भर्खरै :

राजनीति सङलो र जनता केन्द्रित हुनुपर्छ

राजनीति सङलो र जनता केन्द्रित हुनुपर्छ । यसमा राजनीतिक दलहरू जिम्मेवार हुनुपर्छ । तर, गणतन्त्र स्थापनाको झन्डै डेढ दशक पुगिसक्दा पनि दलहरू जिम्मेवार बनेनन् । सत्तासीन र ठूला राजनीतिक दलहरूले दिशा निर्देश गर्न सकेनन् । झन्डै दुईतिहाइ मत प्राप्त सरकारले गर्न नसकेको काम स्पष्ट दृष्टिकोण नभएको गठबन्धन सरकारले कसरी गर्छ ? सत्तासीन दलहरूको ध्यान सरकारको हेरफेरमा मात्र रह्यो ? समाज परिवर्तन गर्नेतर्फ उनीहरूको ध्यान पटक्कै गएको छैन । शीर्ष नेताहरूले राजनीतिक दललाई सिद्धान्तनिष्ठ बनाउन नसक्दा, राजनीतिलाई मर्यादित र जनउत्तरदायी बनाउन नसक्दा देशले काँचुली फेर्न नसकेको हो, जनतालाई राहत दिन नसकेको हो । जति जोगी आए पनि कानै चिरेको भनेझैँ सरकारले कुनै पनि मौलिक परिवर्तन गर्नसकेको छैन । यो विडम्बनाको विषय हो ।
सरकारले भ्रष्टाचारमात्र नियन्त्रण गर्न सकेको भए ठूलो उपलब्धि हुन्थ्यो । विकासमा हुने चुहावट नियन्त्रण भएको भए धेरै विकास हुन्थ्यो । तर, विडम्बना ¤ त्यही विकासको नाउँमा अकुत सम्पत्ति कमाइन्थ्यो । त्यही सम्पत्तिमा नेता, मन्त्री, सांसदहरूको भाग हुन्थ्यो । तिनीहरूलाई संसद् चलोस् नचलोस्, गणपूरक सङ्ख्या पुगोस्, नपुगोस् कुनै मतलब हुँदैन । युवाहरू विदेश पलायन भए पनि, महिलाहरू वेश्यालय पु¥याए पनि, बेचबिखन गरे पनि कुनै चिन्ता हुँदैन । तिनीहरूको स्वार्थ पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउनु हो । देशमा उद्योग, कलकारखाना खोलेर रोजगारी दिने, जनताका आधारभूत आवश्यकता पूर्ति गर्नेतर्फ पनि तिनीहरूको ध्यान पुग्दैन । तिनीहरूको ध्यान मन्त्री कसरी हुने, उच्च पदमा कसरी पुग्नेतर्फ केन्द्रित हुन्छ । त्यही कारण दलभित्रै आन्तरिक कलह हुन्छ, तँछाडमछाड हुन्छ । कहिलेकाहीँ विवाद उचाइमा पुगेर पार्टी नै टुक्रिन्छ । पार्टी नटुक्रे पनि कतिले पार्टी छोड्छ त कतिले पार्टीभित्रै विद्रोह गर्छ । अब हुन लागेको निर्वाचनमा यस्ता दृश्यहरू देखिने छन् । पाँच दलको गठबन्धनभित्र झन् यस्ता दृश्यहरू देखिने छन् । यही क्रममा किनबेचको प्रसङ्ग उठ्छ, आर्थिक कारोबारको प्रश्न उठ्छ । यसरी उनीहरू स्वार्थी र पदलोलुप हुन्छन् ।
राजनीतिक नेता र मन्त्रीहरू नै पदलोभी र स्वार्थी भएपछि देशमा कसरी विकास हुन्छ ? दिगो शान्ति कसरी हुन्छ ? देश सही गन्तव्यमा कसरी पुग्छ ? दलका नेताहरू व्यक्तिगत र दलगत स्वार्थमा केन्द्रित भएपछि देश र जनताको सेवा हुनेछैन । देशलाई आत्मनिर्भर बनाउने त परको कुरा भयो । लामो समय राजनीति गर्दा पनि, राजनीतिको अनुभव बटुले पनि दलका नेताहरूले किन इमानको राजनीति गरेनन् ? राष्ट्र हित हुने सन्देश बाँड्न किन चाहेनन् ? आफूले गरेको निर्णय देश हित अनुकूल छ कि छैन ? त्यसले दूरगामी असर पार्छ पार्दैन ? कुनै ख्याल गरिँदैन । विदेशी खुसी पार्न आफ्नो अस्तित्व र सार्वभौमिकताको ख्याल नगर्ने सरकार देश र जनताप्रति कसरी आबद्ध हुन्छ ? देश र जनताको यस्ता सवालहरूमा सत्तासीन र ठूला दलका नेताहरू किन ख्याल गर्दैनन्, गम्भीर हुँदैनन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *