न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
बासको तिखारिएको चुच्चोले मकै भुट्ने हाँडीको कालोमोसो घोलेर बनाएको मसीमा चोपेर लेखेको पर्चा परेवाको खुट्टामा झुन्ड्याएर खबरको आदान–प्रदान गर्ने युगबाट फड्को मार्दै नेपाली सञ्चारमाध्यम लिथो मेसिन र लेटर प्रेसमा पत्रिका छाप्ने जमानामा आउँदासम्म पनि आश्चर्य मानिन्थ्यो । अघिल्लो पुस्तासम्मलाई पनि आश्चर्यजनक लाग्ने छापा दुनियाँ अहिलेको पुस्ताले छेकछन्दै पाउँदैनन् । प्रविधिको प्रयोगबाट सेकेन्डमा संसार फन्को मार्ने अहिलेको पुस्तालाई नौलो लागिरहेको छैन । औँलाहरू चलाएर स्क्रिनमा पढ्ने पुस्तालाई प्रिन्ट पत्रिकाको विकास, विस्तार र त्यसको प्रभावको बारेमा पनि त्यति धेरै ज्ञान छैन । सञ्चारको साधनको बारेमा त झन् उति हेक्का पनि छैन । नेपालमा धन्य अहिलेको पुस्ताले स्कूल, कलेजमा छापिएको पुस्तकहरूसम्म पढे यो पुस्ताको लागि पत्रिका, रेडियो, टेलिभिजन, क्यामेरा, कम्प्युटर, क्यालकुलेटर, चिट्ठीपत्रमात्र होइन, बैङ्क खाता, घडी, टर्च, जीपीएस, कम्पासजस्ता कामको लागि एउटा स्मार्ट मोबाइल बोके भयो ।
साप्ताहिक संसार
एउटा स्मार्ट मोबाइल बोकेर संसार पढ्न सक्ने जमानामा नेपाली पत्रकारिताको क्षेत्रमा एक समय यस्तो पनि थियो भन्नु जरुरी छ किनभने अघिल्लो पुस्ताले गरेको त्याग, सङ्घर्षले लोकतन्त्र स्थापना भएको र लोकतन्त्रमा प्रविधिले ल्याएको परिवर्तनलाई सहज किसिमले प्रयोग गर्न पाएका छौँ । जतिसुकै प्रविधिको विकास भए पनि मुलुकमा लोकतन्त्र छैन र तानाशाही सरकार छ भने प्रविधिको प्रयोग सजिलै गर्न पाइँदैन ।
घरमा रेडियो राख्नसमेत अनुमति लिनुपर्ने, खोला तर्नसमेत कर तिर्नुपर्ने कुरा अहिले नौलो लाग्न सक्छ । त्यस्तो बेला पत्रकारिता सहज थिएन । त्यो परिस्थितिबाट गुज्रदै शासनसत्ताले जनतामाथि गरेको अन्याय र अत्याचारको विरुद्ध नेपाली पत्रकारिताले खेलेको भूमिका निकै महत्वपूर्ण छ । तीस वर्षसम्म चलेको पञ्चायती व्यवस्थाको विरुद्ध राजनीतिक दलहरूको मुखपत्रको रूपमा साप्ताहिक पत्रिकाहरूको प्रकाशन हुन्थ्यो । पत्रिका नै आन्दोलनको सशक्त हतियार थियो । पत्रिका भनेपछि सत्ताको सात्तो जान्थ्यो । त्यतिबेला हातले कम्पोज गरेर लेटर प्रेसमा साना साइजका पत्रिका प्रकाशन गरिन्थ्यो । तत्कालीन निरङ्कुश शासनविरुद्ध साप्ताहिक पत्रिकाहरूले नेपाली राजनीतिमा निकै ठूलो प्रभाव जमाएको थियो । त्यस्ता साप्ताहिकहरू तत्कालीन समयमा पत्रकारितामा ‘हटकेक’ नै बनेका थिए ।
पञ्चायती व्यवस्थाको कालमा मात्र होइन, पचासको दशकपछि झन्डै ११ वर्षसम्म चलेको माओवादी जनयुद्धको समयमा समेत साप्ताहिक पत्रिकाले पस्किएका सामग्री नेपाली समाजले निकै रुचिपूर्णरूपमा पढे हप्ता दिनसम्म कुरेर पनि पाठकहरूले समाचारको भोक मारे । तर, आज पञ्चायतका विरुद्धमात्र नभई नेपाली समाजको परिवर्तन र सामाजिक रूपान्तरणमा उल्लेखनीय भूमिका निभाएका त्यस्ता अखबारहरू बेपत्ता छन्, मर्ने र बाँच्ने दोसाँधमा छन् । अर्को सत्य यो पनि हो, यतिखेर कागजमा छापिने सबै छापा प्रकाशनहरूका पाठकहरू दिनानुदिन घट्दो छ । प्रविधिमा आएको तीव्र विकासले पत्रकारिताको स्वरूप नै बदलिदिएको छ । पछिल्लो समयमा विकास भएको अनलाइन पत्रकारिताले त झन् पाठकहरूको रुचिमा नै परिवर्तन ल्याइदिएको छ ।
तर पनि प्रिन्ट मिडियाको महत्व सकिएको छैन । प्रिन्ट मिडियाले पस्कने सामग्री बदलिन सक्छ । तर, यसको आवश्यकता नै सकियो भन्ने कुरा सही सावित भइसकेको छैन । छिनछिनमा समाचारको बाढी आउने स्थितिमा आइपुगे पनि हिजोका परिवर्तनका लागि योगदान दिने प्रिन्ट मिडिया अहिले ठूलो सङ्कटमा गुज्रिरहेको तथ्यलाई भने नकार्न सकिँदैन ।
जब अनलाइन पत्रकारिताको चरण सुरु भयो । संसारभर यसले ठूलो तरङ्ग सिर्जना गरिदियो । यो समाचारको माध्यम हो वा होइन भन्ने चर्का बहस नै भए । जब यसले समाचार माध्यमको कानुनी मान्यता पायो तब छापा प्रकाशनहरूको भविष्य सकिएको घोषणा गरिन थालियो । संसारभरका निकै चर्चित दैनिक, साप्ताहिक पत्रिका, म्यागेजिनहरू पनि अनलाइन संस्करणमा बदलिए र छापा प्रकाशनहरू बन्द नै भए । अहिले पनि छापा माध्यमहरूको भविष्य नभएको घोषणा गरिरहँदा खोजपूर्ण इतिहास, विचारपूर्ण सामग्रीहरू, अनुसन्धानमा आधारित सामग्रीको अध्ययन र सङ्ग्रह कस्तो पत्रकारिताले गर्न सक्छ भन्ने विषयमा बहस हुन थालेको छ । यो बहसले प्रिन्ट पत्रकारिताको महत्वलाई बढाइदिएको छ ।
खोजपूर्ण र विश्लेषणयुक्त पत्रकारिताको संरक्षण राम्रो र स्तरीय प्रिन्ट मिडियाले मात्र गर्न सक्छ । एकछिन उभिएर मोबाइल वा कम्प्युटरमा शीर्षकमात्र पढने ई–पाठकको उदयसँगै अनलाइन पत्रकारिता ‘फास्टफुड’ जस्तो भएको छ । ‘फास्टफुड’ खाएको केही समयपछि तुरुन्त भोक जागेजस्तै अनलाइन पत्रकारिताले पनि पाठकहरूको धित मार्न सकिरहेको छैन । यसले गर्दा प्रिन्ट मिडियाले ई–पाठकमात्र होइन, विश्लेषण र अनुसन्धानमा आधारित सामग्रीको सङ्ग्रह गर्नेहरूको भोकलाई केही मात्रामा भए पनि पूरा गर्ने विश्वास लिन सकिन्छ ।
साना अखबार ठूला गजबार
आज लाखौँ भिजिटर, करोडौँ पाठकहरू भएको अनलाइन संस्करणले जति चटपटे सामग्री दिए पनि त्यसले समाजमा कस्तो प्रभाव पारिरहेको छ, त्यसले समाज रूपान्तरणको लागि कति योगदान गरिरहेको छ भन्ने अनुसन्धान भइरहेको छैन । अहिले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हिसाबले पत्रकारिता गर्न त्यति धेरै अप्ठ्यारो पनि छैन । लेख्न पाइन्छ, सत्ताको विरुद्ध जस्तोसुकै कठोर विचार पनि पोख्न पाइन्छ तर त्यो सत्य सावित हुनुप¥यो । हिजो त्यस्तो थिएन, सत्य नै किन नहोस्, राज्यसत्ताको विरुद्ध लेख्नु, बोल्नु भनेको ज्यान हत्केलामा राख्नुजस्तै थियो ।
कठोर स्थितिमा गुज्रदै आएको प्रिन्ट पत्रकारितामा केही दशकअघि पनि साना एक पाने, दुईपाने पर्चाजस्ता लाग्ने सञ्चार सामग्रीले पनि सामाजिक रूपान्तरणको लागि निकै ठूलो योगदान गरेका थिए । तिनीहरू साना थिए तर ठूला गजबारजस्ता थिए । तिनको योगदानलाई हामीले कहिल्यै पनि नजरअन्दाज गर्नु हुँदैन बरु अहिलेको पुस्तालाई ती गौरवमय पत्रकारिताको इतिहासलाई पढाउनु जरुरी छ । साना अखबारहरूले हिजो पञ्चायतको विरुद्ध होस् वा बहुदलीय व्यवस्थाको स्थापना, लोकतन्त्रको बहालीको लागि खेलेको भूमिकालाई कसैले पनि भुल्नु हुँदैन ।
हो, प्रविधिले साना लगानीमा चलेका साना मिडिया र पत्रकारको पेसा कसरी बचाउने, पत्रकारलाई मिडियामै जीवन चलाउन आर्थिकरूपमा कसरी सहज बनाउने भन्ने बहस पनि पेचिलो बन्दै गएको छ । केही ठूला मिडियामा थोरै प्रतिशत पत्रकारको पत्रकारिताबाट जीवन निर्वाह भए पनि ठूलो सङ्ख्याले पत्रकारिताको पेसाबाट गुजारा चलाउन कठिन छ । साना लगानीका अखबार ढिकी र जाँतोको गतिमा चलिरहेका छन् । यसलाई कसरी व्यवस्थित बनाउने र टिकाउने चिन्ता बढ्दो छ ।
अर्को विगत दुई वर्षयता संसारभर फैलिएको कोरोना महामारीले पनि नेपाली मिडियालाई थला पारेको छ । नेपालमा अझै पनि ठूला लगानीका दैनिक पत्रिकाहरू तङ्ग्रिइसकेका छैनन् भने साना दैनिक, साप्ताहिक, मासिक पत्रिकाहरूको हालत झन् कमजोर बनेको छ ।
अब नेपाली पत्रकारिताले पाठक बढाउनु भन्दा पनि पढाउनुपर्ने चेतनाको खोजी गर्न जरुरी छ । यसको लागि स्थानीय निकायहरूमा नयाँ पुस्तालाई पठनीय सामग्रीहरूको खोजी गरेर पढाउने संस्कृतिको विकास जरुरी देखिन्छ । पत्रपत्रिका, अनुसन्धानमूलक सामग्रीबारेमा रुचि बढाउन अभियान नै चलाउन पनि सकिन्छ । के त्यो सम्भव छ ? के हामी अहिलेको नयाँ पुस्तालाई स्क्रिनमा होइन, छापामा आँखा लगाउन अभियान चलाउन सक्छौँ ? प्रश्न सजिलो छ तर उत्तर निकै जटिल छ ।
स्रोत : नेपाल पत्रकारिता विशेषाङ्क
Leave a Reply