भर्खरै :

निर्वाचन पनि वर्गीय र राजनीतिक आन्दोलन

निर्वाचन पनि वर्गीय र राजनीतिक आन्दोलन

महेन्द्रनगर, ६ भदौ । नेपाल मजदुर किसान पार्टी कञ्चनपुरको आयोजनामा आइतबार जिल्ला कार्यकर्ता भेला सम्पन्न भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश संयोजक नवराज कोइरालाले पुष्पलालको नेतृत्वमा स्थापना भएको कम्युनिस्ट पार्टी समाजवादको बाटो छोडी संशोधनवादतर्फ लागेको हुँदा नेमकिपा स्थापना भएको स्पष्ट पार्नुभयो । नेपालको प्रजातान्त्रिक र कम्युनिस्ट आन्दोलनमा ‘प्रकाशस्तम्भ’को रूपमा रहेको नेमकिपा जनताको प्रजातन्त्र हुँदै समाजवादी व्यवस्था स्थापना गर्न सङ्गठन विस्तारमा लागिरहेको उहाँले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले राजनीतिमा भिड वा सङ्ख्याभन्दा सिद्धान्तप्रति निष्ठापूर्ण आचरणले मात्र जनताको हित गर्न सकिन्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर वासीले नागरिकता विधेयकमा शासक दलहरूले गम्भीरतापूर्वक छलफल चलाउन नचाहेको बताउँदै विदेशीको आशीर्वादमा सरकारमा जान र टिकिरहन खोज्नु शासक दलहरूको देशघाती चिन्तन हो भन्नुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेश रावलले पाँचदलीय गठबन्धनको नाममा एकपछि अर्काे देशघाती कदम चालिरहेको छ भन्नुभयो ।
नेमकिपा कञ्चनपुरका अध्यक्ष दलबहादुर बोहराको अध्यक्षतामा सम्पन्न भेलामा मिनु गिरी, लक्ष्मण रोकाया, सुरेन्द्रराज भट्टले स्थानीय निर्वाचनको अनुभव सुनाउनुभयो ।
यसैबीच सोमबार दोधारा चाँदनी नगरमा कार्यकर्ता भेटघाट भयो । भेटघाटमा नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले निर्वाचन पनि वर्गीय र राजनीतिक आन्दोलन हो भन्दै निर्वाचनको क्रममा शासक दलहरूलाई उदाङ्ग्याउनु पर्नेमा जोड दिनुभयो ।
नागरिकता विधेयकको विरोधमा अन्तरक्रिया
दैलेख, ६ भदौ । नेपाल मजदुर किसान पार्टी दुल्लु नगर समितिको आयोजनामा देशघाती नागरिकता विधेयक संसद्बाट पारित गरेको विरोधमा भदौ ३ गते अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा शिवराज दाहालले राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयक संसद्बाट फेरि पारित गर्नु देशघाती कदम भएको बताउनुभयो ।
मणिराम भण्डारी, नमराज थापा, जय थापाले पनि बोल्नुभएको सो कार्यक्रमको सभापतित्व मदनकुमार भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *