भर्खरै :

अवकाश प्राप्त शिक्षक लक्ष्मीहरि ताम्राकारको बिदाइ

भक्तपुर, भदौ ५ । भक्तपुर नगरपालिकाका उपप्रमुख एवम् कार्यबाहक प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा बासु माविको आयोजनामा विद्यालयका अनिवार्य अवकाश प्राप्त शिक्षक लक्ष्मीहरि ताम्राकारको आइतबार बिदाइ कार्यक्रम भयो ।
बिदाइ कार्यक्रममा उपप्रमुख रजनी जोशीले शिक्षाविनाको जीवन अधुरो रहने बताउनुभयो ।
बासु माविले भक्तपुरको शैक्षिक स्तर उकास्न खेलेको भूमिकाबारे प्रस्ट पार्दै उपप्रमुख जोशीले भक्तपुरको शिक्षा मोडललाई देशभरिका स्थानीय तहहरूले अनुसरण गर्ने क्रममा रहेको बताउनुभयो ।
देशकै सफा नगरको रूपमा स्थापित भक्तपुर नपाले फोहोरमैला व्यवस्थापनमा विशेष पहल गरी कुहिने फोहरबाट मल बनाई किसानहरूको लागि बिक्री वितरण गरिसकेको बताउँदै उहाँले भक्तपुर नपाले नेपालमै पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण गरी सबै विद्यालयहरूमा लागू गरेको बताउनुभयो ।
बासु माविका प्रअ अम्बिका न्याइच्यार्इँले शिक्षक तथा कर्मचारीहरूको अनिवार्य अवकाश एउटा प्राकृतिक नियम भएको बताउँदै बासु माविले समयअनुकूल व्यवहारिक शिक्षा प्रदान गर्दै विद्यार्थीहरूमा सीप विकास गर्ने कार्यमा जोड दिँदै आएको बताउनुभयो ।
अवकाश प्राप्त शिक्षक लक्ष्मीहरि ताम्राकारले विद्यालयको उन्नति र प्रगतिको लागि शिक्षक र विद्यार्थीहरूले हातेमालो गर्दै अगाडि बढ्नुपर्छ भन्नुभयो ।
अतिथि जोशीले अवकाश प्राप्त शिक्षक ताम्राकारलाई सम्मानका साथ बिदाइ गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि विष्णुप्रसाद दुमरु, सहप्राचार्य राजकुमार ह्यौंमिखा र शिक्षक रामकुमार निरौलाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *