भर्खरै :

देवदूतहरूलाई ईश्वरको आदेश

(अलामा मोहम्मद इकवाल उर्दू साहित्यका एक तारा हुनुहन्थ्यो । सन् १८७५ मा उहाँ स्यालकोट (पाकिस्तान) मा जन्मनुभएको थियो । २२ वर्षकै उमेरमा उहाँले कविता लेख्न थाल्नुभएको थियो । देशभक्ति र साम्राज्यवादविरोधी भावना उहाँको कविताको प्रेरणाको स्रोत थियो । १९०५ मा उहाँ युरोप जानुभएको थियो । युरोपले एसिया, अफ्रिका र लाटिन अमेरिकी देश र जनतालाई कमारा बनाएको थियो । उपनिवेशवादी युरोपेलीहरूले उपनिवेशका जनतालाई सा¥है हेला गर्थे । इकवालको देश आफै बेलायती साम्राज्यवादको बुथमुनि कुल्चिएको थियो । पुँजीवादी सभ्यता पूर्वी देशका जनताको लुटको, डकैती, हिंसा र थिचोमिचोमा अडेको प्रस्ट देख्नुभयो । संजोगले उहाँ युरोपमा छँदै रुसमा १९०५ को कान्तिले सारा युरोपलाई हल्लाइरहेको थियो । यसकारण, उहाँले पुँजीवादी व्यवस्थाको पतनको अनिवार्यतालाई देख्नुभयो । माक्र्स र लेनिनबाट प्रभावित हुनुभयो । पुँजीपति र मजदुर, जमिनदार र किसान, मालिक र नोकर चाकर, शासक र शाषितहरूमाझको वर्गसङ्घर्षलाई उहाँले कविताको विषयवस्तु बनाउनुभयो ।
यसकारण, समालोचकहरू इकवाललाई उर्दू कवितामा पहिलो प्रगतिशील कवि मान्दछन् । इकवालले नै कविताको माध्यमबाट इनिक्लाब (क्रान्ति) लाई राजनैतिक र सामाजिक परिवर्तनको अर्थमा प्रयोग गर्नुभएको थियो ।
उर्दू शायरी (कविता) मा प्रगतिशीलताको बीउ छर्ने इकवालको मृत्यु २२ अप्रिल १९३८ मा भयो । त्यसबेला चीन र अरू पूर्वी एसियाली देशहरूमा स्वतन्त्रता र मुक्तिको विद्रोह र सङ्घर्षहरू सुरु भइसकेको थियो । यसकारण, कवि इकवाल ठूलो आशाले पूर्व दिशातिर देखाउनुहुन्थ्यो । साँच्चै त्यसबेला पूर्वी हावाले पश्चिमी हावालाई जित्दै थियो ।
आज उर्दूको प्रगतिशील कविताको अग्रदूत जिउँदो हुनुभएको भए देख्नुहुन्थ्यो –साँच्चै, पूर्व रातो छ । इकवाल एक साम्राज्यवादविरोधी र प्रगतिशील कवि हुनुभएकोले पाठक साथीहरूको जानकारीको निम्ति उहाँको एक कविता र परिचय दिएका छौँ । भारतीय मित्रहरूको सहयोगले उहाँको देवदूतहरूलाई ईश्वरको आदेश भन्ने कविताको उल्था गरिएको छ ।– सं)

देवदूतहरूलाई ईश्वरको आदेश

उठ मेरा संसारका गरिबहरूलाई बिउँझाइदे
धनीहरूको दरबारको झ्याल–ढोका र किल्लालाई हल्लाइ दे
विश्वाशको जोशले कमाराहरूको रगतलाई उमाली दे
मामुली भङ्गेरोलाई बाजसँग भिडाइ दे ।
आउनेछ छिट्टै जनताको राज आउन दे
पुरानो रीति–रिवाजलाई जहाँ देख्छौ भत्काइ दे
जोताहा किसानले खान नपाउने त्यस खेतको
गहुँका एकएक बालीमा आगो लगाइ दे ।
निर्मातालाई निर्माणसँग अलग्ग राख्छ किन पर्खालले ?
मन्दिरहरूका गुरु–पुरोहितहरूलाई मन्दिरबाट गलहत्याइ दे ।
सत्यलाई तिमी स्वीकार गर, त्यसको नियमलाई पालना गर
राम्रो झन्, मन्दिरको त्यो आरती बत्तीलाई निभाइ दे
म थाकेँ दिकदार भएँ सिंहमरमरको सजावटले
माटोकै पवित्र मन्दिर मलाई त्यो बनाइ दे
सभ्यता नयाँ त्यो ऐनाले बनाएको ज्यासल हो जाबो
पूर्वको कविलाई क्रान्तिको शिष्टाचार सिकाइ दे ।

देवदूतहरूलाई ईश्वरको आदेशबारे
यस कवितामा कवि इकवालले देवता र देवदूतहरूको प्रयोग गरेर पुरानो विचारमाथि एक ठूलो व्यङ्गय र झटारो हान्नुभएको छ । यहाँ भङ्गेरोको अर्थ मजदुर किसान, गरिब र कमाराहरू हुन्, जो शोषित र शासित छन् । बाजको अर्थ शोषक, सामन्त, पुँजीपति, राजा–महाराजा र शासकहरू हुन् । निर्माताको अर्थ निर्माण गर्ने कामदार जनता हुन् जसले अन्न उब्जाउँछन्, कपडा र लुगा बुन्छन् र बस्ने घरहरू र मन्दिरहरूको निर्माण गर्छन् । तर, तिनीहरूले नै खान पाउँदैनन्, लाउन पाउँदैनन् र बास बस्न पाउँदैनन् । साँचा उत्पादकहरूले उत्पादनको उपभोग गर्न पाउँदैनन् । यसरी निर्माताहरूलाई निर्माणबाट अलग्ग गरिएको छ । त्यो पर्खाल पुँजीवादी व्यवस्था हो, जसले कामदारहरूलाई, कामको फल भोग्नबाट वञ्चित गरिएको छ । त्यस पुँजीवादी व्यवस्थाका हर्ताकर्ताहरू शासनसत्तामा बस्ने ठूला बडा हुन्, मन्दिरहरूका गुरूपुरोहित र पुजारीहरूजस्तै । यसकारण, कवि इकवाल तिनीहरूलाई गलहत्याउन चाहनुहुन्छ ।
यहाँ सत्यको अर्थ न्याय, अधिकार र परिवर्तन हो, अथवा परिवर्तन र युगको नियमलाई स्वीकार गर्न कविजी कर गर्नुहुन्छ । मन्दिरको बत्तीको अर्थ हो पुरानो धर्म र परम्पराको अस्तित्व जसलाई कविजी निभाउन चाहनुहुन्छ ।
सिंहमरमरको सजावटको अर्थ पुँजीवादी व्यवस्थाको छलछामले भरेको ऐन–कानुन न्याय, धर्म शान्ति सुरक्षा अथवा शासन व्यवस्थाको माथिल्लो खोल हो । त्यो पुँजीवादी व्यवस्थामा प्रजातन्त्र र अधिकारको कुरो एक धोखा र भुलभुलैयामात्र हो जो जनताको शोषणमा आधारित छ । कविजी त्यसको सट्टा शोषणरहित समाज, सरल, न्याय र समानताको माटोको छाप्रो राम्रो मान्नुहुन्छ ।
नयाँ सभ्यताको अर्थ पश्चिमी र पुँजीवादी सभ्यता हो । कवि त्यस सभ्यतालाई ऐनाको घरजस्तै निर्बलियो र अस्थायी मान्नुहुन्छ उर्दूको जुनू शब्दलाई अनुवादकले यहाँ क्रान्ति शब्द प्रयोग गर्नुभएको छ । यसकारण, यहाँ इकवाल पूर्वका कवि (जनता) लाई क्रान्तिको शिष्टाचार (नियम) प्रचार गर्ने कुरा गर्नुहुन्छ ।
साभार : जनताको साहित्य ३ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *