भर्खरै :

नेपाली भूमिलाई युद्ध मैदान बनाउने प्रयास

गैरीटाँड । देशघाती नागरिकता ऐनको विरोधमा नेपाल मजदुर किसान पार्टी अछाम जिल्ला समितिको आयोजनामा सोमबार वीरपथमा जिल्लास्तरीय कार्यकर्ता भेला भयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले अमेरिकी साम्राज्यवादले एमसीसी सम्झौतामार्फत नेपाली शासक दलका नेताहरूलाई हरियो डलरको लोभ देखाएर नेपाली भूमिलाई युद्ध मैदान बनाउन खोजेको हुँदा देशभक्त जनता विरोधमा उत्रिएको बताउनुभयो ।
उहाँले शासक दलहरूको दलाली प्रवृत्तिको कारण भारतीय एकाधिकार पुँजीले नेपालको अर्थतन्त्रमाथि नियन्त्रण गरिरहेको चर्चा गर्दै नागरिकता ऐनमा विदेशी नागरिकलाई नेपाली नागरिकता दिन खुकुलो नीति अपनाएर भारतीय हस्तक्षेपलाई स्वीकारेको प्रस्ट पार्नुभयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले प्रतिनिधिसभाबाट पारित गरिएको नागरिकता विधेयकका देशघाती बुँदाहरूको बारेमा व्याख्या गर्नुभयो ।
उहाँले नागरिकता देशको सार्वभौमसत्तासँग जोडिएको विषय भएको उल्लेख गर्दै नागरिकतालाई बसको टिकटजस्तो बनाउन नहुने र शासक दलका गलत क्रियाकलापविरुद्ध नेमकिपाले सङ्घर्ष गरिरहेको स्पष्ट पार्नुभयो ।
पार्टीका जिल्ला अध्यक्ष झङ्करबहादुर शाहीले कामदार जनता राजनैतिकरूपमा सचेत बनाई शोषकविरुद्ध वर्गसङ्घर्षको तयारीमा नेमकिपाले जोड दिइरहेको बताउनुभयो ।
सभामा पार्टीको तर्फबाट कमलबजार नगरपालिका, वडा नं. ६ मा निर्वाचित महिला सदस्य रेउली शाही, पार्टीका वीरेन्द्र शाही र राजेन्द्र शाहीले पनि बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *