भर्खरै :

निर्वाचन जनताको चेतनास्तर नाप्ने व्यारोमिटर

निर्वाचन जनताको चेतनास्तर नाप्ने व्यारोमिटर

दैलेख, ७ भदौ । नेपाल मजदुर किसान पार्टी चामुण्डा विन्द्रासैनी नगर समितिको आयोजनामा मङ्गलबार कार्यकर्ता भेला एवं प्रशिक्षण सम्पन्न भयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य एवं दैलेख जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने व्यारोमिटरको रूपमा प्रयोग गर्दै आएको बताउनुभयो ।
उहाँले शासक दलहरूबाट भएका देशघाती तथा जनविरोधी गतिविधिको बारेमा जनतालाई सचेत पार्ने र सङ्घर्षका लागि आह्वान गर्ने अवसरको रूपमा पार्टीले निर्वाचनलाई उपयोग गर्ने हुँदा जीतहारलाई महत्व दिनेभन्दा जनतालाई सचेत पार्ने अभियानको रूपमा लिएको स्पष्ट पार्नुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनमा विजयी जनप्रतिनिधिहरूलाई पार्टीको नीतिअनुसार जनताको इमानदारीपूर्वक सेवा गर्न निर्देशन दिनुभयो ।
अर्का केन्द्रीय सदस्य सरोजराज गोसाईले पार्टीको घोषणापत्रको आधारमा निर्वाचनमा जनताको मत मागेर जितेका जनप्रतिनिधिहरूले जनतालाई दिएका वाचाहरू पूरा गर्न निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले जनताप्रतिको जवाफदेहिता र आर्थिक पारदर्शितालाई विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरूले गरेका कामहरूबारे जानकारी गराउनुभयो ।
आयोजक समितिका उपाध्यक्ष कृष्णप्रसाद जैसीको सभापतित्वमा सम्पन्न उक्त भेलामा पार्टी सदस्यहरू ज्वाला, शान्तिप्रसाद शर्मा, निर्वाचित वडाध्यक्षहरू इन्द्रप्रसाद चौलागाई, दीपबहादुर शाही र उदय कामीलगायतले बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *