भर्खरै :

राजनीतिक कार्यकर्ता जनताका आँखाका नानी

राजनीतिक कार्यकर्ताहरू जनताका आँखाका नानी हुन् । आँखाको नानी सानो भए पनि संसार देखाउने काम गर्छ । यसले न्याय–अन्याय, सत्य–असत्य, राम्रो–नराम्रो र ठीक–बेठीक छुट्याउँछ । हीरा सानो हुन्छ । तर, त्यो त्यतिकै मूल्यवान हुन्छ । सानो भयो भनेर कुनै वस्तु या चिजको महत्व कम हुन्छ या सस्तो हुन्छ भन्ने कुरा होइन । जनपक्षीय राजनीतिक दलका कार्यकर्ताहरूले पनि आँखाको नानीसरह काम गर्नुपर्छ । जनताबीच भिज्नुपर्छ, जनताको समस्याबारे अवगत बन्नुपर्छ, आपत्विपत् या सङ्कटको बेलामा सघाउनुपर्छ । राजनीतिक कार्यकर्ता भएर जनतामाझ पुग्दैन, जनतालाई सचेत र सङ्गठित गर्न नियमित भेला या प्रशिक्षण गरिएन भने जनता सुसूचित हुन पाउँदैन र अरू दलका नेता तथा कार्यकर्ताले लोभलालच देखाएर या धम्काएर गलत ठाउँमा लान सक्छन् । कार्यकर्ताहरू जनतामाझ भिज्ने भएकै कारण जनताले तिनीहरूलाई माया गर्छन्, मान गर्छन् ।
हरेक राजनीतिक कार्यकर्ताको जिम्मेवारी हुन्छ । उनीहरूले सिद्धान्त, राजनीति, सङ्गठन र अनुशासनलाई जोड दिन्छन् । असल राजनीतिक कार्यकर्ताहरू जहाँ बढी हुन्छन्, त्यहाँको समाज तुलनात्मकरूपमा राम्रो हुनुपर्छ । त्यहाँ आपराधिक घटना, भ्रष्टाचार र अनियमितता कम हुन्छ । कसैलाई आपत्विपत् पर्दा तुरुन्तै सघाइन्छ । हो, जब राजनीतिक गतिविधि बढी हुन्छ तब त्यहाँका अपराधीहरू, भ्रष्टाचारीहरू, देशद्रोहीहरू, प्रतिक्रियावादीहरू र पुँजीपतिहरू रिसाउँछन् । उनीहरू कार्यकर्ताको विरोधमा लाग्छन् । अझ अनेक षड्यन्त्र गरेर छलछाम गरेर झगडा गराउँछन्, लोभलालचमा फसाउने काम गर्छन्, जालसाजी मुद्दा लगाउँछन् । जनताको बीचमा भिज्ने, जनताको सेवामा लाग्ने राजनीतिक कार्यकर्ताहरूलाई हतोत्साही बनाउन, राजनीति गतिविधिमा नलगाउने ध्येयले कर्तव्य ज्यान जस्तो गम्भीर मुद्दामा फसाउने कोशिश गरिएको हुन्छ । आन्दोलन र सङ्घर्षको क्रममा पक्राउ परेका आन्दोलनकारी या कार्यकर्तालाई ज्यान सजाय, आजन्म कैद, सर्वस्वरणसहितको सजाय दिइने तथ्य इतिहाससाक्षी छ । यसरी शासकहरूले जनताको निम्ति काम गरिरहेका नेता तथा कार्यकर्ताहरूलाई दमन गरिरहेका हुन्छन् ।
तर, असल कार्यकर्ताहरू शत्रुसामु झुक्दैनन्, आत्मसमर्पण गर्दैनन् । साहित्यकार लुशुनले मार या नमार त्यो सत्यलाई व्यर्थै, जागी उठ्नेछ त्यो फेरि उस्तै भनेझैँ कार्यकर्ताहरू आमूल परिवर्तनको निम्ति लागिरहेका हुन्छन् । राजनीतिक कार्यकर्ताहरूले पार्टीका प्रकाशनहरू अध्ययन गरिरहनुपर्छ, अध्ययन गरेका विषयबारे जनतालाई बताइरहनुपर्छ । कुनै कार्यकर्ता पुस्तक पढ्ने तर साथीभाइ या जनतासामु नबताउने खालका छन् । जनताको सांस्कृतिक स्तर उठाउन, नागरिक भावना जगाउन, देशभक्त बनाउन, देश र समाजप्रति समर्पित बनाउन कार्यकर्ताहरू निरन्तर लागिरहनुपर्छ । हरेक कार्यकर्ता, समर्थक, शुभचिन्तक या सिङ्गो समाजका नागरिकहरूलाई असल, जिम्मेवार, योग्य, सक्षम, चरित्रवान, नैतिकवान, देशभक्त बनाउन क्रियाशील भइरहनुपर्छ । यसले समाज परिवर्तनमा टेवा पु¥याउँछ । कम्युनिस्ट पार्टीको उद्देश्य आमूल परिवर्तन हो । अत ः कार्यकर्ताहरू जनतालाई सचेत र सङ्गठित बनाउन गाउँ घर नपुगी सुखै छैन या जनतामाझ नपुगी सुखै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *