भर्खरै :

‘थ्रेसहोल्ड–भक्तपुर काण्डको आधुनिक संस्करण’

भक्तपुर, २ भदौ । नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार क्युवाली क्रान्तिकारी फिडेल क्याष्टोको ९१ औं जन्म जयन्ति र भक्तपुर काण्डको संस्मरणमा मध्यपुरमा युवा भेला सम्पन्न भयो ।
भेलामा नेमकिपा केन्द्रीय समिति सदस्य एवं सांसद अनुराधा थापामगरले नेमकिपा कम्युनिष्ट आन्दोलनको प्रकाशस्तम्भका रुपमा सिद्धान्त र व्यवहारमा सन्तुलित रुपमा अगाडि बढाउँदै शोषत–पीडित देश र जनताको पक्षमा काम गर्दै आइरहेको पार्टी भएकै हुनाले पार्टीलाई नष्ट गर्न राज्यस्तरबाटै भक्तपुर काण्डबाट रचिएको बताउनुभयो । उहाँले भक्तपुर काण्डबाट पाठ सिक्दै नेता कार्यकर्ताहरुले प्रतिक्रियावादीहरुको हरेक जनविरोधी गतिविधिविरुद्ध सदा संघर्षशील भावनाले काम गर्नु पर्ने आवश्यकता माथि जोड दिनु भयो ।
उहाँले भक्तपुर काण्डको समयमा अग्रज महिला दिदीबहिनीहरुले निर्वाह गर्नु भएको भूमिकालाई स्मरण गर्नु हुँदै पञ्चायती शासकहरुले भक्तपुर काण्ड रचेर नेमकिपालाई समाप्त पार्न षडयन्त्र गरे जस्तै गणतन्त्रमा पनि थ्रेसहोल्डको प्रावधान ल्याइ पूँजीवादी शासक दलहरुले निर्दलियता देखाउनु गलत रहेको धारणा राख्नु भयो ।

पञ्चायती शासकहरुले भक्तपुर काण्ड रचेर नेमकिपालाई समाप्त पार्न षडयन्त्र गरे जस्तै गणतन्त्रमा पनि थ्रेसहोल्डको प्रावधान ल्याइ पूँजीवादी शासक दलहरुले निर्दलियता देखाउनु गलत

उहाँले चीनको प्रभावलाई रोक्न भारतले नेपालमा माओवादी तयार गरेको प्रसंगबारे बोल्नु हुँदै पूँजीवादी, रुढीवादी र अन्धविश्वासी विचारलाई चिर्दै प्रतिक्रियावादी सोचलाई उदाग्याउँदै अघि बढ्न युवाहरु सैद्धान्तिक र राजनीतिक रुपमा सचेत रहनुपर्ने विचार व्यक्त गर्नु भयो ।
नेमकिपा भक्तपुर जिल्ला समिति सदस्य नारायणबहादुर दुवालले अन्याय–अत्याचार विरुद्ध लड्नु भिड्नु कम्युनिष्ट आचरण भएको उल्लेख गर्नु हुँदै शिक्षा स्वास्थ्यको निःशुल्क ब्यवस्थाका लागि क्रान्ति अपरिहार्य रहेको बताउँदै नगर पञ्चायतमा राजावादीका ठाउँमा कम्युनिष्टले जितेको र किसान मजदुरहरुको हितका लागि काम गरेको नसहेर पञ्चायती राज्यस्तरबाटै भक्तपुर काण्ड रचेको घटनाबारे सबै न्यायप्रेमी जनता स्पष्ट हुनपर्ने खाँचो औंल्याउनुभयो ।
नेक्रायुसंघ केन्द्रीय अध्यक्ष प्रकाश थुसाले क्युवाली क्रान्ति र ल्याटिन अमेरिकी देशहरुमा समाजवादी लहरका बारे पावर प्वाइन्ट प्रस्तुती दिनु हुँदै क्युवाली क्रान्तिबाट ल्याटिन अमेरिकी देशहरु भेनेजुयला, अंगोला, कंगो, बोलिभिया, पेरु आदिमा विभिन्न चरणमा क्रान्ति र संघर्षहरु अगाडि बढेको बताउनु भयो । क्युवाली क्रान्ति सम्पन्न भएलगतै विभिन्न देशको स्वाधिनता संग्राममा क्युवाली क्रान्तिकारी सेना पठाई सहयोग गरेको उल्लेख गर्नु हुदै जातिभेद, रंगभेद र वर्गीय शोसनको अन्त्यका लागि क्युवाले दक्षिण अफ्रिकालाई पनि साथ दिएको बताउँदै क्युवाली जनता अहिले पनि समाजवाद या मृत्युको नारा दिई क्रान्तिका उपलब्धि रक्षार्थ संघर्षशील रहेको चर्चा गर्नु भयो ।
कार्यक्रममा नेमकिपा मध्यपुर नगर समिति अध्यक्ष सूर्यराम श्रेष्ठ, नेक्रायुसंघ भक्तपुर जिल्ला समिति अध्यक्ष मिनबहादुर बाटा, नेक्रायुसंघ भजिसका हरिसुन्दर सुवाल, जगतराम धुख्वा, सुरेन्द्रथा श्रेष्ठ लगायतले देशभक्तिपूर्ण आन्दोलन र संघर्षहरुमा युवाहरुहरुको भूमिकाबारे बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *