न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
हिजो पञ्चायत कालमा आजका शासक दलहरू देश बनाउँछु, जनताको सेवा गर्छु भनेर लागेका थिए । यिनीहरू निरङ्कुश पञ्चायती व्यवस्थाको विरूद्धमा देश र जनताको पक्षमा खुला र गुप्तरूपमा लडेका थिए । उनीहरूले जनताको साथ र सहयोगमा एक ढिक्का भएर पञ्चायती व्यवस्था फालेका थिए । पञ्चायती व्यवस्थाको अन्त्यपछि यिनीहरू प्रजातन्त्रको नाममा सत्ता सम्हाल्न गए । सत्तामा गएपछि उनीहरूमा लोभ र पाप बढ्दै गयो । उनीहरूमा विदेशीको प्रभाव बढ्दै गयो । यसले उनीहरूमा हिजो भएका नेपाली माया र जनताप्रतिको माया, देशभक्तिको भावना, त्याग र नैतिक आचरणमा स्खलन हुँदै गयो । आज देश र जनताको सेवा गर्छु भनेर सरकारमा गएका उनीहरू भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छेजस्तो भएका छन् । माओवादीले यो संसदीय व्यवस्थाले देश र जनताको हित गर्नसक्दैन, देश र जनतालाई मुक्ति दिन सक्दैन भनेर भारतको सहयोग र साथमा कथित जनयुद्ध लडेको थियो । देउवा सरकारले उनीहरूको ५० लाख टाउकाको मोल तोकेको थियो । आज त्यसैसँग पदको लागि आत्मसमर्पण गरेको व्यवहार र परिणामले देखाएका छन् ।
पञ्चायती व्यवस्थाको अन्त्य भएपछि देशमा प्रजातन्त्र, मानव अधिकार, शान्ति, विकास सहयोगको नाममा नेपालमा विदेशीहरूको हुल बढ्योे । एनजीओ र आईएनजीओहरू पनि लस्करै नेपालमा प्रवेश गरे । विदेशी एनजीओ र आईएनजीओहरूले नेता तथा कार्यकर्ताहरूलाई डलरको खोलो बगाएर प्रभावमा पारे । यसले उनीहरूमा भएको हिजोको देशभक्ति भावना, त्यागको भावना, जनताप्रतिको माया, भाषा, धर्म, संस्कृतिप्रतिको मायामा कमी ल्याउने काम ग¥यो । आज यो झन्झन् अगाडि बढिरहेको छ । उनीहरू विस्तारै नेपालको भक्त होइन विदेशीको भक्त हुँदै गए । उनीहरू विदेशीले पालेको कुकुरजस्तै हुँदै गए । उनीहरू विगतको कुकुरझगडामा उत्रिएको जनताले देखिसकेका थिए । उनीहरू आफ्नो विचार, इज्जत, मानप्रतिष्ठालाई बलि दिएर पद प्राप्तिको कुकुरझगडामा हिजो पनि लागेका थिए भने आज पनि लागिरहेको जनताले हेरिरहेका छन् । उनीहरू ओलीको संसद् विघटनको कदमलाई लिएर पानी बाराबारमा ओर्लिएका छन् ।
संसद् विघटनअघि र पछिको देशको अवस्थालाई हेर्दा ओलीले चालेको कदम, उचित र औचित्यपूर्ण भएको प्रमाणित हुँदै छ । विदेशीबाट परिचालित भनेर एक आपसको आरोपअनुसार उनीहरू अगाडि बढिरहेको देखिन्छ । उनीहरूको झगडामा, आरोप प्रत्यारोपमा, छलफलमा, सभामा विचार सिद्धान्त, व्यवहार, देश र जनता कहिल्यै पनि केन्द्रबिन्दुमा पर्दैनन् । उनीहरू सुते पनि पद, बसे पनि पद, छलफल, बैठकमा पनि पदकै कुरा ओकल्छन् । विदेशीको बुद्धि र लोभमा फसेका हुनाले उनीहरूलाई विदेशी र दलालले जुट्न पनि दिँदैनन् । विदेशीको स्वार्थअनुसार कहिले जुटाएर, कहिले भिडाएर उनीहरूबाट आफ्नो स्वार्थ पूरा गरिरहेका हुन्छन् । एमसीसी सम्झौता र नागरिकता विधेयक यसका दृष्टान्त हुन् ।
नेपालमा अमेरिकी साम्राज्यवादले नियन्त्रित अस्थिरता र भारतीय विस्तारवादले निर्देशित स्वतन्त्रता चाहेका थिए । त्यसअनुसार उनीहरू आ–आफ्नो स्वार्थ पूर्ति गर्न देशमा आफ्नो प्रभाव र दबाबमार्फत सूक्ष्म व्यवस्थापन गरिरहेका छन् । उनीहरूले हाम्रो देशलाई स्वतन्त्र पनि हुन दिँदैनन्, विकास पनि हुन दिँदैनन् । उनीहरूले नेपालका नेताहरूलाई उठ्न पनि दिँदैनन्, बस्न पनि दिँदैनन् । चीनमा जस्तो नेपालमा पनि राजनीतिक दलका नेताहरू देशको लागि, जनताको लागि एकजुट भयो भने, विकास ग¥यो भने नेपाल उनीहरूको मुठीबाट फुत्किन्छ भन्ने कुरा उनीहरूलाई थाहा छ । एकजुट हुने डरले नै उनीहरूले नेपालका नेता, कार्यकर्ताहरूलाई खेलाइरहेको देशको अवस्थाले प्रस्ट पार्दछ । यदि त्यसो नहुँदो हो त उनीहरू पटक–पटक प्रधानमन्त्री भए, मन्त्री त कति पटक भए कति । उनीहरू बने तर देश र जनता कहिल्यै बनेनन् । देशको अवस्था झन्झन् नाजुक हुँदै छ । उनीहरूले सिद्धान्त, विचार, त्यसअनुसारको आचरण, देशभक्ति भावना, इमान, जवान, नैतिक, चरित्र, व्यवहार छोडिसके ।
वर्तमान शासक दलहरू, नेता, कार्यकर्ताहरू भारतले नेपालको अतिक्रमित भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नक्सा जारी गर्दा एकता भएका थिए । तर, उक्त अतिक्रमित भूमि फिर्ता लिन र गराउन उनीहरू कहिल्यै एकता भएनन् । किनकि, उनीहरू मित्र देशहरूले नेपालको हितमा बनाइदिएका भृकुटी कागज कारखाना, गोरखकाली रबर टायर उद्योग, बाँसबारी छालाजुत्ता कारखाना, विराटनगर जुट कारखाना, जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, हेटाँैडा कपडा कारखाना, हिमाल सिमेन्ट कारखाना, रोपवे, भक्तपुर इँटा टाइल कारखाना, ट्रलिबस सेवा आदि जोगाउन एक हुन सकेनन् । देशमा कृषि अर्थतन्त्र उकास्न, कृषिमा आत्मनिर्भर हुन, विभिन्न उद्योग, कारखानाहरू खोल्न, रोजगारी सिर्जना गर्न, सार्वजनिक र स्तरीय विश्वविद्यालय, कलेज, अस्पताल, ठाउँ–ठाउँमा खोल्न, बाटोलगायतका अन्य विकास निर्माण गर्न कहिल्यै एक भएनन् । उनीहरू देशको सम्पत्ति जोगाउन एक भएनन् । भारतले नेपाल उसको स्वार्थअनुसार नचल्दा दबाबस्वरूप अमानवीय नाकाबन्दी गर्दा त्यसको सामना गरेर चोटिलो जवाफ दिन उनीहरू कहिल्यै एक भएनन् । बरू, उनीहरू देश लुट्न, डुबाउन, विदेशीको दलाल, कठपुतली बन्न प्रतिस्पर्धा गर्दै छन् ।
२०५३ सालमा जनताले महाकाली सन्धि देशको हितमा छैन, यो देशघाती छ भन्दाभन्दै, विरोध गर्दा गर्दै हिजोका र आजका यी शासक दलहरू एक भएर रातारात पास गरेका थिए । अहिले उनीहरू महाकाली सन्धिमा हामी चुक्यौँ, यसमा हाम्रो कमी कमजोरी रह्यो भनेर पाप ओकल्दै छन् । यही हो हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने भनेको । विश्वलाई आर्थिकरूपमा अमेरिकालाई उछिनेर अगाडि बढेको छिमेकी मित्रराष्ट्र चीनलाई पछार्न अमेरिका तानाबाना बुन्दै छ । अमेरिकाले नेपाललाई युक्रेन बनाउन विकासको नाममा पचास अर्बको लोभ देखाएर देशघाती, एसियाघाती, एमसीसी सम्झौता गराइसकेको छ । देशभरबाट नेपाली जनताले विरोध गर्दागर्दै पनि उनीहरू एक भएर यसलाई पास गरेका थिए । यसमा पनि पछि उनीहरूले हाम्रो कमी कमजोरी रहन गयो, हामी चुक्यौँ भन्न पछि पर्नेछैनन् ।
विगतमा पटक–पटक फिर्ता भएको, पटक–पटक रोकिएको, असफल भएको विदेशी महिलाले नेपाली नागरिकसँग बिहे हुनासाथ बिहे भएकै दिन नागरिकता लिन पाउने हकसहितको संशोधित देशघाती नागरिकता विधेयक २०७९, लेण्डुपले बहुमतको नाममा सिक्किम भारतलाई दिएजस्तो उनीहरू बहुमतको नाममा पास गरिसकेका छन् । यसलाई नेपाललाई फिजी र सिक्किम बनाउने बीजारोपणको रूपमा नेपाली जनताले लिएका छन् । उनीहरू राष्ट्रको संरक्षक राष्ट्रपतिले यो देशको हितमा छैन भन्दै फिर्ता पठाएको देशघाती नागरिकता विधेयकलाई बहुमतको नाममा पास गरेर नेपाली लेण्डुप डोर्जेहरू बन्न खोज्दै छन् । उनीहरूलाई नेपाली जनताले एक दिन उचित समयमा सजाय दिनेछन् । लेण्डुप डोर्जे देशद्रोही थिए । उनी पश्चातापको आँसु पिउँदै सडकको कुकुरजस्तै मरेका थिए ।
कम्युनिस्ट भनिएका शासक दलहरू आफ्नो सिद्धान्त र विचारलाई बिर्सेर देशलाई विदेशीको रणभूमि बनाउन, एसियाको युक्रेन बनाउन वर्ग शत्रु नेपाली काङ्ग्रेससँग सांसद पदको भिख माग्दै छन् । मङ्सिर ४ गते हुने भनिएको संसदीय र प्रदेश सभाको चुनावमा अपवित्र गठबन्धन हुने कुराको चर्चा एक प्रकारको राजनीतिक आत्महत्या नै हो । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले देउवामार्फत बलले झुकाउन नसकेका, सिध्याउन नसकेका कम्युनिस्टहरूलाई विष पोटेको गुलियो वस्तु सांसद पदको लोभ देखाएर, त्यो लोभ प्राप्तिको प्यास जगाएर झुकाउँदै छन्, सिध्याउँदै छन् । उनीहरू प्यास लाग्यो भनेर विष पिउने मूर्खता गर्दै छन् । उनीहरूलाई विदेशीहरूको इसाराले यहाँका उसका दलालहरूमार्फत मिल्न नदिन ओलीको स्वेच्छाचारी प्रतिगमनकारी भनिएको संसद् विघटनको कदम देखाउँदै, उक्साउँदै र उचाल्दै छन् ताकि अबको चुनावमा उनीहरू एक आपसमा भिडेर सिधिऊन् र काङ्ग्रेसले बहुमत ल्याऊन् ।
उनीहरू देश र जनताको हितमा परिवार र व्यक्तिगत सम्पत्तिलाई त्यागेर कुनै लोभलालचमा नफसिकन छोरा, छोरी, बुहारी, स्वास्नी, भाइ, भतिजाको मोहमा नपरी देश बनाउन, देशको रक्षा गर्न अगाडि नबढ्ने हो भने उनीहरूले श्रीलङ्काको जस्तो नियति भोग्नुपर्नेछ । आगामी मङ्सिर ४ गते हुने भनिएको संसद् र प्रदेशको निर्वाचनमा जनताले त्यस्ता उम्मेदवारलाई हराउनुपर्छ । जनताले पनि पैसा लिएर, कुर्ता सारी लिएर, ग्यास सिलिन्डर लिएर, भोज खाएर मत दिनु भएन । यसो गरेको खण्डमा फेरि देशघातीहरू, देशद्रोहीहरू जितेर आउन सक्ने छैनन् । चुनावमा देश बनाउने, देशको रक्षा गर्ने र जनताको हित गर्ने असल मानिसहरू जितेर आउनेछन् । अहिले देशघाती नेताहरूले पैसा लिएर, भोज खाएर, ग्यास सिलिन्डर लिएर, कुर्ता सारी लिएर भोट बेच्ने, भोट दिने जनता नै देशघाती हुन् भनेर आरोप लगाउन थालेका छन् । नेपाली जनताको विरोध हुँदाहुँदै देशघाती नागरिकता विधेयक बहुमतको नाममा पास गर्ने नेपाली लेण्डुपहरूलाई जनताले एक दिन सजाय दिनेछन् । त्यसैले, सबै देशघाती हुनबाट बचौँ ।
Leave a Reply