भर्खरै :

देशलाई ऋणको भारी बोकाएका शासक दलहरूदेखि नेपाली जनता सचेत हुन जरुरी

देशलाई ऋणको भारी बोकाएका शासक दलहरूदेखि नेपाली जनता सचेत हुन जरुरी

भक्तपुर, १२ भदौ । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा नगरस्तरीय कार्यकर्ता भेला आइतबार सम्पन्न भयो ।
भक्तपुर काण्डको भत्र्सनास्वरुप भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेमकिपाविरुद्धको पञ्चायती राज्यस्तरको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को भत्र्सना र निन्दा सधैँ गर्नु जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पञ्चायती सरकारले नै एउटा व्यक्तिलाई हत्या गराई त्यसको आरोप नेमकिपाका नेता र कार्यकर्तालाई झूटा मुद्दा लगाएको हो र झूटा ज्यान मुद्दामा फसाएर ‘भक्तपुर काण्ड’ रचेको थियो ।”
“भारतीय विस्तारवादद्वारा भएको नेपालको भूमि अतिक्रमण र महाकाली नदीमा आठ मिटर मिचेर ढुङ्गाको पर्खाल उठाउने कार्यको नेमकिपाले विरोध गर्दै छ । अमेरिकी साम्राज्यवादको हतियार एमसीसी सम्झौताको विरोध गर्दै छ । नेमकिपाको देश र जनताको सेवादेखि पञ्चायती सरकार सीधा नभएझैँ बहुदल र गणतन्त्रका सरकारहरू पनि सीधा छैनन्”, उहाँले भन्नुभयो ।
एमसीसी सम्झौता र नागरिकता विधेयकमा नेमकिपाबाहेक संसद्मा भएका अन्य पार्टीहरूको समर्थन भएको तथ्य शासक दलका मन्त्री र सांसदहरूले स्पष्ट पारेको उहाँले उल्लेख गर्नुभयो ।
सांसद सुवालले नेमकिपाविरुद्ध हुने कुनै पनि षड्यन्त्रलाई उदाङ्ग्याउन सबै कार्यकर्ताहरू सचेत हुनु जरुरी भएको बताउनुभयो ।
“शासक दलहरू पालैपालो सरकारको नेतृत्व गर्छन् । पाँच वर्षयता नेपालको सार्वजनिक ऋण दुई गुणा बढेर २० खर्ब ११ अर्ब ५८ करोड पुग्यो । यसको दोषी सरकारमा गएका पार्टीहरु नै हुन्”, उहाँले भन्नुभयो ।
देश र जनतालाई ऋणको भारी बोकाएका शासक दलहरू आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा साम, दाम, दण्ड र भेदको नीतिसहित जित्ने दाउ खोजिरहेकाले नेपाली जनता सचेत हुनु जरुरी भएको सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशघाती सम्झौता र नागरिकता विधेयक पारित गर्ने र भारतले महाकाली नदी मिचेर ढुङ्गाको पर्खाल बनाउने कामको विरोध नगरेको पाँचदलीय गठबन्धन सरकारले देशलाई दुर्घटनाबाट बचाएको होइन बर तिनीहरूबाट नेपाल सिक्किम र फिजीको बाटोमा अगाडि बढिरहेको खतरातर्फ नेपाली जनता सचेत हुनु जरुरी छ ।”
नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले नेमकिपाका नेता–कार्यकर्ताहरूले देश र जनताको निःस्वार्थ सेवा गरेको, पार्टीले स्थापनाकालदेखि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गरी जनतालाई सचेत र सङ्गठित गरेका गतिविधिहरू पञ्चायतलाई असह्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “लेनिनवादी सिद्धान्तअनुसार नेमकिपाले पञ्चायती निर्वाचनलाई उपयोग गरी पञ्चायतको कर्तुतलाई जनतामाझ उदाङ्ग्याएको थियो । यस्ता गतिविधि सहन नसकेर नेमकिपालाई समाप्त गर्ने जाल पञ्चायतले बुनिरहेको थियो । यसैको निरन्तरता पञ्चायतले भदौ ९ को ‘भक्तपुर काण्ड’ रच्यो ।”
भक्तपुर काण्डजस्ता षड्यन्त्रहरू फेरि दोहोरिन सक्ने भएकोले कार्यकर्ता सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष गङ्गाराम ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा रामसुन्दर खाताखो, पूर्णगोपाल राजचल, कृष्णगोपाल चौगुठीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *