सतही निर्णयले परिवर्तनको अनुभूति नहुने
- बैशाख ८, २०८३
लामो कष्टसाध्य सङ्घर्ष गर्ने, राजनीतिक परिवर्तन गर्ने र राजनीतिक दलहरूलाई सरकारमा पु¥याउने आखिर जनता नै हुन् । जनता नै इतिहासका निर्माणकर्ता हुन् । सरकार, राजनीतिक दल र विभिन्न सरकारी निकाय या संस्थाले गर्ने काम जनताको लागि हो । हरेक राजनीतिक दल देश र जनताप्रति समर्पित हुनुपर्छ भन्नुको कारण आफ्नो उद्देश्य र गतिविधि बहुमत जनताकेन्द्रित हुनुपर्छ भन्ने हो । सत्तासीन र ठूला दलका नेताहरू जनताकेन्द्रित नभएका कारण सत्तासीन दलको विरोध हुन्छ । हरेक निर्वाचनमा सरकारको नेतृत्व हेरफेर हुनुको कारण जनताको विश्वास जित्न नसक्नु हो । जनतालाई भ¥याङ बनाएर व्यक्तिगत र दलगत स्वार्थ पूरा गर्ने सत्तासीन दलका नेताहरूको बानी अझै हटेको छैन ।
सत्तासीन दलका नेताहरूलाई देश र जनताको हितसँग कुनै मतलब छैन । सरकारमा गएर अकुत सम्पत्ति कुम्ल्याउनु उनीहरूको उद्देश्य रहेको छ । सरकारले विकासका ढोकाहरू खोल्नुपर्ने हो । तर, सरकारले तस्कर, भ्रष्टाचारी र कमिसनखोरहरूको ढोका खोलिरहेको छ । शासक दलका नेता र कार्यकर्ताहरूलाई जनता होइन ठूलठूलो रकम चन्दा दिनसक्ने उद्योगपति, धनाढ्यहरू प्यारा भएका छन् । अनि सत्तासीन दलका नेताहरू भ्रष्टाचारी र कमिसनखोरहरूको पछाडि नझुक्नु कसरी ? सरकारको नेतृत्व गरेर जनताको सेवा गरेको भए विरोध कम हुन्थ्यो । खेतीपातीको बेला मल ल्याइँदैन, रोग लागेको बेला औषधि उपचार समयमा हुँदैन, योजनाअनुसार काम हुँदैन, भएका कामहरू गुणस्तरहीन या कमसल हुन्छ भने जनताको सेवा कसरी हुन्छ ? स्वास्थ्य र शिक्षामा राज्यको दायित्व कम हुँदै गएको छ । देशका लागि आवश्यक उद्योग, कलकारखाना, विश्वविद्यालय, अस्पताल राज्यले नै व्यवस्था गर्नुपर्ने हो । तर, त्यो भइरहेको छैन ।
राजनीति पैसा कमाउने व्यवसाय होइन । कुनै राजनैतिक दलका नेताहरूले धोका दिए, जनविरोधी कार्य गरे भनेर जनता पार्टी विशेषको कार्यकर्ता बन्नु हुँदैन भन्ने विचार सही होइन । राजनीतिक प्रणाली भएको देशमा कुनै प्राणी राजनीतिबाट अलग्ग हुन सकिँदैन । मानिसहरू स्वतन्त्र दृष्टिकोण राखेर अघि बढ्नुपर्छ भन्ने भनाइ आइरहेको छ । बरु हरेक नागरिकले सही दल खोज्ने, सही कुरा सुन्ने, मान्ने र सही मार्गमा जाने हो । कुनै दलका नेताहरूले पैसा बाँडे, सामान बाँडे, खोज खुवाए भनेर सबैलाई त्यही दृष्टिले हेर्नु मनासिब हुँदैन । यो कुरा हरेक लेखक, बुद्धिजीवी र राजनीतिक विश्लेषकहरूले पर्गेल्नुपर्छ ।
सत्तासीन र ठूला दलका नेताहरूले सतही राजनीति गरिरहेका छन् । उनीहरूको राजनीतिक दृष्टिकोण या बुझाइ नै सङ्कीर्ण छ । पद र पैसाको लागि मात्र राजनीतिमा सक्रिय हुने र जनतामाझ पुग्ने प्रवृत्ति ठीक होइन । त्यस्तै राजनीतिले जनतामाझ गलत सन्देश पुगिरहेको छ । पैसाको राजनीति गरेर देश कसरी समाजवादउन्मुख हुन्छ ? समाजवादउन्मुख देश बनाउन र देशको अर्थतन्त्र सुदृढ बनाउनेतर्फ सरकार अघि बढ्नुपर्छ । राजनीति देश र जनताको सेवा गर्ने माध्यम हो भन्ने कुरा बुझ्नुपर्छ ।
Leave a Reply