भर्खरै :

पाकिस्तानी प्रहरीद्वारा पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु

 

इस्लामावाद, ६ भदौ (बीबीसी) पाकिस्तानको प्रहरीले त्यहाँका पूर्व प्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ । शनिबार एक राजनीतिक मन्तव्य दिएपछि उनीविरुद्ध प्रहरी र न्यायपालिकालाई धम्काएको आरोप लागेको छ ।
यी पूर्व शीर्ष नेताका समर्थकहरू उनको घर बाहिर जम्मा भएका छन् र उनी गिरफ्तारीमा परेको खण्डमा आफूहरूले परिस्थिति ‘नियन्त्रणमा लिने’ बताएपछि देशमा तनाव चुलिएको छ ।
गत अप्रिलमा सत्ताच्युत भएदेखि खान सरकार र देशको सेनाको मुखर आलोचक बनेका छन् ।
क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बनेका खानले आफू निकट सहयोगीलाई यातना दिएको आरोप लगाएपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो । यद्यपि, ती सहयोगी स्वयम् देशद्रोहको आरोपमा हाल हिरासतमा छन् ।
शनिबार दिएको सार्वजनिक मन्तव्यमा खानले आफ्नो पार्टी सहकर्मीलाई हिरासतमा राखेको र दुव्र्यवहार गरेकोबारे इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशको आरोपको खण्डन गरे ।
“तिमीहरू पनि तयार रहनु । हामी तिमीहरूविरुद्ध पनि कारबाही गर्छौँ,” उनले भाषणको क्रममा उनीहरू दुवैलाई चेतावनी दिए ।
प्रहरी अनुसन्धानकर्ताहरूका अनुसार खानले राज्यका अधिकारीहरूविरुद्ध धम्की दिएको आरोपलाई आधार मान्ने हो भने उनले देशको आतङ्कवादविरोधी कानुन उल्लङ्घन भएको हुन सक्छ ।
प्रहरीले उनीविरुद्ध अनुसन्धान सुरु गरेको खबर सार्वजनिक भएपछि पूर्व प्रधानमन्त्री खानका सयौँ समर्थकहरू इस्लामावादस्थित उनको निवासबाहिर भेला भए र यदि उनलाई पक्राउ गर्ने कोसिस भएमा राजधानी ‘नियन्त्रणमा लिने’ बताए ।
त्यहाँ उपस्थित प्रहरीले भने आफूहरू खानलाई पक्राउ गर्न नभई शान्ति तथा सुरक्षा व्यवस्थापनका लागि त्यहाँ खटिएको बताए ।
अप्रिलमा अविश्वासको मतमार्फत् खानलाई सत्ताबाट हटाएपछि पाकिस्तानी सरकार र खानबीच चुलिएको तनावबीच यो अनुसन्धान अघि बढेको हो ।
त्यस समयदेखि खानले ताजा चुनावको आह्वान अनि सरकार र सेना दुवैको कडा आलोचनासहित शृङ्खलाबद्ध भाषण दिँदै देश भ्रमण गरेका छन् ।
शनिवार पाकिस्तानको सञ्चारमाध्यमका नियामक संस्थाले खानलाई राज्य संस्थाहरूविरुद्ध घृणा फैलाउने किसिमको भाषण गरेको आरोप लगाउँदै टीभी च्यानलहरूलाई उनको भाषण प्रत्यक्ष प्रसारण गर्न प्रतिबन्ध लगाउने घोषणा ग¥यो ।
सरकारले आफूमाथि प्रतिबन्ध लगाउन खोजेको पूर्व प्रधानमन्त्री खानको दाबी छ । आइतबार उनले रावलपिन्डी सहरमा आयोजित अर्को राजनीतिक ¥यालीको क्रममा आफ्नो भाषणमाथि प्रतिबन्धको आलोचना गरे ।
“इमरान खानले के अपराध गरेका छन् ? म यी चोरहरूको सङ्गठनलाई कहिल्यै स्वीकार गर्दिनँ,” उनले आफ्ना समर्थकहरूमाझ भने ।
खानले सरकारले मानिसहरूलाई आफ्नो भाषण प्रत्यक्ष सुन्नबाट रोक्नको लागि युट्युबको पहुँचमा समेत रोक लगाएको आरोप लगाए ।
यस वर्षको सुरुमा अविश्वासको मतमार्फत सत्ताबाट हटाइए पनि इमरान खानले धेरै पाकिस्तानी मतदाताहरूको समर्थन पाइरहेका छन् ।
गत महिना उनको पीटीआई दलले पन्जाबको एक मुख्य प्रदेशसभा निर्वाचन जितेर प्रतिद्वन्द्वीहरूलाई चकित तुल्यायो । उक्त दलले सहजै जित्ने अनुमान गरिएको पीएमएल–एन पार्टीलाई पराजित गरेको थियो ।
धेरैले जुलाईमा भएको उप निर्वाचनको जीतलाई खानको लोकप्रियताको सङ्केतको रूपमा हेरेका थिए र उनले चाहेजस्तै प्रारम्भिक चुनाव भएको खण्डमा कस्तो नतिजा आउँछ भन्ने आकलन समेत गरिएको थियो ।
खान सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्री निर्वाचित भएका हुन् । तर, आफ्नो कार्यकालको अन्त्यमा शक्तिशाली मानिने पाकिस्तानी सेनासँग उनको बेमेल भयो । दलका नेताहरूले शृङ्खलाबद्धरूपमा पार्टी छोडेपछि उनले संसद्मा बहुमत गुमाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *