भर्खरै :

भक्तपुर काण्डबाट सबैले पाठ सिक्नुपर्ने

नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्न राज्य नै लागेर षड्यन्त्रपूर्ण भक्तपुर काण्ड रचेको ३५ वर्ष हुँदै छ । त्यसबेला तत्कालीन प्रम मरिचमान सिँह श्रेष्ठ, रापस अध्यक्ष नवराज सुवेदी, मन्त्री पशुपतिशमशेर राणालगायतका थुप्रै निरङ्कुश पञ्चायती व्यवस्थाका मतियारहरू सहभागी शवयात्राले ‘रोहितलाई फाँसी दे’ नारा लगाएर कानुनीराजमाथि बलात् गरेका थिए । इतिहास दोहोरिन सक्छ फरक ढङ्गले । भक्तपुर काण्डजस्तो षड्यन्त्र जुनसुकै बेला फेरि दोहोरिन सक्छ । त्यसको रूप फरक होला तर सार भने एउटै हुन्छ । समाज, देश र जनताको लागि निःस्वार्थपूर्वक सेवामा लाग्ने नेता र कार्यकर्ताविरूद्ध कुनै पनि बेला षड्यन्त्र हुनसक्छ । षड्यन्त्र कहाँ हुन्छ, कसरी हुन्छ ? अनुमान गर्न सकिँदैन । जहाँनिर कमजोरी हुन्छ, खेल्ने ठाउँ हुन्छ त्यहीनेर षड्यन्त्र रचिएको हुन्छ । कसैलाई भ्रष्टाचार काण्डमा, कसैलाई यौन दुव्र्यवहारमा, कसैलाई चोरी, कसैलाई लागुऔषध, कसैलाई डकैतीमा, कसैलाई फौजदारी ज्यान मुद्दामा फसाउनसक्छ । वर्ग शत्रुले यी विभिन्न हतियारहरू प्रयोग गरेर समाजका असल, निःस्वार्थी नेता कार्यकताहरूको राजनीतिक जीवन समाप्त पार्ने प्रयास गरेको हुन्छ । त्यही उद्देश्यले देश र जनताको सेवामा समर्पित नेपाल मजदुर किसान पार्टीविरूद्ध पञ्चायती सरकारले भक्तपुर काण्डको षड्यन्त्र रचेको थियो । प्रतिक्रियावादीहरूले नेमकिपाको प्रभाव गाउँ, सहर, सुगम, दुर्गम ठाउँका नेता, कार्यकर्ताको विरूद्धमा हतियार प्रयोग गरेको इतिहास साक्षी छ ।
संसारमा देश र जनताको हितमा लागेका नेता कार्यकर्ता र दललाई सिध्याउन अनेक षड्यन्त्र गरेका थुपै्र इतिहास हामी पढ्न पाउँछौँ । जर्मनीमा कम्युनिस्टहरूको लोकप्रियता, प्रभाव बढ्दै गएपछि त्यसलाई दबाउन हिटलरको फासीवादी सरकारले कम्युनिस्ट पार्टीका नेता–कायकर्ताहरूलाई सिध्याउन जर्मनी संसद् भवन राइखस्टागमा अग्नि काण्डको षड्यन्त्र रचेको थियो । त्यहाँको संसद्मा वामपन्थी सांसदहरूको प्रभाव र लोकप्रियतालाई समाप्त पार्न कम्युनिस्टहरूलाई खतम गर्ने फासीवादी सरकारले आफ्नो मान्छे पठाएर संसद् भवनमा आगो लगाएको थियो । त्यसको बहानामा झूटो आरोप लगाएर सरकारले वामपन्थी सांसदहरूलाई पक्राउ गरेको थियो भने कारबाहीको क्रममा कसैको ज्यान गएको थियो । त्यसमा पक्राउ परेकामध्ये एक–दुईजना अभियुक्तले ‘आफूहरूलाई संसद् भवनमा आगो लगाउन पठाएको भन्ने दिएको बयानले त्यो षड्यन्त्र हो भन्ने कुरा पुष्टि भएको थियो । यही प्रकृति र सारको षड्यन्त्रको हतियार पञ्चायती सरकारले नेमकिपामाथि प्रयोग गरेको थियो । जुन जनताको साथ र सहयोगमा असफल भएको थियो । यस्तै हतियार कम्पोचियाका वामपन्थी नेता पोलपोतमाथि साम्राज्यवादीहरूले प्रयोग गरेका थिए । इराकका सद्दाम हुसेन, लिवियाका कर्नेल गद्दाफी, पनामाका जनरल नोरिएगा, युगोस्लाभियाका स्लोभोदान मिलोसोभिच, बोलिभियाका मोरालेस, रूसका स्तालिन आदि यस्तै षड्यन्त्रमा परेका थिए । एसिया, अफ्रिका, युरोप, ल्याटिन अमेरिकामा कम्युनिस्ट वामपन्थी देशभक्तहरूलाई साम्राज्यवादी, उपनिवेशवादी, प्रतिक्रियावादी वर्ग शत्रुले षड्यन्त्र रचेर हत्या गरेको, अपदस्थ गरेको, आजीवन कारावासमा पठाएको इतिहास विश्वमा पाइन्छ ।
प्रतिक्रियावादीहरू निर्मम दमनमा उत्रन्छन् भन्ने कुरा भक्तपुर काण्डमा हामीले प्रत्यक्ष अनुभव गर्न पायौँ । २०४५ सालको विनाशकारी भूकम्पबाट पीडित भक्तपुरका जनताको बीचमा पक्षपातपूर्ण राहत वितरणबाट आक्रोशित जनताको कारबाही र पञ्चायती सरकारको षड्यन्त्रको कारण एकजना व्यक्तिको ज्यान गएको घटनालाई बहाना बनाएर राज्य नै लागेर नेमकिपामाथि प्रहार भयो । न्यायको सिद्धान्तको धज्जी उडाएर, निष्पक्ष न्यायको तराजुलाई जबरजस्ती सन्तुलन बिगारेर सरकारले घटना घटेको २०४५ भदौ ९ गते राति नै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायत थुप्रै नेता–कार्यकर्ता तथा समर्थकहरूलाई रातारात छापामार शैलीमा पक्राउ गरेको थियो । त्यसबेला कुनै पुरूषहरू बाहिर हिँडडुल गर्ने वातावरण थिएन । जो भेट्छ त्यसैलाई भ्यानमा हालेर लान्थ्यो, दिउँसै रातजस्तै थियो । भक्तपुरमा पञ्चायती सरकारले ताण्डव नृत्य देखाएको थियो । त्यसक्रममा गिरफ्तार भएका लक्ष्मीभक्त कवां, कृष्णभक्त लवजू, विश्वराम प्रजापति, कृष्णप्रसाद दुमरूलगायतका थुपै कार्यकर्ता, समर्थकहरूलाई प्रहरीले निर्मम, पासविक यातना दिएको हामी सुन्छौँ । त्यसबेला ती दानवहरूको नजरमा नेमकिपाका नेता, कार्यकर्ता ज्यानमारा थिए । भक्तपुरका जनतामाथि ती दानवहरूले मुखबाट ‘ज्यानमारा’, ‘ज्यानमाराको स्वास्नी’ भनी हेलाहोचो र अपमान गर्थे । परिस्थिति प्रतिकूल भएकोले पीडित सबै दाजुभाइ तथा दिदीबहिनीहरू अपमानको आँसु पिउँदैे बस्नुपर्ने बाध्यता थियो । जुन भक्तपुरका जनताले कहिल्यै बिर्सने छैनन् । भक्तपुरमा राज्यको यतिको दमन पृथ्वीनारायण शाहले भक्तपुरमाथि आक्रमण गर्दा पनि भएको थिएन । भक्तपुरका जनतालाई युद्धमा पराजित विदेशी नागरिकजस्तो व्यवहार राज्यले गरेको थियो ।
निरङ्कुश पञ्चायती व्यवस्थाले नेमकिपालाई किन दमन गर्नुप¥यो ? नेमकिपा पञ्चायती व्यवस्थाको लागि सबैभन्दा कुराले होइन व्यवहार र कामले चुनौती बन्यो । पञ्चायती व्यवस्था भनेको शोषक, सामन्त, जमिनदार, पुँजीपति, गाउँ र सहरका जालीफटाहाहरूको सञ्चालक समिति थियो । नेमकिपाले लेनिनवादी नीतिअनुसार प्रतिक्रियावादी सङ्घ संस्था गाउँ पञ्चायत, नगर पञ्चायत, जिल्ला पञ्चायत र राष्ट्रिय पञ्चायतमा देश र जनताको निःस्वार्थ सेवा गर्न पस्यो । त्यसलाई नेमकिपाले देश र जनताको सेवामा उपयोग ग¥यो । त्यहाँभित्र भएका जनताका हितविपरीतका कुकृत्यहरूको जनताको बीचमा ल्याएर उदाङ्ग्याउने काम भयो । जनताको जीवनसँग सम्बन्धित शिक्षा, स्वास्थ्य, रोजगारसँग सम्बन्धित काम र सेवालाई प्राथमिकताका साथ अगडि बढाइएको थियो । सरसफाइको आन्दोलनलाई जनताको साथ र सहयोगमा अगाडि बढाइएको थियो । साक्षरता अभियान चलाइयो । सरकारले गर्न नसकेको काम निमावि तहसम्म निः शुल्क पढाउने व्यवस्था गरिएको थियो । मेकियावली (नरेश), माओ, स्टालिनजस्ता विश्वका सर्वहारा वर्गका महान् गुरूहरूको जीवनी ‘पञ्चायत’ मासिक पत्रिकामा छापेर जनतालाई राजनैतिक चेतना दिने र सचेत बनाउने काम पञ्चायतमै बसेर गरिएको थियो । २०४५ सालको भूकम्पबाट पीडित जनतालाई तुरून्तै सरकारले भन्दा अगाडि राहत कोष खडा गरेर वितरण गरिएको थियो । जनताको निःस्वार्थ सेवाले गर्दा नेमकिपा पञ्चायत सरकारको नजरमा अपराध बन्यो । नेमकिपाले गरेको देश र जनताको सेवाको प्रतिशोधमा नसाले मत्त मान्छे आगोसँग खेलेजस्तै राज्यले भक्तपुर काण्डको षड्यन्त्र रच्यो । त्यसैबाट उसको अन्त्य भयो । कामरेड रोहित बरोबर भन्नुहुन्छ, “जो आगोसँग खेल्छ ऊ आगामै जलेर मर्छ, जो पानीसँग खेल्छ ऊ पानीमै डुबेर मर्छ ।” बस्, पञ्चायती व्यवस्था आगोसँग खेल्यो, आगोमै जलेर मृत्यु भयो ।
राजनीतिमा विपक्षको राजनीतिलाई असफल बनाउन षड्यन्त्र गर्नु कुनै नौलो होइन । यसको प्रमाण भक्तपुर काण्ड हाम्रो अगाडि छ । भक्तपुर काण्डको षड्यन्त्र असफल भएपछि तत्कालीन प्रम मरिचमान सिँह श्रेष्ठले एउटा साप्ताहिक पत्रिकाको अन्तर्वार्तामा भनेका थिए, “राजनीतिमा अनेक तिकडम÷षड्यन्त्र हुन्छ । भक्तपुरमा हामी सफल हुन सकेनौँ ।” जबसम्म जनता सचेत र सङ्गठित हुन्छन् तबसम्म यस्ता तिकडम÷षड्यन्त्रहरू असफल हुन्छन् । राजनीतिक चेतना छैन, विचारमा अडान छैन भने त्यसले केही नाप्नेवाला छैन । त्यहाँनिर दुइटा बाटो हुन्छ । एउटा, आत्मसमर्पण, अर्को हो जस्तोसुकै कठिन अवस्थामा पनि राम्रो विचार र कामप्रति आत्मगौरव । दोस्रो बाटो कठिन छ तर, गौरवपूर्ण हुन्छ । नेमकिपाका नेता–कार्यकर्ताले दोस्रो बाटो रोजे । नेमकिपा सच्चा कम्युनिस्ट पार्टी भएकोले यसले देश र जनताको हितको लागि यमराजको पनि ढोका घच्घच्याउने काम ग¥यो । नेमकिपाले यो काम हिजो पनि ग¥यो, आज पनि गर्दै छ र भोलि पनि गर्दै जानेछ । जसरी अन्तर्राष्ट्रिय रूपमा चीन, रूस, प्रजग कोरिया, भियतनाम, क्युवाले गर्दै छन् । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँेले राजनीति गुलाफको ओछ्यान होइन, राजनीति भनेको तरबारको धारमा हिँड्नुसरह हो भनेर त्यसै भन्नुभएको होइन ।
चीनलाई विश्वमा सहयोगको हात बढाएर शान्तिपूर्ण तरिकाले अगाडि बढ्नबाट रोक्न÷पछार्न अमेरिकाले षड्यन्त्र गर्दै छ । कहिले विश्वका धनी देशहरूको समूह जी–७ लाई उचालेर त कहिले युरोपियन युनियनलाई उक्साएर र कहिले नाटोलाई अगाडि सारेर तारो बनाउँदै छ । नेमकिपाले कम्युनिस्टको विचार र सिद्धान्तअनुसार व्यवहार, आचरण र निष्ठाको राजनीति गरेर निःस्वार्थपूर्वक देश र जनताको सेवा गरिरहेको छ । नेमकिपाले शासक वर्गले गरेको विभेद, शोषणको भण्डाफोर गर्दै देश विकास र जनताको सेवा गरिरहेको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, सरसफाइ, सम्पदा निर्माण र संरक्षणमा नमुना काम गरिरहेको छ । उनीहरूले ख्वप विश्वविद्यालयको स्वीकृति दिने आँट गरिरहेका छैनन् । शासकहरूले उर्वर माटोमा तुल्सीको बोट नरोपिकन सिस्नुको बोट रोपेको फल भोग्दै छन् । नेमकिपालाई जात, भाषा, धर्म, संस्कृति, सानो–ठूलोको अहँकार गरेर, कार्यकर्ता फुटाएर उनीहरूले तारो बनाएका थिए । त्यो गलत बाटोको पीडा आज उनीहरू भोग्दै छन् । नेमकिपाले कम्युनिस्टको सिद्धान्त, विचारअनुसार व्यवहार र आचरण देखाएर देश र जनताको सेवामा उदाहरणीय काम गरिरहेको छ । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको सशक्त विरोध गरेर जनतालाई सचेत बनाउने र देश जोगाउने काम अरुले गरेका छैनन् । त्यसैले नेमकिपाविरूद्ध देशका अन्य प्रतिक्रियावादी, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले कुनै पनि बेला षड्यन्त्र गर्नसक्छ । जसरी चीन, रुस, प्रजग कोरिया, भियतनाम, क्युवा ‘समाजवाद वा मृत्यु’ को नारा लिएर संसारमा न्यायको लागि, मुक्तिको लागि लडिरहेका छन् त्यसरी नै नेमकिपा पनि वर्ग शत्रुसँग नझुकी स्वाभिमान र गौरवका साथ अगाडि बढिरहनेछ । अतः नेपाली जनता हरेक षड्यन्त्रहरूबाट सधैँ सचेत र सङ्गठित हुनु जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *