छ । यसले पाँच दलभित्र मात्र होइन आ–आफ्नो दलभित्र पनि सीटबारे तँछाडमछाड हुनेमा शङ्का छैन । यस्तो दबाब अहिले नेकाभित्र सुरु भइसकेको छ । सभापति देउवाको कार्यशैलीविरुद्ध असन्तुष्ट शेखर कोइराला पक्षधर युवा विद्यार्थीहरूले बुधबार राजधानीमा खबरदारी सभा गरे । कोइराला पक्षले स्थानीय तहको निर्वाचनमा विद्रोही उम्मेदवारसमेत उठायो । असन्तुष्ट नेताहरूको छुट्टै भेला र निर्वाचनको प्रचारप्रसार भयो ।
स्थानीय तहको निर्वाचनमा भन्दा मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभामा झन् आ–आफ्नो दलभित्र पदबारे तँछाडमछाड हुनेछ । कति दलका प्रदेश र सङ्घीय नेताहरू अहिले नै पार्टी छोडेर अर्काे पार्टीमा प्रवेश हुन थालेका छन् । निर्वाचनको बेला अरू पार्टीमा प्रवेश हुनु भनेको निर्वाचनमा टिकट पाउन पनि हो । गठबन्धनभित्र रहेका दलका नेताहरूको मनस्थिति अस्थिर देखिएको छ । कहिले गठबन्धन गरेर निर्वाचन लड्ने, कहिले सीट बाँडफाँड गर्ने, कहिले हाललाई कार्यगत एकता गर्ने त कहिले पार्टी एकता गर्ने खबरले समाचारपत्रहरू ढाकेको छ । नेताहरूका यी विचार र अभिव्यक्ति सुन्दा तिनीहरूको विचारमा अडान नभएको स्पष्ट हुन्छ । के राजनीतिक दलका नेताहरूमा अडान आवश्यक पर्दैन ? के नेताहरू सिद्धान्त र विचारप्रति प्रतिबद्ध हुनुपर्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *