न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
हरेक राजनीतिक दलको विधान, सिद्धान्त, विचार र घोषणापत्र हुन्छ । कुन दलले कुन वर्गको सेवा या प्रतिनिधित्व गर्छ भन्ने चिन्ने आधार पनि दलको विधान, सिद्धान्त, विचार र घोषणापत्र नै हो । तर, सत्तासीन र ठूला दलका नेताहरू निर्वाचनमा सिद्धान्त र विचार नमिलेका दलहरूसँग गठबन्धन गर्छन्, गठबन्धन गरिरहेका छन् । गठबन्धनले सत्ता प्राप्ति होला या सरकारको नेतृत्व गर्ला, सरकारी सेवा सुविधा पनि पाउला । तर, यसले दलको सिद्धान्त र विचार पाखामा थन्काउँछ । गठबन्धनले आफूले रोजेको दलका उम्मेदवारलाई होइन अरू दलका उम्मेदवार या मन नपरेका उम्मेदवारलाई जिताउनुपर्ने हुन्छ । दलको सिद्धान्त, विधान र घोषणापत्र के दखाउने दाँत हो ? यसले जनतामा निरास बनाउँछ ।
निर्वाचन विचार र सिद्धान्तको लडाइँ भएको हुँदा निर्वाचनमा दलको प्रतिस्पर्धा हुनुपर्ने हो । तर, यहाँ गठबन्धनको प्रतिस्पर्धा भइरहेको छ । गएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र, एकीकृत समाजवादी आदि दलले नेकासँग मिल्नु र एमालेले राप्रपासँग मिल्नु दलीय प्रतिस्पर्धा होइन सत्ता लिप्सा हो । मङ्सिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि सत्तासीन दलहरूको गठबन्धन कायम हुने समाचार प्रकाशित भइरहेको छ । नेकाले महन्त ठाकुरको नेतृत्वमा रहेको लोसपासँग पनि कुरा गरिरहेको छ । यता एमालेले राप्रपालगायत अन्य दलसँग तालमेल गर्ने कुरा गरिरहेको छ । राप्रपाले पनि एमालेसँग मिलेर बढी सीट जित्ने दाउ खोज्दै छ । यसरी देशका सत्तासीन र ठूला दलका नेताहरू आफ्नो दलको राजनीतिक सिद्धान्त, मूल्य र मान्यतालाई थन्को लगाएर सत्तामा जान या सत्ताको नेतृत्व गर्न लालायित छन् ।
राजनीतिक दल देश विकास र जनताको सेवाको लागि बनेन । देश दलका नेता तथा कार्यकर्ताहरूको कमाउने भाँडो बन्यो । सत्तासीन दलका नेताहरूले देश बनाउनुको सट्टा देश पराधीन बनाए । दलका नेताहरू कठपुतली बने । स्वाधीन र सार्वभौम देश नेपाल विदेशी शक्ति राष्ट्रले परेड खेल्ने मैदान बन्दै छ । नेपाली भूमि उपयोग गरेर अन्य छिमेकी देशसित लड्ने या घेरा हाल्ने वातावरण तयार गर्दै छन्– सत्तासीन दलका नेताहरू । देशलाई दूरगामी असर पर्ने यो देशको लागि खतराको घण्टी हो । खतराको घण्टी बजाउन बाटो बनाउने सरकार र सरकारलाई दबाब दिने साम्राज्यवादी देश अमेरिका र विस्तारवादी देश भारत जिम्मेवार छन् ।
सत्तासीन दलका नेताहरू अरूको बुद्धिमा चलेसम्म, अरूको भरमा बसेसम्म देशले विकास गर्न सक्दैन, विज्ञान र प्रविधिको विकास गर्न सक्दैन । प्रजातन्त्र प्राप्त भएको दशकौँ बितिसक्दा पनि नेपालले विकास गर्न नसक्नुको कारण पनि विदेशी शक्ति राष्ट्रको उठबसमा चल्नु हो । देशलाई आत्मनिर्भर बनाउनेतर्फ सरकारको ध्यान कहिल्यै गएन । शासकहरू धनी भए, नेताहरूले अकुत सम्पत्ति कमाए । तर, देश डुब्दैछ । कतै नेपालमा पनि आर्थिक सङ्कट निम्तिने त होइन भन्ने चिन्ता जनतामा छाएको छ । अतः देशका सबै राजनीतिक दलहरू अराजनीतिक गठबन्धन होइन दलीय प्रतिस्पर्धामा जानुपर्छ । दलहरू देश र जनताप्रति जिम्मेवार भएर लाग्नुपर्छ ।
Leave a Reply